छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार

सागर रावल ५ असार २०८१ १३:०७
338
SHARES
छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार बलात्कृत भएकी किशोरीलाई स्टेचरमा राखेर अस्पताल लगिँदै। तस्बिर : सागर रावल

अछाम- अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना बाहिरिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-३ स्थित रिठेतोलामा  छाउगोठमै १६ वर्षीया किशोरीमाथि सोमबार राति सामूहिक बलात्कार भएको हो। अछाम छाउगोठमुक्त जिल्ला हो।

नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलका अनुसार छाउगोठमा अचेत अवस्थामा फेला परेकी किशोरीलाई अस्पताल पुर्‍याएपछि होस खुलेको थियो। उनको होस खुलेपछि उनीमाथि बलात्कार भएको विषय बाहिरिएको हो।

‘नानी मावलमा बस्दै आएकी रहिछन्। हामीलाई खबर गर्दा उनी अचेत अवस्थामा छाउगोठमा थिइन्,’ रावलले हिमालप्रेससँग भने, ‘हामीले उनलाई अस्पताल पठायौँ। ती नानीको साथमा अस्पतालमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका पनि थिइन्। उहाँ नाताले ती अचेत भेटिएकी नानीको माइजू पर्नुहुन्छ।’

रावलका अनुसार अस्पतालमा केहीबेरको उपचारपछि उनको होस आएको थियो। त्यसपछि महिला स्वास्थ्य स्वयंसेविकाले सोधीखोजी गर्दा आफूमाथि तीनचारजनाको समूहमा आएका पुरुषले बलात्कार गरेको बताएकी थिइन्।

‘होस आएपछि भान्जी के भयो तपाईँलाई यस्तो? भनेर महिला स्वास्थ्य स्वयंसेविकाले सोध्दा ‘माइजू मलाई राति तीन चारजना केटाहरू आएर आँखामा पट्टी लगाएर, घाँटीमा पनि कपडाले बाँधेर हातखुट्टा समाएर बलात्कार गरे’ भनेर भनिन्, ‘रावलले भने, ‘उनले यस्तो भनेपछि हामीले यसबारे छिटै अनुसन्धान होस् भनेर प्रहरीलाई भन्यौँ। प्रहरीले अस्पतालसँग समन्वय गर्‍यो। अस्पतालले बलात्कार भएको पुष्टि गरेको छ।’

किशोरीको शरीरका विभिन्न ठाउँमा नीलडाम देखिएको अछाम प्रहरीले जनाएको छ। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए।

ती किशोरीलाई छाउगोठमा अचेत अवस्थामा देखेपछि मंगलबार बिहान स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी थिइन्। स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख चलाउनेलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो।

किशोरीले प्रहरीसँगको प्रारम्भिक अनुसन्धानका क्रममा आफूले एकजनाबाहेक अरूलाई चिन्न नसकेको बताएकी छन्। अछाम प्रहरी प्रमुख डीएसपी पाठकले आफ्नै नेतृत्वमा घटनाको अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिए। किशोरीको उद्धारमा पुगेकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पाठकले बताए। अछामलाई २०७५ सालमा छाउगोठमुक्त जिल्ला घोषणा गरिएको थियो।

प्रकाशित: ५ असार २०८१ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =