यस्ता छन् सम्भावित पदमार्ग

हिमाल प्रेस ४ असार २०८१ १४:०९
188
SHARES
यस्ता छन् सम्भावित पदमार्ग गोरखाको अजिरकोट गाउँपालिकामा रहेको नागेपोखरी, नागेपोखरी हुँदै तपी माडी जाने पदमार्ग।

काठमाडौँ– स्थानीय तहले जथाभाबी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी सुरु भएको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले देशका विभिन्न स्थानीय तहको सहकार्यमा नयाँ पदमार्गको खोजी गरेको हो। नयाँ गन्तव्यको खोजी र अनुसन्धान गरी नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्ने उद्देश्य टानको छ।

टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्वतीय पदयात्राको अत्यधिक सम्भावना रहेको नेपालका पदमार्ग सडक सञ्जालको विस्तारका कारण मासिँदै गएकाले टान नयाँ गन्तव्य तथा पदमार्गको खोजीमा जुटेको बताउँछन्। ‘पच्चीस दिनबाट १० दिनमा खुम्चिएको राउन्ड अन्नपूर्ण ट्रेलको गरिमालाई पुन:स्थापन गर्नका लागि वैकल्पिक पदयात्रा मार्गको पहिचान, विकास तथा प्रवर्धन गर्नका लागि टानले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको छ’, उनले भने।

‘बौद्ध हिमाल–हिमाल चुली ग्रेट लेक सर्किट ट्रेल’

अन्नपूर्ण सर्किट र मनास्लु सर्किटमा पछिल्लो समय सडक सञ्जालको विस्तारका कारण छोटिँदै गएको छ। अन्नपूर्ण सर्किट र मनास्लु सर्किटमा पदयात्रीको पदयात्रा अवधि लम्ब्याउनका लागि गोरखाका बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका साथै लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकालाई समेटेर ‘बौद्ध हिमाल–हिमाल चुली ग्रेट लेक सर्किट ट्रेल’ को विकासमा जुटेको जानकारी बाँस्तोलले दिए। उक्त पदमार्ग १८ दिनको हुनेछ।

‘एभरेस्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि टानले ‘एभरेस्ट दूधकोसी सांस्कृतिक पदमार्ग’ निर्माण गरी विकास गरिरहेको छ। यसबाहेक काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा तिमालबाट चौँरीदेउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवर्द्धन गरिसकेको छ।

‘गंगाजमुना तीनसुरे पदमार्ग’

धादिङको गंगाजमुना गाउँपालिकाका सातै वडालाई जोड्ने गरी ‘गंगाजमुना तीनसुरे पदमार्ग’को कामलाई समेत टानले अगाडि बढाइसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए। टानका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये झन्डै ३० प्रतिशत पर्यटक पदमार्गका लागि विभिन्न स्थानमा जाने गरेका छन्।

यसैगरी रामेछापको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका हुँदै पासाङ ल्हामु गाउँपालिकालाई जोडेर नयाँ पदमार्ग तयार पारिएको छ। सुरुको समयमा सगरमाथा उक्त पदमार्ग हुँदै जाने गरेकाले सो पदमार्गलाई टानले विशेष चासोका साथ अगाडि बढाएको हो।

टानले काठमाडौँ उपत्यका वरपरका शिवपुरी, तारेभिर, मूलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फूल्चोकी, गोदावरी, हात्तीवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनीलगायतका स्थानलाई जोडेर ‘नेपाल मण्डला सर्किट ट्रेल’ को विकास गर्ने लक्ष्य लिएको छ। रासस

प्रकाशित: ४ असार २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =