मल्कवाङका २६ जनाले लिए नौमती बाजासम्बन्धी तालिम

हिमाल प्रेस ४ असार २०८१ १२:४९
4
SHARES
मल्कवाङका २६ जनाले लिए नौमती बाजासम्बन्धी तालिम

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुर्ख्यौली नाचसम्बन्धी तालिम दिइएको छ। मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो।

असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव बेदनाथ सुवेदीले जानकारी दिए। संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुर्ख्यौली नाच नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिएको उनले बताए।

मल्कवाङ अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको बस्ती हो। यहाँ मगर र दलित समुदायको पनि बसोबास छ।पुर्ख्यौली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुर्ख्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरि-५ का वडाअध्यक्ष अमर छन्त्यालले बताए।

दीपेन्द्र परियार र जीवन परियारले एघार जना सहभागी नौमती बाजा तालिमको सहजीकरण गरेका थिए। उनीहरुले दमाह, कर्णाल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिङ्गालगायत बाजा बजाउने सीप सिकाएका थिए।

१६ जना सहभागी पुर्ख्यौली नाच तालिममा दिलीप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुःखको अवस्थामा नाच्ने तरिका सिकाएका थिए।

प्रकाशित: ४ असार २०८१ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =