दुनाटपरीले भित्र्याएको समृद्धि

हिमाल प्रेस ४ असार २०८१ ९:३१
16
SHARES
दुनाटपरीले भित्र्याएको समृद्धि आफूले तयार पारेको दुनाटपरीका साथ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ कसरौलका महिला। तस्बिर : रासस

कञ्चनपुर- हिन्दु संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुनाटपरी चाहिन्छ। अघिल्लो पुस्ताका नारीहरूले दुनाटपरी आफैँ तयार पार्थे। अचेल दुनाटपरी बनाउने सीप भएका महिला कमैमात्र छन्। त्यसैले सीप सिकेका नारीहरूले यसलाई व्यावसायिक रूप दिएका छन्। जसमा स्थानीय सरकारले पनि साथ दिएको छ।

यस्तैमध्येकी एक हुन् शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी ४८ वर्षीया कन्या राना। उनी एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न छिन्। उनले मेसिनको सहायतामा पाँच प्रकारका दुनाटपरी बनाउँदै आएको बताइन्।

दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन्। गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक कार्यक्रममा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उनलाई नै दिइन्छ। कन्याले यसैमार्फत मासिक पाँच हजारदेखि १० हजारसम्म कमाउने गरेको बताइन्।

विवाहलगायतको याममा एकै महिनामा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। ‘एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा सहभागी हुँदा दुनाटपरी बेचेर पनि कति न आम्दानी होला भनेर पहिला सोच्ने गर्दथेँ’, उनले भनिन्, ‘दाताले मेसिन अनुदान दिएर महिलाको समूह बनाइदियो। केही दिन समूहका महिलासँग कार्य गरेँ। सुरुसुरुमा थोरै कमाइ हुँदा आबद्ध महिलाले साथ छाडे।’

कामलाई निरन्तरता दिँदा ठाउँठाउँमा चिनजान बढेपछि दुनाटपरीको माग आउन थाल्यो। अहिले नसोचेको कमाइ हुँदा आफैँ दंग पर्ने गरेको उनी बताउँछिन्। ‘पढेलेखेको छैन’, उनले भनिन्, ‘अधिकांश समय मेलापात र घरकै भान्साको काममा व्यस्त हुन्थेँ। आफूलाई आवश्यक परेका बेला श्रीमान्‌को मुख ताक्नुपर्दथ्यो।’

सीप सिकेपछि अहिले त्यसैबाट घर खर्च चल्न थालेको उनले बताइन्। उनले भनिन्, ‘पहिला श्रीमान्‌सँग पैसा माग्थेँ, अहिले पैसा नभएका बेला उहाँले माग्नुहुन्छ।’ सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उनी बताउँछिन्।

रूखमा चढेर सालका पात टिप्न नसक्ने भएकाले उनी अरुले टिपेका पात किनेर दुनाटपरी बनाउँछिन्। देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा दुई सयदेखि तीन सय रुपैयाँमा खरिद गर्छिन्। ‘पात टिप्नेले पनि रोजगारी पाएका छन्, मैले पातबाट दुनाटपरी बनाएर उद्यम चलाउन थालेको छु’, उनले भनिन्।

रानाले दुनाटपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि दुई र ठूलो पाँच प्रतिगोटाका हिसाबले बेच्छिन्। एक सय वटा दुनाटपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उनी बताउँछिन्।

कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हीरा घर्तीमगरले पनि दुनाटपरी बनाउने उद्योग सञ्चालन गरेकी छन्। उद्योगमा उनले चारजनालाई रोजगारी पनि दिएकी छन्। उनको दुनाटपरी उद्योगको वार्षिक आम्दानी तीन लाख ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म हुने गरेको छ।

पाँच वर्षअघि घर्तीले ५० हजार लगानीमा मेसिन खरिद गरी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएकी हुन्।

उनको उद्योगबाट दैनिक दुई हजार दुनाटपरी उत्पादन हुने गरेको छ। यस वर्ष वन क्षेत्रमा अधिक डढेलो लाग्दा मागअनुसार पातको आपूर्ति गर्न नसक्दा उत्पादन थोरै हुँदा आम्दानी घटेको उनको भनाइ छ।

‘सीधै माग भएका ठाउँमा पुर्‍याउन सकिए आम्दानी सोचेभन्दा बढी नै हुन्थ्यो’, उनले भनिन्, ‘बिचौलियाले बढी नाफा खाने भएकाले उत्पादन गर्नेले थोरै आम्दानीमै चित्त बुझाउनुपरेको छ।’ दुनाटपरीको उद्योग सञ्चालनसँगै घर्तीले माग भएका ठाउँमा प्रशिक्षक भएर दुनाटपरी बनाउने तालिममा प्रशिक्षण दिने काम गर्दै आएकी छन्।

शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढावा दिनुपर्ने बताउँछन्। ‘दुनाटपरी एकपटकका लागि प्रयोगमा ल्याइने भएकाले संक्रामक रोगबाट बच्न सकिन्छ। होटेललगायतका व्यवसायमा संलग्नले दुनाटपरीको प्रयोग गरेमा भाँडाकुँडा धुनका लागि कामदार राखिरहनु पर्दैन।’

शुक्लाफाँटा नगरपालिका-७ का अध्यक्ष चक्रबहादुर खड्का दुनाटपरी बनाउने तालिम सञ्चालन गरी आर्थिक रूपमा विपन्न परिवारको जीवनस्तर माथि उठाई स्वरोजगार बनाउन काम अगाडि बढाएको बताउँछन्। उनले भने, ‘वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गरिरहेका छौँ। केहीलाई चालु आवमा तालिममा सहभागी गराएका छौँ। बाँकीलाई आगामी आवको तालिममा संलग्न गराई अनुदानमा मेसिनको व्यवस्था गरी दुनाटपरी उद्योगमा आबद्ध गराउँछौँ।’ रासस

प्रकाशित: ४ असार २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =