विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक र अर्थमन्त्रीबीच शिष्टाचार भेट

हिमाल प्रेस ३ असार २०८१ १९:५९
14
SHARES
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक र अर्थमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ- विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन्। ट्रोटसनबर्गले आज (सोमबार) अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन्।

काठमाडौँमा मंगलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा-२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आएका हुन्। भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए।

आकीहिको विश्व बैंकको विकास वित्त (डीएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन्। भेटमा मन्त्री पुनले नेपालमा आईडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याति बढ्ने बताए। उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।

बैठक भव्यरूपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उनको थियो। विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे। मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गरे।

उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे। सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे।

भेटमा उनले २१औँ आईडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरेका थिए।

फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे। विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए-२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए।

नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैँ उच्च प्राथमिकतामा राखेको बताए। आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो।

प्रकाशित: ३ असार २०८१ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =