नेपाली कामदारको २४ घण्टे बिमाका लागि ताकेता

रमेश भारती ३ असार २०८१ १९:०८
76
SHARES
नेपाली कामदारको २४ घण्टे बिमाका लागि ताकेता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- सरकारले रोजगारदाता देशहरूसँग नेपाली कामदारका लागि २४ घण्टे बिमा सुविधा उपलब्ध गराउन फेरि ध्यानाकर्षण गराएको छ। गत साता स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपाली कामदारलाई २४ घण्टे बिमा सुविधा उपलब्ध गराउन रोजगारदाता देशसँग माग गरेका हुन्।

मलेसियाका मानव संशाधनमन्त्री स्टिभन सिम ची केओङसँगको भेटवार्तामा मलेसियामा कार्यरत नेपाली कामदारलाई २४ घण्टे बिमा सुविधाको व्यवस्था गर्न प्रस्ताव गरिएको अर्यालले बताए। उक्त प्रस्तावलाई मलेसियन समकक्षी सिमले प्राथमिकतामा राखेको जबाफ दिएको जानकारी अर्यालले दिए।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी अधिकांश रोजगारदाता देशका प्रतिनिधिहरूले नेपालको प्रस्तावलाई सकारात्मक रूपमा लिएको मन्त्री अर्यालको भनाइ छ। वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई अनिवार्य २४ घण्टे बिमा सुविधा लागू भएपछि वैदेशिक रोजगारीका क्रममा बिरामी, मृत्यु र दुर्घटनामा आर्थिक सहयोग हुनेछ।

२०७२ सालयता श्रम मन्त्रालयको नेतृत्वमा आएका श्रममन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा वैदेशिक रोजगारीमा जाने र कार्यरत कामदारका हकमा रोजगारदाता देशसँग २४ घण्टे बिमा सुविधा उपलब्ध गराउन प्रस्ताव गर्दै आएका छन्। रोजगारदाता देशले भने नेपालको यस्तो माग सम्बोधन गरेका छैनन्।

२०७५ सालमा तत्कालीन श्रम, रोजगारदाता सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि जेनेभामा भएको आईएलओको श्रम सम्मेलनमा विदेशमा कार्यरत नेपाली कामदारलाई २४ घण्टे बिमाको व्यवस्था गर्न माग गरेका थिए।

विष्टले जस्तै तत्कालीन श्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारलाई २४ घण्टे बिमा सुविधा उपलब्ध गराउन रोजगारदाता देशसँग अन्तर्राष्ट्रिय फोरमहरूमा आग्रह गरेका थिए। लेखकले विभिन्न देशमा कार्यरत नेपाली कामदारलाई २४ घण्टे बिमा सुविधा र आईएलओको मापदण्डअनुसार तलबको व्यवस्था गर्न रोजगारदाता देशहरूसँग प्रस्ताव गरेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य २४ घण्टे बिमा हुनुपर्ने माग रोजगारदाता देशसँग प्रस्ताव गर्दै आएको जानकारी दिए। रोजगारदाता देशसँग श्रम सम्झौता गर्दा समेत २४ घण्टे बिमालाई प्राथमिकतामा राखिएको हुन्छ।

कतिपय देशले २४ घण्टे बिमालाई अनिवार्य रूपमा राख्न नमानेको उनले बताए। ‘पछिल्लो समयमा रोजगारदाता देशसँग हुने छलफलमा २४ घण्टे बिमालाई अनिवार्य राख्न माग गरिएको छ। नेपाली गइरहेका धेरै रोजगारदाता देश यस विषयलाई प्रथामिकतामा राखेका छन्। चाँडै यो नियम लागू हुँदैछ,’ उनले भने।

२४ घण्टे बिमाका फाइदा

वैदेशिक रोजगारीमा गएका कामदारको २४ घण्टे बिमा गर्दा रोजगारका क्रममा मृत्यु भई शव अलपत्र परेमा रोजगारदाताले नै नेपाल ल्याउन, निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न र कामदार अंगभंग भएमा क्षतिपूर्ति दिनुपर्ने हुन्छ। करारबमोजिम सुविधा नपाए कामदारलाई फिर्ता गराउन, बिरामी हुँदा र कामदार समस्यामा पर्दा उद्धार गर्नुपर्ने दायित्व रोजगारदाता कम्पनीकै हुन्छ।

करार अवधिभर कामदार समस्यामा परे त्यसको खर्च रोजगारदाता देशको कम्पनीले व्यहोर्नुपर्ने अन्तर्राष्ट्रिय श्रम कानुनमा व्यवस्था छ। २४ घण्टे बिमा गरेर वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिभित्र समस्यामा परे अथवा दुर्घटनामा परी अंगभंग भएमा वा गम्भीर बिरामी भएर स्वदेश फर्किएको अवस्थामा रोजगारदाता कम्पनी त्यस्ता कामदारलाई आर्थिक सहायता उपलब्ध गराउनुपर्ने हुन्छ। २४ घण्टे बिमा सुविधा लागू नभएका कारण नेपाली कामदारले यो सुविधा पाएका छैन।

पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ रोजगारदाता कम्पनीले आर्थिक भार थपिने डरले विदेशी कामदार लिँदा २४ घण्टे बिमा नगराउने गरेको बताउँछिन्। उनले २४ घण्टे बिमा नगरेका कामदार समस्यामा पर्दा आर्थिक क्षतिपूर्ति दाबी गर्नसमेत नपाउने उनले बताइन्। ‘नेपाली कामदार २४ घण्टे बिमा नहुँदा समस्यामा परिरहेका छन् भने समस्यामा परेका कामदार आफ्नो खर्चमा स्वदेश फर्किन र घाइते भएमा आफ्नो खर्चमा उपचार गर्न बाध्य छन्,’ उनले भनिन्।

सरकारले वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएमा नेपालमा गरिएको बीमाको आधारमा सात लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएको छ। त्यस्तै घाउचोट लागेको खण्डमा ५० हजारभन्दा माथि उपचार खर्चसमेत वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउँदै आएको छ। २४ घण्टे बिमा कार्यान्वयन भए नेपाल सरकारले दिइरहेको आर्थिक सहायता सम्बन्धित देशको रोजगारदाता कम्पनीले व्यहोर्नुपर्छ।

वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीमा जाँदा कामदारले १५ सय रुपैयाँ तिरेर बिमा गराउनुपर्छ। सोही आधारमा रोजगारदाता देशमा कामदारको मृत्यु भएमा (गन्तव्य देश प्रस्थान नगर्दै वा बिमा अवधिभित्र मृत्यु भएमा) पूर्ण क्षतिपूर्ति दिँदै आएको छ।

प्रकाशित: ३ असार २०८१ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =