ट्यांकर चालक र सरकारबीच सहमति, पेट्रोलियम आपूर्ति सुरु [सहमतिको बुँदासहित]

हिमाल प्रेस ३ असार २०८१ १४:५७
42
SHARES
ट्यांकर चालक र सरकारबीच सहमति, पेट्रोलियम आपूर्ति सुरु [सहमतिको बुँदासहित] काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा पेट्रोल हाल्न पर्खाइमा रहेका सवारी चालक। तस्बिर : रासस

काठमाडौँ- नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकिएको छ। पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति भएको नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएको उनले बताए। ‘एक घन्टाभित्र बजारमा पेट्रोलियम पदाथ ढुवानी हुनेछ। ७ वटा मागमा केही माग निगमले पूरा गर्ने सहमति भएको हो। अब बजारको अवरोध हटाउन पेट्रोलियम ट्यांकर चालक संघ सहमत भएको छन्’ उनले भने।

संघका केही माग पूरा गर्न एउटा कमिटी बनेको र उक्त त्यो कमिटीले अध्ययन गरेर प्रतिवेदन दिएपछि उनीहरूका माग पूरा गरिने उनको भनाइ छ। आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरूले अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए।

यस्तो छ सहमतिको बुँदा

१. नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे माग लगायत यस क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने।

२. नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक÷सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने।

३. आजै मिति २०८१/०३/०३ देखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भयो।

४. विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने।

प्रकाशित: ३ असार २०८१ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =