सामान्य लक्ष्य पुर्‍याउन पनि चुक्यो नेपाल

हिमाल प्रेस ३ असार २०८१ ९:२७
18
SHARES
सामान्य लक्ष्य पुर्‍याउन पनि चुक्यो नेपाल

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत बंगलादेशसँगको खेलमा नेपाली टोली पराजित बनेको छ।

समूह चरणको यो अन्तिम खेलमा २१ रनको हारसँगै नेपाल जितविहीन हुँदै विश्वकपबाट बाहिरिएको हो।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा बंगलादेशविरुद्ध नेपालले १०७ रनको सामान्य लक्ष्य समेत पुर्‍याउन सकेन।

बंगलादेशका बलरको प्रहार थेग्न नसक्दा नेपालका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन्।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २५, कुशल मल्लले २७ र आशिफ शेख १७ रन बनाउन बाहेक अरू कसैले दोहोरो रन छुन सकेनन्।

नेपाली ब्याटर सुरुवातबाटै दबाबमा परेका थिए। नेपालले २ दशमलव २ ओभरमा जम्मा ९ रन रहँदा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो।

त्यसपछि मैदान छिरेका अनिल शाह पनि सोही ओभरको चौथो बलमा ० रनमा बाहिरिए।

यी दुवैको विकेट बंगलादेशका तान्जिम हसन शकिबले लिएका थिए।

यसपछि ४ दशमलव २ ओभरमै नेपालले तेस्रो विकेटका रूपमा रोहित पौडेललाई गुमायो। र ५ दशमलव ४ ओभरमा ओपनर आशिफ शेख बाहिरिए।

नेपालले पावर प्लेमै ४ विकेट गुमाउँदा कमजोर लक्ष्य समेत पुर्‍याउन सकेन। त्यसपछि २६ रन रहँदा सन्दीप जोरा बाहिरिए भने दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल १६ दशमलव ४ ओभरसम्म क्रिजमा टिके।

४० बलमा २७ बनाएर मल्लले एक छक्का र एक चौका प्रहार गरेर जितको आशा देखाएका थिए। मल्ललाई साथ दिएका दीपेन्द्र सिंह ऐरीले पनि १८ दशमलव ६ ओभरमा बंगलादेशका दास लिन्टनको सिकार बने।

त्यसपछि भने नेपाल सम्हालिन सकेन। गुलसन झा ४ बलमा शून्य रनमा बाहिरिए भने त्यसपछि क्रिजमा आएका सोमपाल कामी पनि आक्रामक सट हान्ने क्रममा रनविहीन अवस्थामै बाहिरिए।

नेपालले अन्तिम ओभरमा लगातार २ विकेट गुमाएर अलआउट बन्यो।

नेपालका ब्याटर सामु बंगलादेशका तान्जिम हासान शकिब घातक सावित भए। शकिबले ७ रन दिएर ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३ विकेट लिँदा शकिब अल हासनले २ विकेट झारे।

यसअघि नेपालले बंगलादेशलाई १९ दशमलव ४ ओभरमा १०६ रनमा अलआउट गरेको थियो।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दीप लामिछानेले समान २-२ विकेट लिए।

कुशल भुर्तेल र अविनाश बोहोरा विकेट विहीन बनेका थिए। दुई विकेट रन आउटमार्फत नेपालले लिएको थियो।

बंगालदेशका लागि सकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक रह्यो। महम्मदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाए।

जाकर अलीले १२ र लिटोन दासले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। यो जितसँगै बंगलादेश टी-२० विश्वकप २०२४ को सुपर ८ मा पुगेको छ।

समूह डीमा रहेको बंगलादेशले ४ खेलमा ३ जित निकाल्दै ६ अंक बटुलेर सुपर ८ सुनिश्चित गरेको हो। यो समूहबाट ४ खेलबाट ४ जितका बाबजुत ८ अंक बटुलेर दक्षिण अफ्रिका पहिलै सुपर ८ पुगिसकेको छ।

प्रकाशित: ३ असार २०८१ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =