‘पछाडि आएर बीचमा सुत्ने’ घनश्याम भुसालको दाउ!

किरण पौडेल २ असार २०८१ १७:५३
232
SHARES
‘पछाडि आएर बीचमा सुत्ने’ घनश्याम भुसालको दाउ! घनश्याम भुसाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टी गठनको तीन वर्षपछि असार १७ गतेबाट महाधिवेशन गर्दैछ। समाजवादी एमालेबाट फुटेर बनेको पार्टी हो। आफू पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीको मुख्य पक्षपाती भएकाले १० औँ महाधिवेशन भनेको समाजवादीको दाबी छ।

महाधिवेशनबाट समाजवादीमा नयाँ नेतृत्व चयन हुनेछ। अध्यक्षमा पुरानै नेता दोहोरिने चर्चा छ। हालका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। पार्टीको पहिलो र दोस्रो वरीयताका नेता भएकाले नेपाल-खनालको प्रतिस्पर्धा हुन लागेको हो। अध्यक्ष बन्ने दाउमा अर्का नेता पनि थपिएका छन्, महासचिव घनश्याम भुसाल। भुसालले अध्यक्षमा आकांक्षा राखेपछि पार्टीमा अनेक खालको टीकाटिप्पणी हुन थालेको नेताहरू बताउँछन्।

भुसाल पार्टी विभाजनका बेला एमालेमा थिए। एमालेमा रहँदा नेपाल निकट भए पनि उनले विभाजनमा साथ दिएनन्। पार्टी विभाजन नगर्न भनेर उनले तत्कालीन एमालेका अध्यक्ष ओलीसँग १० बुँदे सहमति गरे। पार्टी विभाजन गर्न उक्साएर अन्तिममा ओलीतर्फ लागेको आरोप उनीाथि लाग्यो। भुसालले त्यसबेला भनेका थिए, ‘हामी एमालेमै बस्न चाहन्छाैँ भनेर संघर्ष गर्‍यौँ। ओलीजी (केपी ओली) ले वातावरण मिलाइदिनुभयो।’

भुसालले ओलीले ‘१० बुँदे’ गरेर ‘छलफल गर्ने वातावरण बनाएको’ बताएका थिए। यति भने पनि उनी एमालेमा रहन सकेनन्। एमालेको १० औँ महाधिवेशनमा उपाध्यक्षमा प्रतिपस्र्धा गरे। ओलीको ‘ग्रिन लिस्ट’ भित्र नपरेकाले चुनाव हारे। यसपछि एमाले महाधिवेशनका बारेमा नकारात्मक टिप्पणी गर्न थाले। यतिसम्म कि सोही महाधिवेशनलाई भुसालले ‘सौराह काण्ड’ पनि भनेर आलोचना गरे।

भुसाल नेतृत्वप्रति जति आलोचना गर्थे, त्यति नै पार्टीको भूमिकाबाट किनाराकृत हुन थाले। एमाले नेतृत्वले भुसाललाई निष्क्रिय बनाउँदै लग्यो। २०७९ को आमनिर्वाचनमा भुसाल रूपन्देही-१ बाट चुनाव लड्न चाहन्थे। एमाले अध्यक्ष ओलीले टिकट दिएनन्। ओलीले बाइपास गरेको भन्दै भुसालले एमाले छाडे र स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिए। एमाले सचिव छविलाल विश्वकर्मासँग भिड्दा भुसालले पराजय भोगे। यसपछि उनी अध्यक्ष ओलीसँग थप चिढिए। ओलीको चर्का आलोचक भुसाल चुनावपछि नेपालकै शरणमा लागे।

प्रवेशको डेढ वर्षमै अध्यक्षको दाबेदार

भुसाल २०७९ पुस २९ मा ‘एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम’ भन्दै समाजवादी प्रवेश गरेका थिए। समाजवादी प्रवेशपूर्व बानेश्वरको अर्याल होटलमा कार्यक्रम गर्दैै भुसालले ओलीको चर्को आलोचना गरे भने समाजवादीको प्रशंसा गरेका थिए।

भुसालले त्यही दिन समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर अबिर पहिरिए। उनी केन्द्रीय सदस्य बने। भोलिपल्टको समाजवादी बैठकले उनलाई सचिवालय सदस्य बनायो। तीन महिनापछि उनी पार्टीको दोस्रो शक्तिशाली पद महासचिवमा बढुवा भए। अहिले तिनै भुसाल अध्यक्षका दाबेदार बनेका छन्।

भुसालले ‘युवाको प्रतिनिधित्व गर्छु’ भन्दै आकांक्षा प्रकट गरिरहेको समाजवादीका एक नेताले बताए। ‘युवा जमातमा अध्यक्षमै उम्मेदवारी दिनुपर्छ भन्ने आवाज छ। त्यही कारण उठ्ने हो कि भन्ने छ,’ भुसालका स्वकीय सचिव समिर गौतम भन्छन्, ‘छलफलपछि मात्रै निर्णय हुन्छ।’

अध्यक्षमा भुसालको दाबेदारी कतिपयले स्वाभाविक ठान्छन्। कतिपयले चाहिँ महत्त्वाकांक्षा भनिरहेका छन्। ती नेताहरूको बुझाइमा भुसालले पार्टी विभाजनताका साथ नदिएकाले एकपल्ट माथिल्ला नेताहरूले पार्टी हाँक्नुपर्ने आवाज उठिरहेको छ। एक नेताले भने, ‘कुनै पनि व्यक्ति नेतृत्वमा जान चाहनु स्वाभाविक हो। तर भुसालले तत्काल अध्यक्षमा दाबी गर्नु भनेको पछाडि आएर बीचमा सुत्न खोज्नुजस्तै हो।’

समाजवादीले भुसाललाई किन बनायो महासचिव?

भुसाल महासचिव बन्नुपूर्व समाजवादीको महासचिव बेदुराम भुसाल थिए। राष्ट्रियसभा सदस्यदेखि मन्त्रीसमेत बनेका बेदुरामले पार्टीमा खास भूमिका खेल्न सकेनन्। बेदुराममाथि पार्टीको संगठन चलायमान बनाउन नसकेको आरोप लाग्यो। यही कारण बेदुराम महासचिव छाड्ने सोचमा थिए। यत्तिकैमा प्रतिनिधिसभा निर्वाचनमा घनश्यामले एमाले छाडे।

‘एमाले छाडेपछि तपाईँ (घनश्याम) आउनुहोस् भनेर अनुरोध गर्‍याैँ,’ समाजवादीका अध्यक्ष नेपाल निकट एक नेता भन्छन्, ‘घनश्यामले म आउँदा कुन पद पाउँछु भन्नुभयो, बेदुरामजीले फ्याट्ट महासचिव भन्दिनुभयो।’ घनश्यामले समाजवादी प्रवेश गर्न ढिलाइ गरेको ती नेताको भनाइ छ।

ती नेताका अनुसार समाजवादी ‘संक्रमणकालीन’ अवस्थामा रहेका बेला घनश्यामलाई महासचिव बनाउनुपरेको हो। एकातिर पार्टी ३ प्रतिशत मत नल्याएर थ्रेस होल्ड नकटाउनु र अर्कातिर एमालेमा प्रवेश गर्ने दर बढ्दा शीर्ष नेताहरू झस्किएका थिए। एकपछि अर्को गर्दै कार्यकर्ता घट्दा र समानुपातिक सिट गुमाउनुको पीडा समाजवादीका शीर्ष नेतालाई थियो। यी समस्या समाधान गर्न घनश्यामलाई महासचिव बनाइएको थियो। पार्टी सचिवालयमा घनश्यामलाई महासचिव दिन नहुने मत पनि थियो। बहुमत संख्या उनका पक्षमा लागेपछि केही नेता मौन रहे।

अध्यक्ष बन्ने गृहकार्य

२०७८ भदौमा स्थापना भएको पार्टीमा भुसाल २०७९ पुसमा प्रवेश गरे। यसरी हेर्दा पार्टी स्थापना र महाधिवेशनको दूरी हेर्दा घनश्यामको प्रवेश बीचमा भएको हो। उनी महासचिव भएको १५ महिना बितेको छ।

नेताहरूका अनुसार अध्यक्ष बन्न उनलाई केही सहज र धरै सहज छ। भुसाल शीर्ष दुवै नेताका निकट छन्। नेपाल-खनाल दुवैले घनश्यामलाई साथ दिन अनुरोध गरिरहेका छन्।

नेपालले खनाललाई र खनालले नेपाललाई छाड्न भने सहज छैन। किनभने पार्टी स्थापनाकालबाटै दुवै नेताको टकराव बढ्दो छ। नेपाल पक्षले खनाललाई स्वीकार्ने स्थिति छैन। खनाल अध्यक्ष बने फेरि एमालेसँगै मिसिनुपर्ने डर नेपाल पक्षलाई छ। ‘नेपाल अध्यक्ष बनेको तीन वर्ष भयो। पार्टी बन्यो अब बढाउन पनि उहाँ फेरि बन्नुपर्छ’, नेपाल पक्षीय एक सचिवालय सदस्य भन्छन्।

खनाल कम्युनिस्ट एकताका नाममा एमालेसँग निकट छन्। जुन नेपाल पक्ष चाहँदैन। खनालपक्ष नेपाललाई सर्वसम्मत बनाउन चाहँदैन। खनालले यसअघिका बैठकहरूमा समेत नेपाललाई टक्कर दिँदै आएका छन्।

खनालले नेपालको ठीक विपरीत एजेन्डा उठाएर कमजोर बनाइरहेका छन्। एमसीसी, समाजवादी मोर्चा, एमालेसँग सहकार्य लगायतका विषयमा खनाल नेपालभन्दा भिन्न मत राख्छन्। यसका साथै जनताको बहुदलीय जनवाद (जबज) मा नेपाल-खनालकै टकराव छ। यही कारण आउँदो महाधिवेशनमा समाजवादीको मार्गनिर्देशक सिद्धान्तबाट जबज हट्दैछ। खनालले यसलाई उपलब्धि मानेका छन्। खनालको नारा छ, ‘जसको नीति, उसैको नेतृत्व।’ यसैले खनाल-नेपालमा सर्वसम्मत अध्यक्ष बन्न सहज छैन। यही कारण घनश्याम मध्यमार्गी भूमिकामा छन्।

नेपाल-खनालमा जति टकराव, त्यति भुसाललाई लाभ

भुसाल महासचिव भएकाले उनी कार्यकर्तासँग नजिक छन्। अधिकांशले उनलाई नेतृत्वमा चुनिनुपर्ने हौसला दिइरहेका छन्। यही कारण आफू अध्यक्ष बन्न खोजेको भुसाल निकट नेताहरूसँग सुनाउँछन्।

नेपाल-खनाल टकराव बढेमा भुसाललाई फाइदा हुन्छ। ‘शीर्ष नेताले एकले अर्कालाई नेतृत्व नस्वीकारेमा घनश्याम पक्का हो,’ समाजवादीका एक नेता भन्छन्, ‘नेपाल-खनालबीच टक्कर बढिरहे भुसाल झनै शक्तिशाली बन्नेछन्।’

नेपाल-खनालबीच औपचारिक कार्यक्रममा बाहेक खास बोलचाल नहुने ती नेता बेताउँछन्। भुसालले महाधिवेशनका लागि संयुक्त प्रतिवेदन बनाएका छन्। उनकै संघर्षले पार्टीमा संयुक्त प्रतिवेदन बन्ने लगभग निश्चित छ।

नेपाल-खनाल दुवै चाहन्छन् आफ्नै गुटको महासचिव

केही समयअघि खनाल-भुसालले महाधिवेशनमा एउटै समीकरण बनाएर जाने चर्चा थियो। खनाल सचिवालयले खनाल अध्यक्ष र भुसाल महासचिव बन्ने गरी सहकार्य अघि बढेको समेत बतायो। यति मात्र होइन, खनालले चुनाव लड्नका लागि भिन्नै सम्पर्क कार्यालय स्थापना गरे। भुसालसमेत त्यसमा संलग्न थिए।

भुसाल पक्ष त्यो कुरा मान्न तयार छैन। ‘घनश्यामजी खनाल निवास डल्लु जानुभएको पक्का हो तर त्यहाँ समीकरण बनाउन छलफल भएकै छैन,’ सचिवालयका एक नेता भन्छन्, ‘खनालसँग प्रतिवेदनका बारेमा छलफल भयो। त्यसपछि खनाल आफैँ सचिवालय उद्घाटन गर्न पुगेछन्। तर हामी सहभागी छैनौँ।’

भुसाल निकट ती नेता भुसालले यसअघि नै बबरमहलमा सचिवालय खोलेकाले थप सचिवालय आवश्यक नपर्ने बताउँछन्। नेपालसमेत भुसाललाई महासचिव उठाएर आफू अध्यक्षमा लड्न चाहन्छन्। उनी अहिलेकै अध्यक्ष-महासचिव दोहोरिनुपर्नेमा छन्। ‘भुसालजीबाटै पार्टी चल्छ। उहाँ (भुसाल)ले अध्यक्षलाई बाइपास गर्न सक्नुहुन्न किनभने उहाँ नेपालले नै बनाएको महासचिव हो’, समाजवादीका एक नेताले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =