आठ दिनदेखि बेपत्ता महिलाको शव फेला, श्रीमान् पक्राउ

हिमाल प्रेस २ असार २०८१ १६:११
54
SHARES
आठ दिनदेखि बेपत्ता महिलाको शव फेला, श्रीमान् पक्राउ प्रतीकात्मक तस्बिर।
धनुषा-  महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ। क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुवी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताए। रुवीका श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए। स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो।
गत शनिबारदेखि हराइरहेकी रुवीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए। रुवी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरीक्षक साहले बताए।
प्रहरीका अनुसार रुवी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुवीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए। उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन्। प्रहरी निरीक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतिलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिएका छन्।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान गर्दै अभियुक्तलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २ असार २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =