सीपमूलक तालिमप्राप्त ४३ हजार युवा बिदेसिने चिन्ता

रमेश भारती २ असार २०८१ १२:१७
36
SHARES
सीपमूलक तालिमप्राप्त ४३ हजार युवा बिदेसिने चिन्ता काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिमका सहभागी। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तालिम दिएर उत्पादन गरेको जनशक्तिलाई रोजगारी दिन सरकारमाथि चुनौती थपिएको छ। महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरी करिब ४३ हजार जनशक्ति तयार पारेको छ। महानगरले तालिम लिएका २०८१ जनालाई मात्र रोजगारी दिएकाले बाँकी जनशक्ति व्यवस्थापन गर्न समस्या देखिएको हो।

तालिममा सीप सिकेका ४३ हजारलाई रोजगारीमा व्यवस्थापन गर्न समस्या हुने महानगरका अधिकारीहरू बताउँछन्। महानगरका तालिम संयोजक देवेन्द्र केसी सबैलाई रोजगारी दिन नसकिने भएकाले तालिम लिएका जनशक्ति विदेश जान सक्ने चिन्ता व्यक्त गर्दछन्। यद्यपि तालिम लिएका युवालाई काममा लगाउन विभिन्न रोजगारदाता कम्पनीलाई आग्रह गर्दै आएको उनले बताए।

‘महानगरबाट तालिम लिएका युवालाई स्वदेशी श्रमबजारमा रोजगारी दिनुपर्छ। त्यसका लागि सरकारले तत्काल रोजगारमैत्री योजना बनाउनुपर्‍यो। नत्र तालिम लिएका युवा वैदेशिक रोजगारीतिर जान सक्छन्’, संयोजक केसीले भने।

ठूलो रकम खर्च गरेर उत्पादन गरिएको जनशक्तिलाई स्वदेशमा राख्नुपर्ने मान्यता महानगरको छ। महानगरले आन्तरिक श्रमबजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम दिएको संयोजक केसी बताउँछन्। तालिममा ७७ जिल्लाकै युवा सहभागी थिए। उनीहरूले बजारको मागअनुसार काम गर्नेसक्ने संयोजक केसी बताउँछन्। उनीहरूलाई सबै स्थानिय तहले तालिमअनुसार रोजगारीको अवसर दिनुपर्ने उनको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजाल काठमाडौँ महानगरबाट तालिम लिएका श्रमशक्तिलाई आन्तरिक श्रम बजारमै रोक्नुपर्ने बताउँछन्। श्रम मन्त्रालयले स्थानीय, प्रदेश र संघीयसहित तीनै तहमा तालिम प्राप्त र तालिम नलिएको श्रम शक्तिलाई आन्तरिक श्रमबजारमा रोजगारी सिर्जना गर्ने काम गरिरहेको उनले बताए। ‘तालिम लिएका मात्र होइन, तालिम नलिएका पनि वैदेशिक रोजगारीमा गइरहेका छन्। सरकारले तालिम सञ्चालन गरेर उत्पादन गरेको श्रमशक्ति आन्तरिक श्रम बजारमा रोक्न प्रयास गरिरहेको छ’, उनले भने।

यसअघि अन्य संस्थाबाट तालिम लिएका धेरै जनशक्ति रोजगारीका लागि विदेश गएका छन्।  वैदेशिक रोजगार बोर्डले पनि वार्षिक रूपमा २० हजारभन्दा बढी युवालाई सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ। बोर्डबाट तालिम लिएका ९० प्रतिशतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती स्वदेशमा रोजगारीको अवसर नपाएपछि तालिम लिएका युवा वैदेशिक रोजगारीमा गइरहेको बताउँछन्। उनका अनुसार सीपमूलक तालिम लिएका युवाले स्वदेशमा रोजगारी पाए पनि बस्न रुचाउँदैन्। ‘स्वदेशमा राम्रो सेवासुविधा नपाएपछि उनीहरू राम्रो सेवासुविधा पाइने देशमा जान्छन्’, उप्रेतीले भने। बोर्डले सीप तालिम सञ्चालनका लागि मात्र वार्षिक १० करोड रुपैयाँभन्दा बढी खर्चिदै आएको छ।

रोजगारविज्ञ जीवन बानियाँ पनि सरकारले सञ्चालन गरेको सीप तालिममा सहभागी युवा प्रायः वैदेशिक रोजगारीमै जाने गरेको बताउँछन्। राष्ट्रिय योजना आयोगको श्रमसम्बन्धी प्रतिवेदनमा पनि श्रमबजार भित्रिएको नयाँ श्रमशक्ति वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ।

रोजगारीको खोजीमा वार्षिक साढे पाँच लाख युवा श्रमबजारमा भित्रिन्छन्। ‘सरकारले सीप तालिम दिएका युवा आन्तरिक श्रमबजारमा बस्दैनन्। उनीहरू तालिम लिएपछि क्षमताअनुसार काम खोजेर विदेश जान्छन्’, बानियाँले भने, ‘सरकारले सीप तालिम दिएका युवालाई यति वर्ष आन्तरिक श्रमबजारमा काम गर्नुपर्छ भन्ने मापदण्ड बनाउनुपर्छ। त्यस्तो गर्दा आन्तरिक श्रमबजारमा काम गर्ने बानी पनि बस्छ।’

महानगरले तालिम लिएका २०८१ जनालाई रोजगार र अन्य युवालाई रोजगारीका लागि विभिन्न रोजगारदाता कम्पनीमा सिफारिस गरेको छ। तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। यसमध्ये ४३ हजार ५८ जना तालिम सहभागी भएको संयोजक केसीले जानकारी दिए। मेलामा १० वटा विधाका ३० पेसासँग सम्बन्धित तालिम सञ्चालन गरिएको थियो।

महानगरको सीप मेलाका लागि नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीईएन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल उद्योग परिसंघ, सिप्रदी, ग्लोकल, सीसीटीभी स्टेसन एन्ड स्मार्ट होम, सीभी मिडिया स्किल्स र नेपाल इलेक्ट्रोनिक टेक्निसियन एन्ड रिसर्च सेन्टरसहितका संघसंस्थासँग साझेदारी गरेको थियो।

तालिम सञ्चालनकै अवधिका महानगरपालिकाले निजी, उद्योग तथा वाणिज्य, शैक्षिक र सामाजिक क्षेत्र तथा दातृ निकायका प्रतिनिधिहरूसँग सीप मेलाबाट उत्पादन भएका सीपयुक्त जनशक्तिलाई रोजगारी सिर्जना गर्न अन्तरक्रिया कार्यक्रमसमेत गरेको थियो। कतिपय रोजगारदाता कम्पनीले तालिम लिएका युवालाई रोजगारीमा लिन प्रतिबद्धता गरेको महानगरको भनाइ छ।

प्रकाशित: २ असार २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =