
काठमाडौँ- गत संस्करणको विजेता इटालीले यसपालिको युरोमा विजयी सुरुवात गरेको छ।
शनिबार राति इटालीले अल्बानियामाथि २-१ को जित दर्ता गरेको हो। समूह ‘बी’ मा पहिलो खेल जित्दै तीन अंक बटुले पनि इटालीको प्रदर्शन प्रश्नरहित रहन सकेन।
जर्मनीमा सुरु युरो २०२४ मा अन्तिम १६ मा पुग्ने प्रारम्भिक लक्ष्यमा इटाली रहेको छ। आगामी खेलमा जित हात पारे, इटालीले कम्तीमा समूह उप–विजेता बन्दै नकआउटमा पुग्ने सम्भावना बलियो बनाउनेछ।
इटाली आउँदो बिहीबार स्पेनसँग भिड्दैछ। उता स्पेनले पनि युरोमा सकारात्मक सुरुवात गरिसकेको छ। स्पेनले शनिबार नै क्रोएसियालाई ३-० ले हराएको हो।
‘जितका कारण म खुसी छु तर हामी धेरै फुर्किन आवश्यक छैन,’ जितपछि इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीको प्रतिक्रिया थियो। जर्मन सहर डर्टमन्डमा भएको खेलमा इटाली पहिलो हाफको २३ सेकेन्डमै पछि परेको थियो।
एक मिनेट नबित्दै गोल खाएका कारण स्पालेट्टी खुसी नदेखिएका हुन्। यद्यपि जित हात पार्न इटालीले ११ र १६ औँ मिनेटमा गोल फर्काएको थियो।
सन् २०२० मा युरो जितेको इटालीलाई यसपल्ट उपाधिको बलियो दाबेदार मानिएको छैन। यसको कारण हो, स्पालेट्टीले युवा खेलाडीको भरमा टिम निर्माण गर्नु।
युरो विजेता बनाएका रोबर्टो मान्सिनीले गत वर्ष पद छाडेपछि प्रशिक्षक बनेका स्पालेट्टीले नयाँ खेलाडीलाई आफ्नो रणनीतिमा परिस्कृत पार्न समय पाएका छैनन्। त्यसमाथि उनी पहिलो प्रतियोगितामै ‘ग्रुप अफ डेथ’ को चुनौती पार गर्नुपर्ने परिस्थितिमा छन्।
च्याम्पियन्स लिगको फाइनलमा पुगेको बोरुसिया डर्टमन्डको घरेलु रंगशालामा भएको खेलमा इटालीलाई अल्बानियाका समर्थकले दबाबमा राखेका थिए। इटालीका भन्दा बढी संख्यामा उपस्थित उनीहरुले स्पालेट्टीका युवा खेलाडीलाई अत्याउन सफल पनि भए। तथापि त्यसले खेलको नतिजामा भने फरक पारेन।
हजारौँ संख्यामा आएका अल्बानियालीहरुले खेल सुरुहुनुअघि रंगशाला वरपरको वातावरण उत्तेजक बनाएका थिए। उसो त अल्बानियाको फुटबल संघका अध्यक्ष अर्मान्ड डुकाले डर्टमन्ड रंगशालाको आधा हिस्सा आफ्ना समर्थकले भरिने बताएका थिए। तर रंगशालाको धेरैजसो सिटमा अल्बानियाली थिए।
रातो र कालोको मिश्रण भएको जर्सी लगाएको अल्बानियाले इटालीविरुद्ध सुरुवाती गोल गरेर रंगशाला उचाल्न सकेको थियो। इटालीकै टिम सासुओलोबाट खेल्ने नेदिम बाजरामीको त्यो गोल युरो इतिहासमै सर्वाधिक थोरै समयमा गरिएको गोलका रुपमा दर्ज भएको छ।
अनपेक्षित गोल खाए पनि इटाली धरमराएन। बरु गोल गर्न जागरुक बनेका इटालेली खेलाडी पहिलो हाफको आधा समय पनि नबित्दै खेलमा फर्किए। अलेसान्द्रो बास्टोनीले हेडरमार्फत गोल गरेपछि राहतको श्वास फेरेको इटाली निकोलो बरेलाको गोलले खेलमा अघि बढेको थियो।
‘नढाँटी भन्दा खेलको सुरुवात अलिक अनौठो ढंगमा भयो। २३ सेकेन्डमै गोल खाँदा हामीमा मनोवैज्ञानिक असर पर्नसक्थ्यो। तर हामी सम्हालिएर खेल्यौँ। हो, हामीले अझ धेरै गोल गर्नु पर्ने थियो। तर आखिरमा नतिजा र विजयी सुरुवातलाई खुसीसाथ अपनाउनु पर्छ,’ गोलकर्ता बरेलाले भने।
कुनै समय होहल्लाले रंगशाला नै उचालेका अल्बानियाली दोस्रो गोल खाएपछि स्तब्ध बने। त्यसपछि उनीहरु धेरैजसो समय चुपचाप रहे। खेलमा पछि परेपछि अल्बानियाले इटालीविरुद्ध खासै दबाब सिर्जना गर्न सकेन। जसकारण इटालीलाई खेल नियन्त्रणमा लिन सजिलो भयो।
डेभिड फ्राटेसीले मौमा नगुमाएको भए इटालीको खातामा तीन गोल हुनसक्थ्यो। उता जियानलुका स्माकाले पनि अवसर खेर फाले। रक्षापंक्तिमा केही गल्ती पनि गरेको इटालीले यसरी लगातार मौका पनि गुमायो। जसले स्पालेट्टीलाई निराशा बनाएको हुनुपर्छ।
‘युरो जत्तिको स्तरीय प्रतियोगितामा जे पनि हुनसक्छ। यसकारण हामी सचेत हुन आवश्यक छ। धेरै कुरामा सुधार गर्नुछ। जस्तै, पाएको मौकामा गोल गरिहाल्ने,’ इटालेली फरवार्ड फेडेरिको किएसाको भनाइ थियो।
एएफपीको सहयोगमा