कांग्रेसले कसैसँग गठबन्धन नगर्ने अनौपचारिक निर्णय भएको छ : महामन्त्री शर्मा

हिमाल प्रेस १ असार २०८१ १७:०८
24
SHARES
कांग्रेसले कसैसँग गठबन्धन नगर्ने अनौपचारिक निर्णय भएको छ : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शनिबार भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठान भक्तपुरले १२ औँ वार्षिक पुण्यतिथिका अवसरमा आयोजित सहिद राधेश्याम जोन्छे व्यक्ति र व्यक्तित्ब विषयक प्रवचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा। तस्बिर : रासस

भक्तपुर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने दाबी गरेका छन्। भक्तपुरको सूर्यविनायकमा शनिबार आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका हुन्। गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय रहेको उनको भनाइ छ।

नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए। उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताए।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन्। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गरे।

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेको बताए।

नेपाली कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति तिलकप्रसाद कायस्थ, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीलगायतले नेपाली कांग्रेसका लागि जोन्छेले पुर्‍याएको योगदानको चर्चा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =