अमेरिकाको ओक्लोहोमा सिटी कम्युनिटी कलेजमा प्राध्यापनरत विश्वराज अधिकारी साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन्। डायस्पोरामा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा लागिरहेका अधिकारीका कथासंग्रह, लघुकथासंग्रह, गीतसंग्रह, कवितासंग्रह, निबन्धसंग्रहका गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्। यसैगरी विश्वविद्यालय स्तरका पाठ्यपुस्तक लेखनमा समेत उनको योगदान रहेको छ। धेरै विधामा कलम चलाए पनि उनको पहिचानचाहिँ कथामा छ। उनका रनाहा, सदृश्य पर्दाजस्ता कथा धेरै पढिएका छन्। अर्थशास्त्र उनको प्राध्यापन क्षेत्र हो भने वेदान्त दर्शनमा उनको विशेष रुचि छ। पुर्ख्यौली थलो सर्लाहीको छतौनाबाट झन्डै दुई दशकअघि अमेरिका पुगेका हुन्। उनै अधिकारी कोलोराडो भ्रमणमा गएका बेला अमेरिकी नेपालीको जीवनशैली, साहित्य सिर्जना, युवा पलायन, पूर्वीय दर्शनलगायतका विषयमा आधारित रहेर विमल अधिकारीले गरेको कुराकानी :
तपाईँको संक्षिप्त परिचय बताइदिनुस् न।
मेरो जन्म सर्लाहीको छतौना गाउँको पहाडी टोलमा भएको हो। मेरा बाका हजुरबा यज्ञधर उपाध्याय काभ्रेको पनौतीबाट रौतहटको समनपुर भन्ने गाउँमा कर्मचारीका रूपमा खटिनुभएको थियो। राणाकालमा उहाँ तत्कालीन वन विभागको कर्मचारी हुनुहुन्थ्यो। बाको हजुरबाको मृत्युपछि उहाँकी पत्नी सुशीला एवम् सन्तानहरूको बसोबास छतौनामा भएछ। सुशीलालाई छतौना बसाइँ लैजान त्यस क्षेत्रमा जमिनदारी सकारेका चन्द्रलाल अधिकारीको महत्त्वपूर्ण भूमिका थियो। मेरो जन्म छतौनामै भएको हो। मैले प्राथमिक शिक्षा रौतहटको सिमरा भवानीपुरमा प्राप्त गरेको हुँ। माध्यमिकदेखि स्नातकसम्म वीरगन्जमा पढेँ। स्नातकोत्तर काठमाडौँ र अमेरिकाबाट गरेँ।
तपाईँ अमेरिका कहिले र किन आउनुभएको हो? यहाँ कुन पेसामा हुनुहुन्छ?
मेरो बसाइँ सराइको कथा लामो छ। हाल म सपरिवार अमेरिकाको ओक्लोहोमा राज्यको नोरमेन सहरमा बसोबास गरिरहेको छु। मेरा दुई छोरीहरू- सुभा र समीक्षा पनि अमेरिकामै छन्। उनीहरूको आआफ्नो गृहस्थी छ।
म अमेरिकामा सन् २००६ मा आएको हुँ। अमेरिका आउनुको उद्देश्य उच्चशिक्षा अध्ययन थियो। नेपालमा म प्रशासन र अध्यापन सेवामा थिएँ। यहाँ (अमेरिकामा) पनि अध्यापनमै छु। मेरो दिनचर्या अध्यापन र साहित्य लेखनमा बित्छ। म जुममार्फत साहित्यिक कार्यक्रम पनि चलाउने गर्छु। साथै पत्रिकाका लागि लेख पनि लेख्ने गर्छु। मेरा लेखहरू मुख्यगरी आर्थिक विषयमा केन्द्रित हुन्छन्।
तपाईँले अमेरिकी र नेपाली जीवनशैलीमा के भिन्नता पाउनुभयो?
नेपाली जीवनशैली र अमेरिकी जीवनशैलीबीच ठूलो भिन्नता छ। ती सम्पूर्ण भिन्नता यो वार्तामा समावेश गर्न सम्भव छैन। केवल एक प्रतिनिधि भिन्नता मात्र प्रस्तुत गर्दछु। नेपालमा प्रत्येक व्यक्ति आफ्नो इच्छा र विचारले कम बाँच्न पाएको जस्तो लाग्छ। सामाजिक मान्यता र नियम (धनी-गरिब, उच्चपद-निम्नपद, शक्तिशाली-कमजोर जस्ता भेदपूर्ण व्यवहार आदि) ले नेपालमा व्यक्तिलाई बाँच्न कठिन पारिदिन्छ।
उदाहरणका लागि गरिब भएर बाँच्न नेपालमा कठिन छ किनभने गरिब, कमजोर र निम्नपद भएको व्यक्तिहरूलाई भन्दा धनी, बलियो र शक्तिशाली व्यक्तिहरूलाई इज्जत, मानप्रतिष्ठा दिने हाम्रो सामाजिक चलन छ। विवाहमा छोरीलाई जति बढी दाइजो दिन सक्यो दिने परिवारले त्यति नै बढी गर्व गर्छ। अमेरिकामा यसको ठिक विपरीत छ। यहाँ कुनै पनि व्यक्तिलाई उसको धनसम्पत्ति, शिक्षा, पदप्रतिष्ठाका आधारमा सामान्यभन्दा फरक किसिमले व्यवहार गरिँदैन।
अमेरिकालाई धेरै नेपालीले सपनाको देश भन्छन्। अमेरिका आउन चाहने नेपालीलाई के भन्नुहुन्छ?
भौतिक सुविधा प्रयोगका आधारमा हामी नेपालीले अमेरिकालाई सपनाको देश मान्नु उचित हो। यहाँ भौतिक सुविधाहरूको उपलब्धता र मूल्य अति सस्तो पनि छ। यो हिसाबले यहाँ भौतिक जीवन अति सरल छ। तर मानसिक किसिमले भन्ने हो भने अमेरिकी जीवन अति संघर्षमय छ। यहाँका बासिन्दामा बेचैनी, छटपटी, असन्तोष अति नै पाइन्छ। अमेरिकी जीवनमा शान्तिको ठूलो खाँचो रहेको मैले अनुभव गरेको छु।
मेरो व्यक्तिगत विचारमा उच्चशिक्षा, अध्ययन एवम् अनुसन्धान तथा विशेषज्ञता हासिल गर्नका लागि अमेरिका आउनु उचित हो। केवल सामान्य उद्देश्यका साथ अमेरिका आउनुभन्दा मानसिक सुखका साथ आफ्नो परिवार एवम् समाजसँग नेपालमा बस्नु उत्तम हो।
अध्ययनका लागि विदेश गएका नेपाली फेरि मातृभूमि फर्कन किन चाहँदैनन्? उनीहरूलाई नेपालमै फर्काउन के कस्तो व्यवस्था गर्न सकिएला?
‘अध्ययनका लागि विदेश गएका नेपाली फेरि मातृभूमि फर्कन चाहँदैनन्’, यो कुरा सही हो। नेपालीहरू नेपाल नफर्किनुको कारण गृहदेशको तुलनामा अमेरिकी जीवन सरल हुनु हो। अनेक सुविधाले युक्त हुनु हो। सामान्य व्यक्ति वा परिवारले अमेरिकामा बाँच्नका लागि पनि ठूलो संघर्ष गर्नु पर्दैन।
अमेरिका आएका नेपालीलाई नेपालमा फर्काउन नेपाली जीवन सरल बनाउनुपर्छ। रोजगारी सजिलैसँग उपलब्ध हुने पार्नुपर्छ। सेवा र सुविधाको पहुँच सरल पार्नुपर्छ। सामाजिक जीवन सरल पार्नुपर्छ। वर्गीय विभेद समाप्त पार्नुपर्छ। प्रत्येक व्यक्तिले अर्को व्यक्तिलाई उसको पदीय, प्रशासकीय, आर्थिक सम्पन्नता आदिका हिसाबले व्यवहार गर्नुको साटो समान नागरिकको हिसाबले व्यवहार गर्नुपर्छ। यस किसिमको संस्कार विकास भएमा अवश्य पनि अमेरिकामा बसिरहेका नेपाली ठूलो संख्यामा नेपाल फर्किनेछन्।
नेपालको अर्थतन्त्र दिनप्रतिदिन ओरालो लागिरहेको छ भनिन्छ। यसको मूल कारण बेरोजगारी नै हो त?
तपाईँले सोध्नुभएको प्रश्नको उत्तर विस्तृत रूपमा दिने हो भने एउटा पुस्तक तयार हुन्छ। यस प्रश्नको उत्तरलाई छोटो पारेर भन्ने हो भने नेपालमा अहिले निराशाको स्थिति छैन। नेपाल साधनस्रोतहरूले सम्पन्न मुलुक हो। नेपालमा देश विकासका लागि आवश्यक पर्ने पुँजी, प्रविधि र ज्ञान पर्याप्त मात्रामा उपलब्ध छन्। दक्ष जनशक्तिको रत्तिभर पनि कमी छैन।
नेपालको आर्थिक विकासका लागि नेपाली जनता र नेता, दुवै पक्षमा आर्थिक विकासका लागि बलियो इच्छाशक्ति हुन आवश्यक छ। सर्वाधिक महत्त्वपूर्ण कुरा के हो भने देशको आर्थिक विकासका लागि हामीमा एकता हुन आवश्यक छ। हामीबीच सहमति र समन्वय हुन आवश्यक छ। एउटाले अर्काको खुट्टा होइन हात तान्ने हो भने छोटो समयमै नेपालले ठूलो आर्थिक प्रगति गर्न सक्छ। नेपालका दलहरूबीच समन्वय हुने हो भने र जनताले असल प्रतिनिधिलाई निर्वाचित गर्ने हो भने नेपालमा अहिले देखिएको आर्थिक समस्या पाँच वर्षभित्रमा समाधान हुन्छ। नेपाल समृद्धि दिशातर्फ अग्रसर हुन्छ।
अर्थशास्त्रको विद्यार्थी भएर पनि सिर्जनकर्ममा व्यस्त हुनुहुन्छ। यसको रहस्य बताइदिनुस् न।
साहित्य र अर्थशास्त्र, दुवै मेरा रुचिका क्षेत्र हुन्। साहित्य र अर्थशास्त्र, म दुवैलाई उत्तिकै माया गर्छु। यी दुवै क्षेत्रले मलाई मानिसका हर्ष, पीडा, दु:ख, कष्ट बुझ्न र तिनको समाधान खोज्न सहयोग गर्छन्। साहित्य होस् वा अर्थशास्त्र, दुवै क्षेत्रमा लेखिएका मेरा सामग्री जनताको हितमा होस् भनी कामना गर्छु। त्यस्तो पार्ने मैले प्रयास गरेको छु पनि। अर्थशास्त्रले समाजमा सुखसँग बाँच्न र साहित्यले सही मनोविज्ञान निर्माण गर्न सन्देश दिन्छ। यही कारणले गर्दा दुवै क्षेत्र मेरा लागि प्रिय छन्। साहित्यमा मैले बढी समय दिएको भने पक्कै पनि हो।
साहित्यिक लेखनको प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो?
साहित्यतर्फ लाग्न मलाई कसैले प्रेरित गरेको होइन। कसैबाट प्रेरित भएर साहित्यमा लागेको होइन। मेरो जिज्ञासा र ज्ञान-भोकले मलाई साहित्यमा लाग्न प्रेरित गरेको हो। मैले पत्रपत्रिकामा २०३७ सालदेखि नै लेख्न आरम्भ गरेको हुँ। पहिलो प्रकाशित रचनाचाहिँ याद भएन। मेरो सूर्य शीर्षकको लघुकथासंग्रह प्रतीक प्रकाशन समूहले २०५४ सालमा प्रकाशित गरिदिएको थियो। त्यो मेरो पहिलो कृति हो। मेरो कथा, लघुकथा, गीतसंग्रहलगायतका विभिन्न कृति प्रकाशित छन्।
साहित्यलाई कसरी परिभाषित गर्न सकिन्छ?
मेरो विचारमा साहित्य भनेको सूचना, जानकारी र खबरहरूको स्रोत हो। कुनै पनि साहित्यमा सूचना, जानकारी र खबर हुन आवश्यक छ। कुनै साहित्य वा कृतिमा यी कुराहरू छैनन् भने मेरो विचारमा त्यो सार्थक साहित्य होइन। साहित्यलेखनमा साहित्यकारले आफ्नो मनमा लागेका कुरा जनसमक्ष राख्नुपूर्व यो प्रश्न आफैँसँग गर्न आवश्यक छ- मेरो लेखनले पाठकलाई सही मार्गमा हिँड्न प्रेरित गर्छ वा गर्दैन? मेरो लेखन सार्थक छ वा छैन?
एक लेखकले आफ्नो गन्थन लेख्नु र आफ्नो बौद्धिकता प्रदर्शन गर्नुभन्दा आफ्ना कृतिमा मानव-जीवन उपयोगी सामग्री प्रस्तुत गर्नु राम्रो हुन्छ। यो मेरो व्यक्तिगत विचार हो। यस सन्दर्भमा अन्यको विचार पृथक् हुन सक्छ। साहित्य सार्थक हुनुपर्छ। मानव उपयोगी हुनुपर्छ। साहित्यको धर्म निराशा उत्पन्न गराउने हुनु हुँदैन।
तपाईँको बुझाइमा कथा के हो? कथामा कथानक कसरी टिप्नुहुन्छ र त्यसलाई कथाकलाले सम्पन्न गर्नुहुन्छ?
कथा भनेको विवरण हो। यो विवरणले जनताको हर्ष, पीडा, उमंग, दु:ख, दर्द आदि प्रस्तुत गर्नुपर्छ। पाठकलाई सही किसिमले बाँच्न जीवन-ऊर्जा प्रदान गर्नुपर्छ। मैले कथामा बढी रुचि देखाउनुको मूल कारण कथाद्वारा म सामाजिक मनोविज्ञान बढी र प्रभावकारी किसिमले प्रस्तुत गर्न सक्छु।
प्रकाशोन्मुख मेरा लघुकथासंग्रह आधुनिक मुग्लान मा नेपालबाहिर बसेका प्रवासीहरूको हर्ष, पीडा, उमंग आदि समेटिएको छ। उनीहरूका आशा, निराशा, छटपटी, वेदना आदि समेटिएको छ। कथानक कसरी टिप्नुहुन्छ भन्ने प्रश्नमा मेरो उत्तर यस्तो छ, म जे देख्छु त्यो लेख्छु। मेरो लेखनमा कल्पना कम यथार्थ बढी हुन्छ। म अनेक देश एवम् सहरहरूको भ्रमण गरिरहन्छु। ती स्थानमा भेटिएका प्रवासी नेपालीहरूसँग सम्बन्धित कुराहरू कथामा समावेश गर्छु।
तपाईँले कथाकलाको प्रसंग झिक्नुभयो। यस विषयमा मेरो धारणा स्पष्ट छ। साहित्य सिर्जना गर्दा म कला, शिल्पभन्दा पनि सूचना, जानकारी, खबर आदिलाई महत्त्व दिन्छु। मेरो लेखनबाट पाठकलाई केही नयाँ विषय वा जानकारी प्राप्त होस् भन्ने म आशा राख्छु।
तपाईँलाई यौनकथाकार भनेर पनि चिनिन्छ। साहित्यमा यौन अनिवार्य तत्त्व हो?
धेरै पाठकले मलाई यौनकथाकारका रूपमा चिन्नुहुन्छ भन्ने तपाईँको भनाइबाट म हर्षित भएँ। तर त्यो भनाइलाई मैले कति सार्थक पार्न सकेको छु, त्यो पाठक वर्गले भन्ने कुरा हो। यौन हाम्रो जीवनको सर्वाधिक महत्त्वपूर्ण विषय हो। यौनबाट जीवनको सृष्टि हुन्छ। प्रत्येक व्यक्ति यौनिक हुन्छ। ऊ त्यस्तो आफ्नो विचारले गर्दा नभएर प्राकृतिक गुणद्वारा हुन्छ। कुनै युवती वा युवक विपरीत लिंगतिर आकर्षित हुनु त्यस व्यक्तिको चाहनाले गर्दा होइन, प्रकृतिले गर्दा ऊ आकर्षित भएको हो। त्यसरी आकर्षित नहुने हो भने सृष्टि चल्दैन।
त्यसैले पनि यौनबारे धेरै लेखिनुपर्छ। आफ्नो लेखनद्वारा पाठकलाई उपयोग सामग्री प्रस्तुत गरिनुपर्छ। सत्य के हो भने मानिसको लामो समय यौन चिन्तनमा व्यतीत हुन्छ। यौन प्रत्येक व्यक्तिका लागि एक महत्वपूर्ण विषय हो पनि। यद्यपि यसबारे खुलेर कुराकानी गरिँदैन।
वर्तमान नेपाली साहित्यलाई कसरी मूल्यांकन गर्नहुन्छ?
नेपाली साहित्यको वर्तमान स्थिति अति सुन्दर छ। नयाँनयाँ लेखकहरू, नयाँनयाँ विचार र फरक शैलीसहित कविलेखकहरू उदाएका छन्। यसैगरी अघिल्लो पुस्ताका लेखकहरूले नेपाली साहित्यको भण्डारलाई अति नै समृद्ध पारेका छन्। यी कुरालाई आधार मान्दा नेपाली साहित्यको भविष्य उज्ज्वल देखेको छु।
तपाईँ आफूलाई के कुन प्रवृत्तिको साहित्यकार भन्न रुचाउनुहुन्छ?
गरिब र निमुखावादी। स्वच्छन्दवादी। मानवतावादी। आशावादी।
नेपालीबाहेक अन्य भाषा-भाषिकामा कत्तिको दख्खल राख्नुहुन्छ?
म बज्जिका भाषिक समुदाय धेरै भएको समाजमा हुर्केको हुँ। म हुर्केको गाउँ सिमरा भवानीपुरमा हाम्रो घरमा मात्र नेपाली भाषा बोल्ने स्थिति थियो। बाँकी सम्पूर्ण परिवार बज्जिका भाषा बोल्थे। यही कारणले गर्दा नेपाली कम र बज्जिका बढी बोलेर हुर्केको व्यक्ति हुँ म। त्यसैले म बज्जिका भाषा बोल्न र लेख्न सक्छु। म बज्जिका भाषालाई अति नै स्नेह गर्दछु।
बज्जिका भाषा हो वा भाषिका? यसबारे छोटकरीमा बताइदिनुहोस् न।
बज्जिका भाषा हो। यो भाषा बोल्नेहरूको संख्या करोडमा छ। नेपालभन्दा बाहिर, भारतका अनेक क्षेत्रहरूमा समेत बज्जिका भाषा बोल्ने गरिन्छ। इतिहासको कुरा गर्ने हो भने बज्जिका भाषा ब्रजभूमिमा बोल्ने गरिन्थ्यो। यो भाषा अहिले नेपालका तीन जिल्ला बारा, रौतहट र सर्लाहीमा बोल्ने गरिन्छ। बज्जिका भाषामा मेरा तिन कृतिहरू बंग्मतीसे लमहा (गीतसंग्रह), कहाँ गेल ऊ लोग (संस्मरण), बज्जिका कहाबत (कहाबतहरूको संकलन) प्रकाशित छन्। बज्जिका भाषामा थप कृतिहरू लेख्ने मेरो प्रयास जारी छ।
लेखनमा लाग्न अध्ययनको आवश्यकता कति छ। तपाईँ पुस्तक अध्ययन कत्तिको गर्नुहुन्छ?
जसरी खाना पकाउन दाल, चामल, तरकारी, मसला चाहिन्छ, त्यसैगरी खासखास किसिमको विचार एवम् धारणा निर्माण गर्न अनेक किसिमका कृतिको अध्ययन गर्नुपर्छ। जीवन र जगत् बुझ्न पनि गहिरो अध्ययन गर्नुपर्छ। साहित्यकारले मात्र होइन, अन्यले पनि अध्ययन गर्न आवश्यक छ। धेरै अध्ययन गरेपछि मात्र राम्रो कृतिको सिर्जना गर्न सकिन्छ। अनेक पुस्तकहरू पढ्नु मेरो रुचिको विषय हो। जति बढी पुस्तक अध्ययन गर्यो त्यति नै बढी लेख्न सामग्री पनि प्राप्त गर्न सकिन्छ।
अर्थशास्त्र र साहित्यमा नलाग्नुभएको भए के बन्नुहुन्थ्यो जस्तो लाग्छ?
यो प्रश्नको उत्तर दिन कठिन छ। तैपनि, यो प्रश्नको उत्तर दिनु नै परे म राजनीतिमा लाग्ने थिएँ होला। राजनीतिमा लागेर जनताको र मुख्यगरी गरिब र अवाजविहीन जनताको सेवा गर्ने थिएँ होला।
अब प्रसंग बदलौँ, धर्म के हो?
मेरो विचारमा धर्म भनेको जीवन पद्धति हो। धर्मले मानिसलाई कर्तव्य, करुणा, प्रेम र ममत्व सिकाउँछ। क्षमा गर्न सिकाउँछ। जीवन र जगत्बारे ज्ञान दिएर आशावादी हुँदै बाँच्न सिकाउँछ। धर्म जहिले पनि मानववादी हुनुपर्छ। धर्मको निर्माण मानिसको हितका लागि भएको हो। यस अर्थमा धर्मका लागि मनिसको सिर्जना भएको होइन, मानिसका लागि भएको हो। निष्कर्षमा भन्ने हो भने धर्म मानव जीवन पद्धतिको नियमहरूको सँगालो हो।
जीवन र मृत्युबारे यहाँको के धारणा छ?
जीवन र मृत्यु भनेको जड र चेतनाको रूपान्तरण हो। जड हुँदा जीवन हुँदैन। तर जब त्यो जडमा चेनताले प्रवेश गर्छ तब जीवन आरम्भ हुन्छ। यो व्याख्याअनुसार न त मानिस वा जीवको जन्म हुन्छ न त मृत्यु नै हुन्छ। हुन्छ केवल जड र आत्माको रूप परिवर्तन। यो परिवर्तनलाई धेरैले जीवन मृत्यु भन्ने गर्छन्। मेरो विचारमा जीवन र मृत्यु भनेको चेतनाबाट जडमा परिवर्तन हुनु हो। अनि जडले पुन: चेतना प्राप्ति गर्नु हो।
श्रीमद्भगवद्गीतामा भनिएको छ :
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोSपराणि।
तथा शरीराणि विहाय जिर्णान्य न्यानि संयति नवानि देही।।
(जुन प्रकारले मानिसले आफूले लगाएको पुरानो लुगा परित्याग गरेर नयाँ लुगा लगाउँछ त्यसै प्रकारले आत्माले आफू रहेको पुरानो शरीरलाई परित्याग गरेर नयाँ शरीर प्राप्त गर्दछ।)
न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूय:।
अजो नित्य: शाश्र्वतोSयं पुराणो
न हन्यते हन्यमाने शरीरे।।
(यो जीव आत्माले कहिले पनि जन्म लिँदैन र कुनै पनि समयमा मर्दैन पनि। जब शरीको रचना हुन्छ तब पनि यो आउँदैन। यो आत्मा अजन्मा छ, नित्य छ, अविनाशी छ र समयको घेराभन्दा बाहिर छ। शरीर नाश हुँदा यो कहिले पनि नाश हुँदैन।)
नैनं छिन्दन्ति शस्त्राणि नैंन दहति पावक:।
न चैन क्लेदयन्त्यायो न शोषयति मारुत:।।
(आत्मालाई शस्त्रहरूद्वारा टुक्रा पार्न सकिँदैन। आत्मालाई अग्निले जलाउन सक्दैन। आत्मालाई पानीले भिजाउन सक्तैन। हावाले सुकाउन सक्तैन।)
जीवन र मृत्युबारे थाहा पाउन र जीवन र जगत् बुझ्न म हरेक व्यक्तिलाई गीता पढ्न, मनन गर्न र त्यस उपर चिन्तन गर्न अनुरोध गर्दछु।
तपाईँलाई वेदान्त दर्शनमा बढी रुचि छ जस्तो देखिन्छ। वेदान्त दर्शनबाट कसरी प्रभावित हुनुभयो? यो दर्शनको प्रभाव अमेरिकी समाजमा कत्तिको पाउनुभएको छ?
मलाई पूर्वीय धर्मदर्शनबारे ज्ञान दुई स्रोतबाट प्राप्त भए। पहिलो स्रोत मेरा स्वर्गीय पिता देवराज उपाध्याय हो भने दोस्रो स्रोत मेरो अध्ययन हो। मेरा पिताले संस्कृतमा शिक्षा प्राप्त गर्नुभएको थियो। उहाँले शास्त्री परीक्षा उत्तीर्ण गर्नुभएको थियो। संस्कृत साहित्य, धर्म र दर्शनबारे उहाँसँग राम्रो ज्ञान थियो। आफ्नो ती अध्ययन र ज्ञान मेरा पिताले हामी सन्तानलाई राम्रो गरी सुनाउनुभयो।
स्कुलमा मैले एक विषय संस्कृत अध्ययन गरेको थिएँ। संस्कृतमा लेखिएका र तिनलाई हिन्दीमा अनुवाद गरिएका पुस्तक पनि मैले केही अध्ययन गरेँ। संस्कृत साहित्यमा मलाई निकै रुचि छ। श्रीमद्भगवद्गीता धेरै पटक पढेको छु। संस्कृत साहित्यबाट मैले निकै ज्ञान प्राप्त गरेको छु।
श्रीमद्भगवद्गीताको विस्तृत अध्ययन गरेपछि म वेदान्त दर्शनबाट अति प्रभावित भएको हुँ। त्यो प्रभावको परिणामस्वरूप मैले विश्वगीता पुस्तक लेखेँ। यस पुस्तकमा श्रीमद्भगवद्गीताका श्लोकहरूको नेपालीमा अनुवाद गरिनुको साथै प्रत्येक अध्यायको विस्तृत व्याख्या गरिएको छ। अमेरिकामा बसिरहेका नेपालीमा वेदान्त दर्शनको गहिरो प्रभाव परेको जस्तो मलाई लाग्दैन। मुख्यगरी पहिलो पुस्ताका व्यक्तिहरूमा यसप्रति अति नै चासो रहेको पाइन्छ।
विश्वराज अधिकारीका कृतिहरू
१. सूर्य (लघकथासंग्रह २०५४)
२. बहलिया (कथासंग्रह-२०५८)
३. अभिनय (लघुकथासंग्रह-२०६०)
४. मधुर मिलन (कथासंग्रह-२०७०)
५. मिसिसिपीको किनार (कथासंग्रह-२०७१)
६. रानीघाट (कथासंग्रह २०७२)
७. विश्वगीता (श्रीमद्भगवत गीता : मूलपाठ एवम् व्याख्या २०७२)
८. I Was Wrong-A Collection of Short Stories in English (July 2017)
९. अन्तिम निर्णय (लघुकथासंग्रह -२०७३)
१०. बङ्मती से लमहा (गीतसंग्रह, बज्जिका भाषा-२०७३)
११. नलेखिएका कथा (कथासंग्रह-२०७६)
१२. अचम्म (महत्त्वपूर्ण, रोचक, आश्चर्यजनक घटनाको संकलन-२०७६)
१३. अमेरिकी अर्थतन्त्रका विशेषता (दृष्टिकोण २०७६)
१४. अधुरो प्रेम (गीतसंग्रह-२०७७)
१५. कहाँ गेल ऊ लोग (संस्मरण, बज्जिका भाषा-२०७७)
१६. मेघदूतमा के छ ? (प्रेम- परिचय, महत्त्व, व्याख्या एवम् मूल पाठ-२०७८)
१७. दोभान (मुक्तक एवम् कवितासंग्रह, तीर्थराज अधिकारी-सहलेखन-२०७८)
१८. पिरको आवाज (छोटोकथा-२०७९)
१९. सागरमणि दाइ नेपाल फर्किनुभयो (कथासंग्रह-२०७९)
२०. सफलताका सूत्र (अनुभव एवम् दृष्टिकोण- २०७९)
२१. सदृश्य पर्दा (यौन कथासंग्रह-२०७९)
२२. क्रुज डायरी (नियात्रासंग्रह-२०८०)
२३. बज्जिका कहाबत (कहाबत संग्रह- २०८०)
२४. दि अमेरिकन लाइफ (प्रबन्ध-२०८०)
२५ रनाहा (यौन कथासंग्रह-२०८०)
२६ अशेष मल्ल अनुभूतिको विविध प्रवाहमा, सह-लेखन- ममता मृदुल (जीवन परिचय-२०८०)
२७ उत्तर आधुनिक त्रासदी (प्रेसमा)
२८ गीता चिन्तन (प्रेसमा)
२९ शक्ति के हो? (प्रेसमा)
३० अमेरिकामा मेरो कलेज जीवन (प्रेसमा)
३१ आधुनिक मुग्लान, लघुकथासंग्रह, (प्रेसमा)
त्रिभुवन विश्वविद्यालय एवम् कलेज (नेपाल) स्तर (BBA, MBA, MBS) का करिब एक दर्जन पाठ्य पुस्तक लेखन एवम् प्रकाशित।
विभिन्न क्षेत्रमा प्रकाशित पुस्तक
१. के उदारीकरण लाभप्रद छ?
२. नेपाली बजारका समस्याहरू
३. व्यवस्थापक तथा व्यवस्थापन