राष्ट्रपति र प्रधानमन्त्री विदेश गएको कुरा अखबारबाट थाहा पाउनु दुर्भाग्यपूर्ण : कांग्रेस

हिमाल प्रेस ३२ जेठ २०८१ १३:२१
20
SHARES
राष्ट्रपति र प्रधानमन्त्री विदेश गएको कुरा अखबारबाट थाहा पाउनु दुर्भाग्यपूर्ण : कांग्रेस कांग्रेसका मुख्य सचेतक रमेश लेखक।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको राष्ट्र प्रमुख र सरकार प्रमुख विदेश भ्रमणमा गएको जानकारी अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजभन्दा केही दिन पहिला मंगलबार राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिज्यू मुलुकबाहिर जानुभएको छ। मलाई वास्तवमा अचम्म लागिरहेको छ, सभामुखज्यू, राष्ट्रपति देशबाहिर जानुहुन्छ। कार्यकारी प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ। तर यो गरिमामय सदनले सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू देशबाहिर जानुभएको कुरा अखबार पढेर थाहा पाउनुपर्नेछ। यसलाई मैले दुर्भाग्यभन्दा बढी होला र?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भारत गएका थिए। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिन स्विटजरल्यान्ड भ्रमणमा छन्। राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी नगराएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

संसदीय सर्वोच्चता र सार्वभौमिकताको कुरा गर्दै आए पनि सरकारका कारणले संसद्को न्यूनतम गरिमा पनि कायम गर्ने कुरा नभएकोमा लेखकले खेद व्यक्त गरे। उनले संसदीय मर्यादा कायम गर्न प्रतिपक्षीले सम्झाउनुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘आगामी दिनको प्रतिनिधिसभाको बैठक प्रारम्भिक हुनेबित्तिकै सम्माननीय प्रधानमन्त्रीबाट आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी हुनुपर्छ। अबका समाचार अखबार पढेर जानकारी हुने स्थिति नबनोस्। यसबारे रुलिङ होस्।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा नआएको टिप्पणी गरे। उनले भने, ‘केही समयपहिले उपप्रधानमन्त्री रवि लामिछानेले सदनमा रहेका केही नेतामाथि ज्यादै लाञ्छानापूर्ण अभिव्यक्ति दिनुभयो। ती अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जबाफ मागेका छौँ। मैले के विश्वास गरौँ, हामीले माग गरेका कुरामा प्रधानमन्त्री तयारी गरिरहनुभएको हो कि? त्यसको जबाफ दिन नसकेर डराएर सदनबाट भाग्नुभएको हो कि? मैले के अनुमान गरौँ सभामुख महोदय?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =