गण्डकीका मन्त्री फणीन्द्रमाथि माओवादीले गर्‍यो कारबाही, नेसपा भन्छ : कानुनी बाटो खोज्छौँ

विजय नेपाल ३२ जेठ २०८१ १७:१४
136
SHARES
गण्डकीका मन्त्री फणीन्द्रमाथि माओवादीले गर्‍यो कारबाही, नेसपा भन्छ : कानुनी बाटो खोज्छौँ फणीन्द्र देवकोटा

पोखरा – गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको छ। पार्टीको ह्विप नमानेको आरोपमा माओवादीले उनलाई कारबाही गरेको हो। ह्विप उल्लंघन गरेको भन्दै प्रदेशका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले उनलाई म‌ंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए। यसैगरी माओवादीको केन्द्रीय समितिले पनि फणीन्द्रसँग स्पष्टीकरण मागेको थियो। त्यसपछि उनलाई माओवादीले कारबाही गरेको हो।

गण्डकी प्रदेश माओवादी केन्द्रको संसदीय दलको कार्यालयले देवकोटामाथि कारबाही (पदमुक्त) गरिएको पत्रको व्यहोरा सभामुख कृष्ण धितालले शुक्रबारको दोस्रो बैठकमा पढेर सुनाएका हुन्।

‘प्रदेशसभा सचिवालयमा दल त्याग गरेको सूचना आएको छ। सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर- २(१) बाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गरी चुनाव जितेका फणीन्द्र देवकोटाले संसदीय दलको निर्देशन उल्लंघन गरेको उल्लेख छ। सोहीअनुसार प्रदेशसभा सदस्य पदबाट निष्काशन गरी पदमुक्त गर्नुपर्ने पत्र प्राप्त भएकोले कानुनअनुसार सभामा जानकारी गराउँछु’ सभामुख धितालले भने।

देवकोटाले आफूमाथि कारबाही गरेको भन्ने मौखिक जानकारी पाएको बताए। कारबाहीको जानकारी पाएपछि उनी मन्त्रालयमा हाजिर भएका छैनन्। उनले हिमालप्रेससँग  भने, ‘कारबाही गरेको जानकारी पाएको छु। मन्त्रालय नजा भनेका छन्। कारबाही गरेपछि के मन्त्रालय जानु?’ देवकोटाले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए।

नेपाल समाजवादी पार्टीका देवकोटा गण्डकी प्रदेशसभा सदस्यमा गोरखा (२ क) बाट निर्वाचित सांसद हुन्। उनले माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेका थिए। उनले गत सोमबार प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए।

नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्माले फणीन्द्रमाथि भएको कारबाहीको कानुनी उपचार खोजिने बताए। उनले भने, ‘कारबाहीको प्रकृति हेरेर अदालत जान्छौँ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ बमोजिम उनलाई माओवादी संसदीय दलको ह्विप लाग्छ। उक्त दफामा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने भनिएको छ। सोही ऐनमा जुन दलले बढी सिट प्राप्त गर्छ, त्यसको नाममा एउटामात्र संसदीय दल गठन हुने उल्लेख छ। देवकोटा माओवादी संसदीय दलकै एक सदस्य हुन्।

प्रकाशित: ३२ जेठ २०८१ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =