वैकल्पिक शक्ति : एकजुट हुने चार दलको प्रस्तावमा रवि लामिछानेको विमति

रमेश दवाडी ३२ जेठ २०८१ ६:३२
778
SHARES
वैकल्पिक शक्ति : एकजुट हुने चार दलको प्रस्तावमा रवि लामिछानेको विमति

काठमाडौँ- राजनीतिक अस्तित्वको खोजीमा रहेका दुई दल र केही शक्ति आर्जन गरेका दुई दलले एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। नेपाल समाजवादी पार्टी, विवेकशील साझा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीबीच एकता गरेर अघि बढ्न नेताहरू अनौपचारिक रूपमा सहमत देखिएका छन्। कतिपय एजेन्डा समान रहेकाले पनि एकताबद्ध हुनुपर्ने नेताहरू बताउँछन्।

यी चार दलमध्ये विवेकशील साझाको कतै पनि प्रतिनिधित्व छैन। नेपाल समाजवादीको प्रदेश तहमा झिनो संख्यामा प्रतिनिधित्व छ भने जनमत र नागरिक उन्मुक्ति संघीय सरकारको समीकरण फेरबदलमा भूमिका खेल्ने हैसियतमा छन्।

राजधानीमा बुधबार आयोजित नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा यी चार दल सँगै हिँड्न सहमत हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै दलसँग पनि एकता नगर्ने अडान लिएको छ। डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवस (२०८१ जेठ ३० गते) मा मञ्च सेयररिङ् गरेका जनमतका डा. सीके राउत, नागरिक उन्मुक्तिका रेशम चौधरी, विवेकशील साझाकी समीक्षा बास्कोटाले एकताबिना वैकल्पिक शक्तिको एजेन्डा स्थापित हुन नसक्ने बताएका हुन्। रास्वपाका सभापति रवि लामिछानेले एकताभन्दा एक्लाएक्लै हिँड्नुपर्ने धारणा राखे।

एकताका पक्षधर पार्टीले सातै प्रदेशलाई जोड्न खोजेका छन्। यी चार दलले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको विकल्पमा आफूलाई उभ्याउन खोजेका हुन्।

जनमतका अध्यक्ष राउतले नेसपा र जनमतको राजनीतिक एजेन्डा समान रहेको बताए। कार्यक्रममा उनले भने, ‘नयाँ शक्ति गठनमा त्रुटिहरू भए। आजको दिनमा वैचारिक रूपमा उहाँले (बाबुराम) ले दिएका विचार जनमतको भन्दा पृथक् जस्तो लाग्दैन। धेरै समान छन्।’

नेसपा लोकतान्त्रिक अस्थिरताविरुद्ध प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा छ। राउतले भने,‘हामी भन्छौँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, यहाँ समानता छ।’ नेसपा समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकाका पक्षमा रहेको राउतले बताए। उनले भने,‘पूर्ण समानुपातिक भन्नेबित्तिकै जनताले के बुझिदिन्छन् भने अहिलेकै समानुपातिक प्रणाली विकृत छ पूर्ण समानुपातिक आयो भने नेताहरूले कसकसलाई चयन गरिदिने हुन्? बाबुरामजीले स्पष्ट तरिकाले समानुपातिक तर प्रत्यक्ष निर्वाचित भन्नुभएको छ। जनमतको धारणा पनि त्यही छ।’

नेसपाले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन्। यसमा पनि राउतको सहमति छ। उनी भन्छन्,‘प्रदेश सरकार हरेक हप्ता ढल्ने हो कि भन्ने देखिन्छ। त्यस्तो खालको अस्थिर वातावरण छ। त्यसबाट निकास पाउन प्रदेशमा हामी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीमा जानुपर्छ। त्यसो हुँदा उहाँहरूले ढुक्क भएर पाँच वर्ष सरकार चलाउन पाउनुहुन्छ।’

नाउपाका संरक्षक रेशम चौधरीले पनि वैकल्पिक अग्रगामी शक्तिहरू एक भएर जानुपर्ने बताए। उनले त्यसमा रास्वपाका सभापति लामिछानेलाई पनि आग्रह गरे। उनले भने, ‘तपाईंहामी एक भएर जाने हो रविजी। देश भ्रष्टाचारमा चुर्लुम्म डुबिसक्यो। नयाँ परिवर्तनबाट मात्रै देश समृद्धि सम्भव छ।’

रेशमले बाबुराम, सीके, रवि, समीक्षालाई सम्बोधन गर्दै भने,‘हामी त युवा हौँ। हामीलाई तर्साउँदैछन् रविजी। जेजस्तो गरे पनि मुलुक तपाईँहामीले बनाउनैपर्छ।’ रेशमको एकता प्रस्तावमा रविले फरक धारणा राखे। उनको भनाइ थियो, ‘राजनीतिक दल सुरु गरेपछि पाँच महिनामै निर्वाचनमा होमियौं। तीन महिना मिल्ने चक्करमा घुमेँ। हाई प्रोफाइल, लोकप्रियता कमाएका पार्टीसँग मिल्ने भनेर गएँ। कसैले पत्याएनन्। तीन महिना पार्टी निर्माणमा लागेको भए अर्को २० सिट जित्थेँ। मेरो अनुभवका आधारमा मिल्ने भन्ने कुरा गफ हो। यसमा मेरो अनुभव मिठो छैन।’

पार्टी स्थापनाको समय प्रदेश आवश्यक नभएको बताउने रास्वपा दुई पटक संघीय सरकारमा सहभागी भएपछि भने प्रदेशप्रति सकारात्मक देखिएको छ। प्रदेश खारेज नभई रेट्रोफिट आवश्यक रहेको रास्वपाको प्रस्ताव छ। सभापति लामिछाने भन्छन्, ‘संविधानले परिकल्पना गरेको अहिलेको प्रदेश हो? संघीयताको मर्मलाई बोकेको छ कि बदनाम बनाएको छ? त्यसलाई रेट्रोफिट गरौँ। ठिक गरौँ। बेढंगको छ। ढंगको बनाऔँ भनेका हौँ। अहिले पनि त्यही भन्छु।’

विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा अभिभावकत्व लिएर वैकल्पिक राजनीतिलाई अगाडि बढाउन चाहने हो भने आफूहरू खुला रहेको बताउँछिन्। उनी भन्छिन्, ‘अभिभावकत्व लिएर साँच्चिकै वैकल्पिक राजनीतिलाई अगाडि बढाउन चाहनुहुन्छ भने विवेकशील साझाको फोरम खुला छ। सबैलाई स्वागत गर्न चाहन्छु।’

उनले अहिले नेपालको राजनीतिले खोजेको विषयमा छलफल केन्द्रित गरियो भने वैकल्पिक राजनीतिले सही दिशा पक्रने बताइन्। साथै उनले नयाँ खुलेका दलको सम्भावना बढीचाहिँ भएको तर वैकल्पिक हुन्छ कि हुँदैन त्यो भविष्यले बताउने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘नयाँ दलले वैकल्पिक राजनीति गर्न भन्ने विश्वास गर्न सकेका छैनौँ। वैकल्पिक राजनीतिको स्पेस फराकिलो भएको छ। २१ औँ शताब्दीको नेतृत्व कस्तो हुनुपर्छ आजको वैकल्पिक राजनीतिको बहस हुनुपर्छ।’

नेसपाका अध्यक्ष बाबुराम भट्टराईले वैकल्पिक शक्ति मिलेर नै आधा गिलास भरी आधा खाली रहेको संविधानलाई संशोधन गर्नुपर्ने बताए। उनले भने, ‘संविधान च्यात्ने होइन संशोधन गर्ने हो। संविधान आधा गिलास खाली आधा भरी छ। सीकेजीलगायतका साथीहरू हुनुहुन्छ। खाली गिलास भरौँ। आधा गिलास भर्न कांग्रेस, एमाले, माओवादीका साथीहरू सहमत हुनुहुन्न। मुखले हुन्छ भन्नुहुन्छ, व्यवहारमा सहमत हुनुहुन्न।’

भट्टराईले वैकल्पिक शक्ति निर्माणका लागि ‘समाजवादी’ शब्दमा बहस गर्न आफू खुला रहेको बताए। देश विकासका लागि कुनै विचार/दर्शन/सिद्धान्त आवश्यक नरहेको बताउँदै भट्टराईले विचारले मात्र वैकल्पिक राजनीतिलाई अगाडि बढाउने दाबी गरे। उनले भने, ‘रविजीले विचार चाहिन्न भन्नुभयो। सीकेले समाजवादीविरुद्ध भन्ने नभन्ने कुरा गर्नुभयो। त्यही कुरा समीक्षाजीले पनि गर्नुभएको छ। त्यसमा खुला बनौँ। मेरो बुझाइमा विचार चाहिन्छ।’

नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्तिका एजेन्डा पूरा गर्न एकताबद्ध हुनुपर्ने बताए। ‘नेपालको लोकतन्त्रलाई समृद्ध बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, समावेशी र सहभागितामूलक लोकतन्त्रको विकास, संरचनात्मक सुधार गरेर भ्रष्टाचार नियन्त्रण र नेपालको समष्टि ध्यानमा राखेर नेपालको अर्थतन्त्र दुई दशकभित्र दुई अंकको वृद्धिदरमा पुर्‍याउनुपर्छ’, उनले भने।

भट्टराईले दुई दशक निरन्तर कायम गरेर निरपेक्ष गरिबी र बेरोजगारीबाट मुक्त हुनुपर्ने बताए। ‘यो त्यत्तिकै हुँदैन। विचारमा पनि पुँजीवाद र साम्यवादभन्दा माथिको विचार। यिनै विषयमा बहस गरौँ। समाधान खोजौँ,’ उनी भन्छन्, ‘हामीले भनेको वैकल्पिक, नयाँ शक्ति त्यसैलाई भनिएको हो। रास्वपा, जनमत, नागरिक उन्मुक्ति, विवेकशील साझा तपाईंहरू युवा हुनुहुन्छ। युगले नयाँ चिज खोजेको छ। त्यो सम्भव छ।’

विश्लेषकसमेत रहेका ‘नागरिक पहिलो’ अभियानका डम्बर खतिवडा नेपालमा वैकल्पिक राजनीतिको सम्भावना र भविष्यका बारेमा समीक्षा हुनुपर्ने बाउँछन्। उनी भन्छन्, ‘अनुभव, समीक्षा, चुनौती, सम्भावना, भविष्यको मार्गदर्शन या बाटो के हो त्यसको समीक्षा हुनुपर्छ।’

विश्लेषक नरेन्द्रजंग पिटर नेससा, नाउपा, जनमत, विवेकशील साझा पार्टीबीच एकताको सम्भावना देख्दैनन्। यी पार्टी प्रतिक्रियाको राजनीतिबाट जम्मा भएको हुनाले आयु नै छोटो रहेको पिटरले बताए। ‘प्रतिक्रियाबाट जम्मा भएका कुनै शक्तिको दीर्घकालीन आयु हुँदैन। एकताको सम्भावना पनि छैन’, उनले भने। अर्का विश्लेषक पुरञ्जन आचार्य भने नेपालमा वैकल्पिक शक्ति आवश्यक रहेको बताउँछन्। उनको भनाइमा वैकल्पिक भनेर उदाएका शक्तिमा पनि वैचारिक अस्पष्टता भने बढी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =