स्कुलमा पढाइसहित मल उत्पादन र किबी खेती

हिमाल प्रेस ३० जेठ २०८१ २१:३०
22
SHARES
स्कुलमा पढाइसहित मल उत्पादन र किबी खेती बागलुङको काठेखोला गाउँपालिका(४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्रांगारिक मल उत्पादन गरी फलाएको किबी। तस्बिर : रासस

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका-४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्रांगारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन्। उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए। ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू भएपछि प्रांगारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन्।

प्रांगारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्रांगारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो। उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ।

त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको विद्यालयका प्रधानाध्यापक कमला थापाले जानकारी दिइन्। ‘संस्थागत रुपमा किबी खेती बागलुङमै पहिलोपटक लगाइएको रहेछ। तीन रोपनी जग्गामा लगाइएको किबी उत्पादन भएपछि अभिभावकले खरिद गर्छन्’, थापाले भनिन्, ‘पछिल्लो एक वर्ष पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि प्रांगारिक मलसमेत विद्यार्थीले विद्यालयमै उत्पादन गर्दै आएका छन्।’

प्रांगारिक मल उत्पादन गर्ने जिम्मा कक्षा ९ लाई दिइएको छ। किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले गत वर्ष च्याउसमेत उत्पादन गरेका थिए। विद्यार्थीले उत्पादन गरेको फलफूल र तरकारी बिक्रीबाट कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको प्रधानाध्यापक थापाको भनाइ छ।

विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागिसमेत किबी बगैंचा भरपुर उपयोग भइरहको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या बताउँछन्। २०३६ मा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ७८ विद्यार्थी अध्ययनरत छन्। रासस

प्रकाशित: ३० जेठ २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =