यू-१५ विद्यालय खेलकुदमा ३८ स्वर्णका लागि प्रतिस्पर्धा

हिमाल प्रेस ३० जेठ २०८१ २०:२९
10
SHARES
यू-१५ विद्यालय खेलकुदमा ३८ स्वर्णका लागि प्रतिस्पर्धा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्, गण्डकी संयुक्त आयोजनामा पोखरामा बुधबार सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन समारोहमा सहभागी गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत। तस्बिर : विजय नेपाल

पोखरा– राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्, गण्डकी संयुक्त आयोजनामा पोखरामा ‘यू-१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८०’ सुरु भएको छ। पोखरा रंगशालामा बुधबार दिउँसो एक समारोहबीच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिता उद्घाटन गरे।

उनले खेल र खेलाडीका विषयमा प्रदेश सरकार सकारात्मक रहेको बताए। ‘प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडि बढिरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टू ओलम्पियन’ कार्यक्रम गरिरहेको उनले बताए। कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापालगायतले प्रतियोगिता सफलताको कामना गरे।

प्रतिस्पर्धा एथ्लेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सातै प्रदेशका छात्रछात्राले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि हुनेछ।

प्रतियोगितामा ७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) ले भाग लिएका हुन्। हरेक प्रदेशबाट ७६ खेलाडी, ७ प्रशिक्षक र ७ जना टिम म्यानेजर सहभागी भएको प्रदेश खेलकुद परिषद् गण्डकी सदस्यसचिव श्रीधर शर्माले बताए।

उद्घाटनमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीको मार्चपास, पञ्चेबाजा, ब्यान्डलगायत प्रस्तुत गरिएको थियो। प्रतियोगिता बिहीबारसम्म चल्नेछ।

प्रकाशित: ३० जेठ २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =