खेती किसानी

सजिलो छैन जुम्लाबाहिर मार्सी उत्पादन

रमेश भारती ३१ जेठ २०८१ ८:१७
70
SHARES
सजिलो छैन जुम्लाबाहिर मार्सी उत्पादन जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलोमा मार्सी धान रोप्दै किसान। फाइल तस्बिर : रासस

काठमाडौँ-  सरकारले जुम्ली मार्सी धान उत्पादन बढाउने योजना अघि सारेको छ।

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सीको माग बढेपछि अन्य जिल्लामा उत्पादन गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए।

उनका अनुसार सम्भाव्यता क्षेत्रको पहिचान गरी केही ठाउँमा मार्सी धान उत्पादन गर्न थालिएको छ। ‘मार्सी धान जुम्लाबाहिरका हिमाली जिल्लामा पनि उत्पादन बढाउने काम भइरहेको छ’, उनले भने।

मार्सी चामलको माग नेपाल र विदेशी बजारमा पनि बढिरहेकाले उत्पादन बढाउन लागिएको हो। सरकारले उत्पादन बढाउन योजना ल्याए पनि पाँच वर्षयता मार्सी धानको उत्पादन वार्षिक दुई हजार मेट्रिक टनभन्दा बढी हुन नसकेको मन्त्रालयको तथ्यांक छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पनि जुम्लाबाहिरका जिल्लामा मार्सी धान उत्पादनका लागि अनुसन्धान गरिरहेको छ। तीन वर्षयता लमजुङको उच्च पहाडी क्षेत्रमा मार्सी धानखेती सुरु गरिएको नार्कका प्रवक्ता डा. लुमानिधि पाण्डे लौडारीले जानकारी दिए। उनका अनुसार जुम्लामा जस्तो उत्पादन भएको छैन। लमजुङमा तीन वर्षको अवधिमा ५० मुरी मार्सी धान उत्पादन भएको छ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले स्थानीय सरकारको स्रोतसाधनले भ्याएसम्म मार्सी धान उत्पादन बढाउने र संरक्षण गर्ने नीति लिएको बताए। उनका अनुसार संघीय र प्रदेश सरकारले सहयोग नगर्दा मार्सी उत्पादनमा समस्या छ। मार्सी धान उत्पादनका लागि आवश्यक प्राविधिक समस्या हुँदा किसान मारमा परिरहेको उनले बताए। ‘गाउँपलिकाले मार्सी धान उत्पादन वृद्धिका लागि किसानलाई सामान्य अनुदान र मार्सी धान उत्पादन पकेट क्षेत्रसमेत घोषणा गरेको छ। अहिलेसम्म केन्द्रीय र प्रदेश सरकारले मार्सी धान उत्पादन वृद्धिका लागि योजना घोषणा मात्र गर्छन्। बजेट दिएका छैन’, उनले भने। मन्त्रालयका सचिव मिश्र भने मार्सी धान उत्पादनका लागि तीनै तहका सरकारबीच समन्वय भइरहेको दाबी गर्छन्।

अध्यक्ष सिंहका अनुसार मार्सी धान अन्य धानजसरी उत्पादन बढाउन सजिलो छैन।  पानी, मल र प्रविधिको  उचित संयोजन हुनुपनर्ने उनले बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो। त्यसमा मार्सी धान दुई हजार १६७ मेट्रिक टन छ। आर्थिक २०७७/७८ मा जुम्लामा १ हजार ५ सय मेट्रिक टन, २०७८/८९ मा १ हजार ७ मेट्रिक टन र २०७९/८० मा १ हजार ८ सय ५५ मेट्रिक टन धान उत्पादन भएको थियो।

काठमाडौँमा ४ सय रुपैयाँ प्रतिकेजीसम्ममा मार्सी चामल बिक्री हुँदै आएको छ। जुम्लाका किसानबाट प्रतिकेजी १३५ रुपैयाँमा खरिद गरेर ल्याउने गरेको व्यापारीहरू बताउँछन्। नेपालमा वार्षिक १५ करोडभन्दा बढीको मार्सी चामल व्यापार हुने कृषि मन्त्रालयको अनुमान छ।

मार्सी धान नेपाल, भुटान, भारत, पाकिस्तानलगायत देशका हिमाली क्षेत्रमा मात्र उत्पादन हुन्छ। नेपालमा उत्पादन हुने मार्सी धान अन्य देशको भन्दा गुणस्तरीय रहेको धानविज्ञ राजेन्द्र उप्रेती बताउँछन्। उनले भने, ‘संसारमा रातो चामल हुने धानको प्रजाति १० भन्दा बढी छैन। जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो।’ जुम्ली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ। ‘बिउ राखेको समयदेखि गणना गर्ने हो भने धान उत्पादन हुन किसानले १० महिना श्रम गर्नुपर्छ। जुम्ली मार्सी प्रांगारिक रुपमै उत्पादन हुन्छ’, उप्रेतीले भने।

मार्सी चामल अन्य चामलको तुलनामा स्वादिलो, आडिलो र स्वस्थकर मानिन्छ। यसको चामलमा प्रोटिनको मात्रा बढी हुने धानविज्ञहरू बताउँछन्। मार्सी धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि खान उपयोगी हुने विभिन्न अध्ययनले देखाएका छन्।

मार्सी धान चैतदेखि रोप्न सुरु हुन्छ। चैतमा रोपेको मार्सी धान कात्तिकमा काटिन्छ। जुम्लाका चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट र पातारासी गाउँपालिकाको छुमचौरमा स्थानीय कालीमार्सी र राती मार्सी धान उत्पादन हुने गरेको छ। जुम्लाको ३ सय हेक्टरमा मार्सी धान खेती हुने गरेको छ। भण्डारण गर्न सजिलो मार्सी धान प्रतिहेक्टरमा २.१ टनसम्म फल्ने गरेको छ।

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस
प्रकाशित: ३१ जेठ २०८१ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =