नक्सालको ढुंगेधारा ब्युँताउँदै महानगर

हिमाल प्रेस २९ जेठ २०८१ ११:२५
4
SHARES
नक्सालको ढुंगेधारा ब्युँताउँदै महानगर

काठमाडौँ- नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुंगेधारा (गाःहिटी) काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गर्ने भएको छ।

महानगरपालिकाले पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनर्निर्माण गर्ने समस्या समाधान गरेर पुनर्निर्माण गर्ने भएको हो।

समस्या पहिचान गर्ने क्रम गएको वर्ष २०८० असोज महिनाबाट सुरु भएको हो। त्यस बेला महानगरपालिकाका प्रमुख शाह (बालेन) हिटी आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गरेका थिए।

वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन ढुंगेधाराको संरचना जल सम्पदाको पुनरुत्थान हुनेछ।

‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ।’

प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए। ‘निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो,’ शाक्यले योजना सुनाए।

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ।

यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटी भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ। ढुंगेधाराको पानीको मुहान सुकेको छ।’

यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ। यो विवरणले विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको देखाउँछ। वडा नं। १ का सचिव सर्वज्ञराज पौडेल स्थलगत अवस्था सुनाउँदै भन्छन्, ‘ढुंगेधारा भइकन पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ थियो।’

पुरातत्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन।

धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमूनाको रूपमा रहेको यो गाहिटी (ढुंगेधारा) को रूपमा मात्र नभइ उमामहेश्वर एवं प्राचीन शिवलिंग स्थापना भएको धार्मिक पुण्य स्थलका रुपमा कायम रहँदै आएको थियो।’ भनिएको छ। विवरणमा धार्मिक स्थलका रुपमा कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्ने चाहिँ उल्लेख छैन ।

विवरणमा स्मारकको महत्वका विषयमा भनिएको छ, ‘ढुंगेधाराका मुखलगायत चतुर्मुखी शिवलिंग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।’

हिटीको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ। विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ।

ढुंगेधाराको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकार भन्छन्, ‘धनबज्र बज्राचार्यले ढुंगेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै विसं ६७८ मा स्थापना भएको बताउनुभएको छ।’

हिटीको पुनरुत्थानका लागि विगत प्रयासका बारेमा जानकारी दिँदै ताम्राकार भन्छन्, ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो। मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन। अहिले काम भएको हो।’

प्रकाशित: २९ जेठ २०८१ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =