काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने दाबी गरेका छन्। भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने बताएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने भनाइ प्रचण्डको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा गएका थिए। भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको संंज्ञा दिए।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान नपुगेको स्वीकारोक्ति प्रधानमन्त्रीको थियो।