शिक्षक सरुवा : केन्द्रले पठायो शिक्षा मन्त्रालय, एकाइ र स्थानीय तहलाई यस्तो पत्र

हिमाल प्रेस २८ जेठ २०८१ १३:४२
3.1k
SHARES
शिक्षक सरुवा : केन्द्रले पठायो शिक्षा मन्त्रालय, एकाइ र स्थानीय तहलाई यस्तो पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवासम्बन्धी थप स्पष्ट गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, (प्रशासन महाशाखा, योजना तथा अनुगमन महाशाखा, विद्यालय शिक्षा महाशाखा), सबै स्थानीय तह र सबै शिक्षा विकास तथा समवन्वय एकाइलाई पत्र पठाएको छ। केन्द्रको शिक्षक व्यवस्थापन शाखाले हालै जारी भएको शिक्षक निर्देशिकामा उल्लेख भएका विषयका सम्बन्धमा थप स्पष्ट पारेको छ।‍

जसअनुसार शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा ७ को उपदफा १ बमोजिम रिक्त पद विद्यालयले IEMIS मा प्रविष्ट गरी स्थानीय तहले दफा ८ बमोजिम रिक्त पद यकिन गरी IEMIS मा अद्यावधिक भएपश्चात उक्त पद विद्यालयले सरुवाद्वारा वा शिक्षा नियमावली, २०५९ को नियम ९७ बमोजिम करार शिक्षक पद पूर्ति गर्ने हो यकिन गरी सोही अनुसारको प्रक्रिया अगाडि बढाउन केन्द्रले आग्रह गरेको छ।

केन्द्रले सरुवाबाट रिक्त पद पूर्ति गर्नको लागि सरुवासम्बन्धी सूचना जारी गर्नु पूर्व उक्त निर्देशिकाको दफा २१ मा उल्लिखित खुद पुल दरबन्दी, शिक्षक सेवा आयोगमा रिक्त पद पठाएको विवरण, निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा विषयगत कुरा लगायतका विषयलाई समेत ध्यान दिई शिक्षा विकास तथा समन्वय एकाइको अभिलेखसँग भिडाई सूचना जारी गर्न र कुनै अस्पष्टता भए सम्बन्धित विद्यालयका प्र.अ., सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख समेतबाट समन्वय गरी आवश्यक कार्य गर्न पनि अनुराेध गरेकाे छ।

त्यसैगरी शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा १० को उपदफा (३), दफा ११ को उपदफा (२) को प्रयोजनको लागि केन्द्रमा विवरण पठाउँदा [email protected] मा पठाउन र शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी हुनुभन्दा अघि सरुवा भई आउने विद्यालय र स्थानीय तहको सहमति लिई प्रक्रियामा रहेको निवेदनक हकमा केन्द्रबाट यो सूचना जारी भएको मितिले १५ (पन्ध्र) दिनभित्र सरुवा भई आउने एकाइमा निवेदन पेस गरी सक्न र निर्देशिकाको दफा २१ को प्रतिबन्धात्मक आधारलाई समेत विचार गरी प्रचलित ऐन, नियमावली तथा निर्देशिका बमोजिम एकाइबाट आवश्यक निर्णय गर्न केन्द्रद्वारा जारी पत्रमा उल्लेख छ।

पारस्परिक सरुवा सम्बन्धमा शिक्षा ऐन, शिक्षा नियमावली तथा निर्देशिकामा कुनै व्यवस्था उल्लेख नभएको बताउँदै केन्द्रले निर्देशिकाकै आधार र प्रक्रिया बमोजिम सरुवासम्बन्धी कार्य गर्न भनेकाे छ।

निर्देशिकाको दफा ९ को उपदफा (१) सँग सम्बन्धित अनुसूची १ मा उल्लेख भएको व्यवस्थाको हकमा सरुवा हुन चाहेको विद्यालय एउटै स्थानीय तहको भए हाल कार्यरत विद्यालयको सहमति, एउटै जिल्लाभित्रको फरक स्थानीय तह अन्तर्गतका विद्यालय भए आफू कार्यरत विद्यालय र कार्यरत विद्यालय रहेको स्थानीय तहको सहमति र सरुवा भई जाने विद्यालय अर्को जिल्ला अन्तर्गतको विद्यालय भए हाल कार्यरत विद्यालय, विद्यालय रहेको स्थानीय तह र कार्यरत विद्यालय रहेको एकाइको सहमति समेत समावेश गरी अनुसूची १ बमोजिमको ढाँचामा निवेदन पेस गराउन अनुराेध गरिएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =