चितवनमा रगत पाउनै कठिन

हिमाल प्रेस २८ जेठ २०८१ ११:०४
चितवनमा रगत पाउनै कठिन

चितवन- गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्र ल्याइयो। अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन भइरहेको बताए। केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी ९बर्दघाट-सुस्ता पूर्व०मा पुगेर रगत संकलन गर्ने गरेको छ।

विगतका तुलनामा रगत संकलन घट्दो छ। माग बढ्दो छ। उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार १०४ युनिट रगत संकलन गरिएको थियो। केन्द्रमा नै गएर प्रदान गरिएको रगतको युनिट पाँच हजार ८३५ थियो। केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत संकलन गर्ने गरेको थियो। रक्त संकलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ। शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउँछन्। दैनिक सयदेखि १५० युनिटसम्म माग हुन्छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुन्छ।

सङ्कलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ। सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत संकलनमा कमी आएको बताउँछन्।

यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम संकलन हुने गरेको जनाइएको छ। भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा। भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउँछन्।

दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत संकलन गर्नुपर्ने उनी बताउँछन्। विद्यालय, कलेजलगायतका संघ संस्थाको क्यालेण्रमा वर्षका तीनदेखि चार पटक रक्तदान कार्यक्रम राख्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २८ जेठ २०८१ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =