सामुदायिक विद्यालयका ६१ सटरमा महानगरको ताला

हिमाल प्रेस २७ जेठ २०८१ २२:००
42
SHARES
सामुदायिक विद्यालयका ६१ सटरमा महानगरको ताला

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ। कामपा शिक्षा विभाग, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाइएका सटर तथा टहरामा ताला लगाएको हो।

रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका आठ र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। दाहालका अनुसार शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरमा ताला लगाएर चाबी प्रधानाध्यापकलाई बुझाइएको छ।

यसैगरी व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ। ‘कामपाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्’, दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ। विद्यालयले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ।’

महानगर प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले विद्यालयले स्थान अभाव देखाउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको गुनासो गरिरहे पनि आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा नगरेको बताए। रासस

प्रकाशित: २७ जेठ २०८१ २२:००

प्रतिक्रिया

One thought on “सामुदायिक विद्यालयका ६१ सटरमा महानगरको ताला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =