उपन्यासको पात्र आफैँ बहसमा उत्रिएपछि…

माधवप्रसाद नेपाल २७ जेठ २०८१ १९:५६
36
SHARES
उपन्यासको पात्र आफैँ बहसमा उत्रिएपछि… आफ्नो नयाँ उपन्यास 'सन्त्रासमा साठी दिन' का साथ रोशन थापा 'नीरव'। तस्बिरहरू : हिमाल प्रेस

काठमाडौँ– एउटा चलन छ, नयाँ कृति प्रकाशित भएपछि लेखक र प्रकाशकका तर्फबाट चिनेजानेका सबैलाई बोलाएर विमोचन गर्ने, कार्यक्रम सञ्चालकमा नाम चलेका कुनै ‘प्रशंसक’ खटाउने, मञ्चमा बसेका सबैले खादा र माला लगाउने, लेखकलाई दुलहाजसरी सम्बोधन गर्ने, वक्ताले कृतिको दोष पक्षभन्दा प्रशंसाले फूलबुट्टा भरिएका सम्बोधन गरेर लेखक र प्रकाशकलाई खुसी बनाउने, सहभागीलाई पुस्तक किन्न लगाउने र खाजा खाएर बिदा हुने।

अर्को चलन छ, कृतिमाथि विमर्श भनेर कार्यक्रम आयोजना गर्ने, कृतिको राम्रा पक्षको बखान गर्ने, दोष पक्षका बारेमा हतपत्त नभन्ने, भन्नै परेमा बोल्दाबोल्दै लेखकसँग अनुमति माग्ने, सहभागीलाई पुस्तक किन्न लगाउने र खाजा खाएर बिदा हुने।

राजधानीमा शुक्रबार एउटा कार्यक्रम भने यी दुवै चलनभन्दा भिन्न देखियो। कार्यक्रम थियो, रोशन थापा ‘नीरव’ द्वारा लिखित प्रयोगधर्मी उपन्यास ‘सन्त्रासका साठी दिन’ को अनौपचारिक विमर्श। मञ्चमा आसीन थिए, दुईजना। एकजना न्यायमूर्तिका रूपमा र अर्का सभामुख। कार्यक्रम सञ्चालक थिए लेखक आफैँ थिए र बहसकर्ता पनि। अनि इजलासमा दुईजना डाकिए भने २५ जनाजति साक्षी दर्शकदीर्घामा थिए।

कार्यक्रम सुरु गर्दै नीरवले भने, ‘जिम्मेवारीपूर्वक बाँच्दै गर्दा अनागत आक्षेप भोगेर अन्यायमा परेको यथार्थ चित्रण लिई यहाँहरू सबै सुहृत्‌जनको शालीन भेलामा न्यायपरक विमर्शका लागि उभिएको छु, आफ्नो बहसको आफैँ सञ्चालक भएर।’

केही समयअघिसम्म बहस, विमर्श र सभाको एउटा ढाँचाअनुसार कार्यक्रम सञ्चालन गर्न तयार रहेको तर एक्कासि परिवर्तन गर्नुपरेको उनको भनाइ थियो। ‘यहाँ पस्नुभन्दा केही समयअगाडि एक्कासि लाग्यो, यस सञ्चालकभित्र उपन्यासको पात्र बोध भयो र सोच बन्यो- अब ढाँचा अर्को हुनुपर्छ। किनभने यस कृतिका पात्रले आफू निर्दोष हुनुको न्याय मागिरहेको छ।’

सोही कारण कार्यक्रमको ढाँचा परिवर्तन गर्न अनिवार्य भएको र परिवर्तन गरिएको ढाँचामा विमर्श सञ्चालन गर्न उभिएको उनले बताए। अनि नीरवले मञ्चमा बोलाए शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेललाई सभामुखको भूमिकामा। मुख्य अतिथिका रूपमा आसन ग्रहण गराए नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई। नीरवले सुवेदीलाई दिएको जिम्मेवारी थियो, न्यायमूर्ति जसरी रहेर बहसमाथि आफ्नो निर्णायक विचार दिने।

कृतिका बारेमा कसले समीक्षा गर्दैछ भनेर नीरवले स्पष्ट केही बताएनन्। उनले यतिमात्रै भने, ‘विमर्श इजलासमा कृतिगत विषयजन्य बहसका लागि कृतिको रचनाभूमिमा रचनाकारको स्थिति र त्रासदी क्षणको नजिकबाट अनुभव गर्नुहुने निकट प्रत्यक्ष प्रथम श्रोता एवम् मित्रवत् साथी एक व्यक्ति हुनुहुन्छ भने कृति विमर्शको पैरवीका लागि राष्ट्रिय देशकाल परिस्थितिका साथ पाश्चात्य चेतनाबाट अभिव्यक्त अधिवक्तामूलक मन्तव्य दिने कृतिका प्रखर समीक्षक हुनुहुन्छ।’

दुवैलाई बहसमा आख्यानगत पात्र र आख्यानबारे मन्तव्यका लागि सहभागी गराइएको उनले जानकारी दिए। उनले वक्ताको नाम मन्तव्यका क्षणमा बोलाउने स्पष्ट पारे। नीरवले भेलामा उपस्थित सबै विशिष्ट अतिथिजनलाई बहसकोे साक्षीका रूपमा आसन ग्रहण गराएका थिए।

संक्षिप्त स्वागत मन्तव्यका क्रममा नीरव आफैँले यतिमात्रै भने, ‘अबको केही समय अर्थात् लगभग एक घण्टा यस बहस विमर्श कार्यक्रमको अवधि हुनेछ। यसैले म छिटोमा म यहाँ उपस्थित सबै महानुभावलाई एकमुस्ट स्वागत गर्दछु- स्वागत-स्वागत-सुस्वागत!’

स्वागत मन्तव्यपछि पालो आयो लेखकको स्वकथन अर्थात् पुस्तकबारे लखकीय वक्तव्य। उनले संक्रमणकालीन समयभित्र एउटा संस्था जटिल अवस्थामा रहेको बताए। त्यही जटिलताभित्र पाठक एक्लो रहेको उनको भनाइ थियो। त्यसपछि उनले दर्शकदीर्घामा प्रश्न तेस्र्याए, ‘तपाईँहरूको जीवनमा नखाएको विष लाग्यो भने के हुन्छ? जीवनमा कहिल्यै नगरेको अपचलनको दोष तपाईँमाथि लगाइयो भने के गर्नुहुन्छ? तपाईँहरू के गर्नुहुन्छ, यो त मलाई थाहा भएन। तर यिनै प्रश्नको उत्तरका रूपमा मेरो उपन्यास कृति भएको कुरा यहाँहरू समक्ष राख्दछु।’

नीरवले आफ्नो कृतिबारे यति बताएर विमर्श कार्यक्रम आरम्भ गर्न ‘माननीय न्यायमूर्ति’ डा. धनप्रसाद सुवेदीलाई अनुमति प्रदान गरे। सुवेदीले ब्यानरको व्यहोरा पढेर विमर्श कार्यक्रम आरम्भ गरेका थिए।

पालो आयो अतिथि मन्तव्यको। ‘कृतिको प्रथम श्रोता मित्रवत् साथीका रूपमा संक्षिप्त गवाही मन्तव्य दिनका लागि साहित्यकार मित्र सन्ध्या पहाडीलाई आग्रह गर्दछु’, नीरवले बोलाए।

पहाडीले कृतिका बारेमा बोल्नुअघि मुटु नै काँपेको बताइन्। उनले भनिन्, ‘माइकमा धेरैपटक बोलिया छ तर आजको कार्यक्रम प्रयोगधर्मी लेखकले गरेको एउटा प्रयोगजस्तो कार्यक्रम हो। उहाँले इजलासमा भन्नुभएको छ, गवाहीमा भन्नुभएको छ। त्यसैले अलिक मुटु काँपेजस्तो लागेको छ।’

पहाडीले नीरवसँगको ३० वर्षअघिदेखिको मित्रताको प्रसंग सुनाइन्। उनले नीरव केही समयअघि विचलित भएको र त्यही बेला उपन्यासको जन्म भएको जानकारी दिइन्। पहाडीले नीरवको व्यक्तित्वका केही पाटा कोट्याउँदै भनिन्, ‘उहाँ अलिक अन्तरमुखी हुनुहुन्छ। त्यो स्वभावलाई अरूले घमण्डी पनि भन्ने गरेको पाइन्छ। स्वाबलम्बी हुनुहुन्छ, धेरैतिर दौडिन हुन्न।’

उपन्यास नदेखिएको पाटोमा केन्द्रित रहेको पहाडीको भनाइ थियो। उनले भनिन्, ‘उपन्यास जल्दोबल्दो र सामयिक विषयमा आधारित छ। हामीमध्ये कोही न कोही सहकारीबाट पीडित छौँ। सहकारीका बचतकर्ता मात्रै होइन, सञ्चालक पनि पीडित छन्। यिनै कुरालाई उपन्यासले देखाएको छ।’ प्रस्तुत किताब पढ्दा संघर्ष नै जीवन हो, संघर्षले मानिसलाई माथि पुर्‍याउँछ भन्ने सन्देश पाइने पहाडीले बताइन्।

त्यसपछि नीरवले संक्षिप्त गवाही मन्तव्य दिन बोलाए समालोचक महेश पौडेललाई। कार्यक्रमको मुख्यवक्ता रहेका उनले सुरुमै भने, ‘रोशन थापा नीरवलाई आजदेखि सरलकुमार भन्न पाइन्छ भन्ने मेरो दाबी र पैरवी छ।’

गवाही मन्तव्य दिँदै महेश पौडेल।

पौडेलले कृतिभित्रको प्रयोगधर्मिताबारे छोटो मन्तव्य दिए। उनले भने, ‘कृतिको प्रमुख पात्रको नाम सरलकुमार भनिएको छ। त्यो सरलकुमार भनेका रोशन थापा ‘नीरव’ हुन्। जीवनमा न सास फेर्न सरल भएको छ, न जीवन धान्न सरल भइरहेको छ। न आफ्ना कुरा कहीँ राख्न पाउनु छ। न जीवनमा अगाडिको सरलता देखिन्छ न पछाडिको सरलता देखिन्छ।’

उनले सरलकुमारलाई कसरी फसाइयो भन्ने चर्चा पनि गरे। पौडेलले भने, ‘सरलकुमार कानुन तोड्दैन। लालबत्तीमा उभिन्छ। राजस्व तिरेकै छ। तर यसरी फसेको छ। उसको जाने ठाउँ छैन। प्रहरीले खेदो गरेपछि सरलकुमारलाई आफन्तले कतै अज्ञातवासमा लगेर लुकाएका छन्।’

पौडेलले त्यही अज्ञातवासमा ६० दिन कसरी बित्यो भन्ने कुराको नालीबेली उपन्यासमा रहेको चर्चा गरे। यस क्रममा उनले किर्केगाड, काफ्का र सार्त्र अनि ध्रुवचन्द्र गौतमको नाम लिएर नीरवलाई त्यही सूचीमा राखे।

पौडेलले भने, ‘रोशनको लेखन सरल छैन। आख्यानमा परम्परित ढाँचा छैन। धेरै ठाउँमा नोस्टालजियाको प्रयोग छ। कथाबाटै पात्रहरू उत्रिएर कुराकानी गर्न आइपुग्छन्।’ यसैगरी उपन्यास बुँदामा लेखिएको र संवादको धेरै प्रयोग भएको उनले बताए। उनले भने, ‘कतिपय संवाद सरलकुमार र सरलकुमारको अर्को रूपबीच भएको छ। कुनै सन्दर्भमा सरलकुमार आफैँ आएर पाठकसँग सम्बोधन गर्छ। समाख्याता आफैँ पाठकसँग संवाद आइपुग्छ। विषयवस्तुमा गहिरो कल्पना छ। घटनाको पूर्वसंकेत देखाइएको छ।’

न्यायमूर्तिकाका रूपमा रहेका डा. सुवेदीले उपन्यासको पात्रको नाम सरलकुमार अनि लेखकको बानीव्यवहार पनि सरल रहेको तर उपन्यास सरल नरहेको बताए। उनले भने, ‘एकखालको प्रयोगधर्मी उपन्यास हो यो। प्रयोगधर्मी अस्तित्ववादी उपन्यास लेख्ने लेखक हुन् रोशन। पूर्वपश्चिमका ज्ञानविज्ञानका कतिपय कुरा नबुझी उपन्यास बुझ्न सकिँदैन।’ सुवेदीले नेपाली उपन्यास परम्परामा महत्त्वपूर्ण कृति आएको बताए।

न्यायमूर्तिका रूपमा निर्णय सुनाउँदै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी।

‘न्यायिक’ निर्णय सनाउँदै सुवेदीले भने, ‘नेपालीमा करिबकरिब तीन हजार उपन्यास होलान्। त्यसमध्ये १५ सय उपन्यास नपढे पनि हुन्छ। आधा उपन्यास सिरानमा, बीचमा र अन्त्यमा मात्रै पढे हुन्छ। चार-पाँच सय उपन्यासचाहिँ पढ्दा राम्रै हुन्छ। पढ्नुपर्नेमध्ये उपन्यास हो, ‘सन्त्रासका साठी दिन’। यो उत्कृष्ट १० उपन्यासभित्र पनि आउन सक्छ। नेपाली उपन्यास परम्परामा राम्रो कृति आएको छ।’

अन्तिममा नीरवले अक्षरको अदालतमा आफूले सफाइ पाए पनि उता लडाइँ बाँकी रहेको बताए। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै भने, ‘यहाँहरूजस्तै केही सीमित हितैषी हुनुहुन्छ त मलाई बाँच्ने रहर लागेको हो। म भीडको एक्लो मान्छे हुँ। मलाई भीडको सौन्दर्य मन पर्छ। तर एक्लो छु। भीडका सीमित मान्छे मेरा शक्ति हुन्। म यसमा एकदमै खुसी पनि छु।’

५६ मिनेटमा सकिएको कार्यक्रमको समापन सभामुखका आसनमा रहेका पुष्पराज पौडेलले गरेका थिए। पुस्तकको प्रकाशन शिखा बुक्सले गरेको हो।

नीरवका यसअघि कथासंग्रहहरू अन्तहीन युद्ध (२०५७), तेस्रो विश्वयुद्ध (२०६२), असह्य (२०७०) र कोष्ठकभित्र हाँसो (२०७७) प्रकाशित छन्। यसैगरी प्रत्येक श्रवणकुमार अर्थात् युद्ध (२०६४), प्रस्थान्तर (२०६५), स्वप्नसहर (२०६६), आवाजहरूको जंगलभित्र (२०६९), अनि अभिमन्यु…(२०७१) उनका प्रकाशित उपन्यास हुन्।

कार्यक्रमका सहभागीहरू। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =