व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिने नेपाली बढे

रमेश भारती २७ जेठ २०८१ १६:३६
64
SHARES
व्यक्तिगत श्रम स्वीकृतिमा बिदेसिने नेपाली बढे त्रिभुवन विमानस्थलको प्रस्थान कक्ष नजिकै देखिएको भीड। फाइल तस्बिर

काठमाडौंँ– म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्न थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा म्यानपावर कम्पनीबाट विदेश जाने नेपालीको संख्या ६ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको वैशाखमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा ३ लाख १९ हजार ५ सय ५५ कामदार गएका थिए। चालु आवको सोही अवधिमा ३ लाख १७२ जना कामदार म्यानपावरमार्फत वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ। गत वर्षको भन्दा चालु आवमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १९ हजार ३८३ कम हो।

गत आर्थिक वर्षमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ६७ हजारले घटेका थिए। गत वर्ष सात लाख ८० हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये ३ लाख ९७ हजार कामदार म्यानपावरमार्फत र व्यक्तिगत रूपमा ३ लाख ५६ हजार बिदेसिएको विभागको तथ्यांक छ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २ लाख ३८ हजार नेपाली व्यक्तिगत भिसामा ५७ देशमा रोजगारीका लागि गएका छन्। गत आर्थिक वर्षको यही अवधिमा २ लाख २७ हजार नेपाली व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा गएका थिए।

विभागका अनुसार केही वर्षयता व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। सोही कारण पनि संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए। कोभिड संक्रमण अन्त्यसँगै संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्न थालेको थियो। ‘इजरायल–हमास युद्धपछि खाडी देशमा देखिएको समस्या र त्यसको त्रासका कारण पनि बिदेसिनेको संख्या घटेको हो। पछिल्लो समय आर्थिक मन्दीले रोजगारदाता देशबाट कामदारको माग कटौती हुन थालेको छ।’

मलेसियाले जुनदेखि अनिश्चित समयका लागि विदेशी कामदार रोजगारीका लागि नलिने घोषणा गरिसकेको छ। आगामी वर्ष संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या अझ घट्ने सरकारी अनुमान छ।

‘ ऐन परिवर्तनका कारण माग घट्यो’

रोजगार व्यवसायीहरूले रोजगारदाता देशबाट आउने कामदारको माग घट्नुको मुख्य कारण सरकार र वैदेशिक रोजगार ऐन परिवर्तन रहेको आरोप लगाएका छन्। कोभिडलगत्तै मलेसिया र खाडीका देशबाट कामदारको माग धेरै आएको थियो।  वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष कुमद खनालले खाडी र मलेसियाबाट श्रमिकको मागमा कमी आएको बताए। उनले भने, ‘केही व्यक्तिले आफ्नो स्वार्थका लागि वैदेशिक रोजगार ऐन परिवर्तन गर्दा त्यसको असर रोजगारदाता कम्पनीसम्म परेको छ।’

उनको बुझाइमा रोजगारदाता कम्पनीले नेपालमा सरकार परिवर्तन भएपिच्छे नीति फेरिन्छ भनेर चासो राख्छन्। त्यसपछि केही समय नेपालको माग रोकिन्छ। ‘यसै आर्थिक वर्षमा मात्र माग प्रमाणीकरण ऐन दुई पटक संशोधन भयो। अभिमुखीकरण तालिम त्यस्तै भयो। वैदेशिक रोजगारी क्षेत्रमा यो समस्या सरकार फेरिएपिच्छे हुन्छ’, उनले भने।

सरकारले वैदेशिक रोजगारी नीतिमा एकद्वार प्रणालीमार्फत काम नगरेसम्म यस क्षेत्रका समस्या समाधान नहुने उनले बताए। चालु आर्थिक वर्षको वैशाखसम्ममा २ लाख ८० हजारभन्दा बढी नेपाली व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।

कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये २ सय ५१ वटाले एकजना पनि श्रमिक विदेश पठाउन सकेका थिएनन्। तीन वर्षयता कामदार पठाउने नसकेपछि सयभन्दा बढी म्यानपावर बन्द भएका थिए।

कतार, मलेसिया, साउदी अरब, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देश नेपाली कामदारको प्रमुख श्रम गन्तव्य देश हुन्। नेपालबाट संस्थागत ११० र व्यक्तिगत १७९ देश जाने कामदारका हकमा श्रम स्वीकृति खुला गरिएको छ। संस्थागत र व्यक्तिगत यति धेरै देशमा जाने कामदारका हकमा श्रम स्वीकृति खुलाइए पनि संस्थागत ४१ र व्यत्तिगत ५७ देश नेपाली कामदार रोजगारीको खोजीमा बिदेसिने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =