सामुदायिक वनमा गम्भीर लापरबाही : चारकोसेको रूख काटेर खनियो पोखरी

विवेक विवश रेग्मी २७ जेठ २०८१ १३:४०
88
SHARES
सामुदायिक वनमा गम्भीर लापरबाही : चारकोसेको रूख काटेर खनियो पोखरी

इटहरी- इटहरी-२० स्थित हाँसपोसा सामुदायिक वन क्षेत्रमा गम्भीर लापरबाही भएको पाइएको छ। हाँसपोसा सामुदायिक वन क्षेत्रमा पर्ने ५५ वटा रूख मासेर पोखरी निर्माण गरेको पाइएको हो। पोखरी निर्माणका लागि भनेर रूख कटान भएको पाइएपछि सव डिभिजन वन कार्यालयले कारबाहीको प्रक्रिया थालेको जनाएको छ।

खासगरी चुरे उत्थानशीलबाट चराचुरुङ्गीका लागि पानी जम्मा गर्न पोखरी निर्माण गर्ने भनी पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो। सोही रकमबाट पोखरी निर्माण गर्ने भन्दै रूख कटान गरिएको पाइएपछि घटना बाहिरिएको हो।

तरहरा सव डिभिजन वन कार्यालयका वन अधिकृत दिनेशप्रसाद यादवका अनुसार एउटै रूख नकाट्ने भनिएपनि रूख र बिरुवा गरी ५५ वटा कटान भएको छ। ‘एउटै रूख नकाट्ने भनिएको थियो। वन ऐनविपरीत लापरबाही भएको पाइएको छ,’ उनले भने, ‘हामी मुद्वाको प्रक्रियामा छौँ। अब कारबाहीको प्रक्रिया अगाडि बढ्छ।’

उनका अनुसार घटना जेठ २१ र २२ गतेको हो। हाँसपोसा सामुदायिक वनकी कार्यबाहक अध्यक्ष गोमा विश्वकर्मासहितका पदाधिकारीहरूले वन क्षेत्रमा पोखरी निर्माणको प्रक्रिया सुरु गर्दा लापरबाही र वन ऐनविपरीत रूख कटान गरेको यादवले जनाए। जुन दिन पोखरी निर्माण गर्ने भनेर रूख कटान गरियो। त्यही दिनबाट बिरुवा र रूख कटान गरिएको सव डिभिजन वन कार्यालय तरहराको भनाइ छ।

यता, कार्यबाहक अध्यक्ष विश्वकर्माले भने चुरे उत्थानशीलबाट बजेट आउने भएपछि पोखरी निर्माणको प्रक्रिया अगाडि बढाएको तर अशावधानीवश त्रुटि भएको बताउँछिन्। उनका अनुसार जेसीबी लगाएर पोखरी निर्माण गर्ने क्रममा रूखहरूमा क्षति भएको थियो।

‘हामीले पोखरी निर्माण गर्ने क्रममा त्रुटि भएको हो। जानाजान वनका रूख कटान गरिएको होइन’ उनले भनिन्। सुनसरी जिल्ला वन कार्यालयका वन अधिकृत धर्मानन्द यादवका अनुसार रूख कटानमा संलग्नहरूलाई कारबाही गरिने बताए। उनका अनुसार हाँसपोसा सामुदायिक वनकी कार्यबाहक अध्यक्ष गोमा विश्वकर्मासहित केही पदाधिकारीहरूलाई नियन्त्रणमा लिइएको छ।

‘हामीले उहाँहरूलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेका छौँ,’ उनले भने, ‘यो घटनामा कोही पनि उम्कन पाउँदैन। हामीले सोहीअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ।’ उनले वन ऐन २०७६ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। हाँसपोसा सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरी विदेश भ्रमणमा रहेको समयमा उक्त घटना भएको उपभोक्ताहरू बताउँछन्। यसअघि गत फागुनमा सोही सामुदायिक वन क्षेत्रबाट काठ तस्करीको घटनासमेत बाहिरिएको थियो।

अहिले पोखरी निर्माणका लागि भनेर जथाभावी रूख कटान गरिदाँ त्यस क्षेत्रका रूखहरू क्षतविक्षत अवस्थामा छन्। उपभोक्ताहरूले भने सामुदायिक वनका पदाधिकारीहरूले वन क्षेत्र संरक्षण गर्नुपर्ने भएपनि त्यहीँ भित्रबाट वन क्षेत्र ‘असुरक्षित रहेको’ आरोपसमेत लगाउँदै आएका छन्।

‘सामुदायिक वनको चुनावमा तँछाडमछाड हुन्छ। तर, वन संरक्षण भन्दापनि विनाश मात्र भइरहेको छ,’ एक उपभोक्ताले भने, ‘वन क्षेत्रमा हुने विभिन्न चोरी, निकासी, तस्करी लगायतमा पनि सामुदायिक वन र सव डिभिजन वन कार्यालयले चासो दिएको पाइदैँन।’

प्रकाशित: २७ जेठ २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =