रोकिए माधव नेपाल, कांग्रेसलाई धक्का

हिमाल प्रेस २७ जेठ २०८१ ९:३५
116
SHARES
रोकिए माधव नेपाल, कांग्रेसलाई धक्का नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारको विकल्प खोज्ने नेपाली कांग्रेसको कसरतमा संलग्न रहेको एकीकृत समाजवादी तत्कालका लागि रोकिएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनमै रहनेमा प्रस्ट गरेपछि विपक्षी दलहरूको वैकल्पिक सरकार गठनको कसरत धकेलिएको हो।

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन बदल्दा आफूसँग पर्याप्त छलफल नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ‘मन दुखाएका’ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल युटर्न भएका छन्। विभिन्न प्रदेशमा सम्मानजनक सहभागिता, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वजस्ता विषय प्रचण्डकै कारण प्राप्त भएको भन्दै अध्यक्ष नेपालले पार्टी बैठकमा प्रचण्डको प्रशंसा गरेको उनी निकट एक नेताले हिमालप्रेसलाई जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा पनि अध्यक्ष नेपालले अब आफूहरू प्रस्टसँग वर्तमान सत्ता गठबन्धनमा रहेर अगाडि बढ्ने बताए। कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले मधेश प्रदेशमा मुख्यमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको नेपालको  भनाइ थियो।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डको भूमिका सकारात्मक रहेको बताए। उनले भने, ‘कमरेड प्रचण्डको भूमिका सकारात्मक रूपमा लिएका छौँ। उहाँले मधेश प्रदेशको बारेमा एकजना मन्त्री थप्ने भूमिकामा, बागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिलाउन सहयोग गर्नुभयो।  उहाँले खेलेको भूमिका सकारात्मक छ।’

कांग्रेसलाई धक्का

एकीकृत समाजवादीले कांग्रेससँग समेत निरन्तर संवाद जारी राखेपछि वैकल्पिक सरकार गठनको प्रयासमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सक्रिय भएको थियो।
कांग्रेसको चाहनाअनुसार वैकल्पिक सरकार गठनको प्रयासमा लागेको एकीकृत समाजवादी तत्कालका लागि अडिएपछि प्रदेश सरकार हेरफेरमा समेत सहजता भएको नेताहरू बताउँछन्।

संघीय सत्ता गठबन्धनअनुसार अगाडि बढ्ने विषयमा आफूहरूमाथि अब शंका गर्न आवश्यक नरहेको बताउँछन् समाजवादीका अध्यक्ष नेपाल। आफूहरू मधेश प्रदेशमा सत्ता गठबन्धनको निर्णयमा सहमत हुनु नै यसको आधार भएको उनको भनाइ छ।

अध्यक्ष नेपालले कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने जवाफ दिएको उनको सार्वजनिक अभिव्यक्ति छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा सहभागी अध्यक्ष माधवकुमार नेपाललगायत। तस्बिर : हिमाल प्रेस

‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री लिन प्रस्ताव आयो। पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् भनेर’, नेपालले अगाडि भने, ‘मुख्यमन्त्री लिन भनेर बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आएको थियो। केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले जबाफ फर्कायौँ।’ मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थनमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएका छन्।

सुदू्रपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन्। सोडारी एमाले, माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री लिएर पनि एकीकृत समाजवादी वैकल्पिक सरकार गठनको कसरतमा रहेको भन्दै एमालेले सुदूरपश्चिम प्रदेशमा मन्त्री पठाएको छैन। परिणाममा एकीकृत समाजवादीले प्रदेश सरकारलाई पूर्णता दिन सकिरहेको छैन्।

एकीकृत समाजवादीका नेताहरू वैकल्पिक सरकार गठनको कसरतमा नरहेकाले छिट्टै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने बताउँछन्। नेताहरूका अनुसार पार्टीभित्रको अन्तरविरोध र भावी राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले तत्कालका लागि वर्तमान सत्ता गठबन्धनमै रहेर संघर्ष गर्ने नीति लिएका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनको बैठकमा गएर राजनीतिक तरंग ल्याएका नेपाल तत्कालका लागि नेकपा एमाले–माओवादी गठबन्धनमै रहने भएपछि वैकल्पिक सरकार गठनको प्रयास तत्कालका लागि टरेको नेताहरू बताउँछन्।

गत आइतबार सार्वजनिक कार्यक्रममार्फत एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने बताएका थिए।

अध्यक्ष नेपालले सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन चाहेको बताए। तर सरकारमा कुनै असमझदारी नबनाउन आफूले कांग्रेस नेताहरूको बैठकमा जानुअगाडि प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताएका थिए। प्रधानमन्त्री प्रचण्डले पनि अध्यक्ष नेपाल आफूसँग सल्लाह गरेर विपक्षी दलहरूको बैठकमा गएको बताएका थिए।

अघि बढाइँदै समाजवादी मोर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल नजिकिएपछि नेताहरू समाजवादी मोर्चालाई अगाडि बढाउने कसरतमा लागेका हुन्। अध्यक्ष नेपालले नै समाजवादी मोर्चा पुनःगठन गरेर अगाडि बढ्ने बताएका छन्।

‘समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ। हामी छिटै अर्को समाजवादी मोर्चा, समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ’, अध्यक्ष नेपालले भने। वातावरण सहज बनाउन समाजवादी मोर्चाका संयोजक विप्लवको दौडधुपसमेत बढेको छ।

२०८० साल असार ४ गते चार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको सहभागितामा समाजवादी मोर्चा गठन भएको थियो। मोर्चाबन्दी गरेका यी चार दलभित्रकै एक जसपा नेपाल वैशाख २४ गते विभाजित भएको छ।

जसपा विभाजनको आरोप मोर्चाकै शीर्ष नेतामाथि लागेपछि यसको भविष्यलाई लिएर कतिपयले प्रश्न उठाइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले पुनः अगाडि बढ्ने बताएका हुन्।

मोर्चाका विप्लवले गत बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए। भेटमा मोर्चालाई पुनः सक्रिय बनाउन छलफल गरेका थिए। तर उनको प्रस्तावलाई उपेन्द्र यादवले सीधै नकार्दै यसको औचित्य सकिएको बताएका थिए।

निर्वाचन आयोगले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता गरेपछि सर्वोच्च अदालतमा अध्यक्ष यादवले रिट दायर गरेका छन्। उनको रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले दल दर्तासम्बन्धी निर्णय प्रक्रिया यथास्थानमा राख्न निर्देशित गरेको छ।

घोषणा हुँदा समाजवादी मोर्चामा रहेका दलहरूसँग प्रतिनिधिसभामा ५५ सिट थियो। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा १० सिट रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, १२ सिट रहेको उपेन्द्रको जसपासहित २२ सांसद आफू मातहत ल्याएर आफ्नो दलको ३२ सांसदसहित ५५ सांसद आफ्नो पक्षमा सुनिश्चित गरेका थिए। जो सरकार बनाउनका निम्ति महत्त्वपूर्ण थियो। यसलाई देखाएर समेत प्रधानमन्त्री प्रचण्डले तत्कालीन सत्ता सहयात्री दल नेपाली कांग्रेससँग बलियो बार्गेनिङ गर्ने गरेको नेताहरूको टिप्पणी छ।

कांग्रेससँगको सत्ता सहयात्रापछि सुस्त भएको र फेरि उठाउन खोजिएको समाजवादी मोर्चामा पुनः ५५ सिट भने नरहने अवस्था छ। किनभने १२ सिटको जसपा फुटेको छ। अशोक राईको नेतृत्वमा रहेको पार्टी भने समाजवादी मोर्चाप्रति सकारात्मक छ। यो दलसँग सात सांसद छन्। यसअनुसार फेरि समाजवादी मोर्चा अगाडि बढे मोर्चामा रहेका दलहरूसँग प्रतिनिधि सभामा ५० जना सांसद रहनेछन्।

प्रचण्डको पिछलग्गु भएर अस्तित्व बचाइरहेका माधव नेपाल

प्रकाशित: २७ जेठ २०८१ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =