कोशी सरकारविरुद्धको रिट आज, के होला हिक्मतको मुख्यमन्त्री पद?

हिमाल प्रेस २७ जेठ २०८१ ७:५०
2
SHARE
कोशी सरकारविरुद्धको रिट आज, के होला हिक्मतको मुख्यमन्त्री पद?

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार यो रिटलाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मतसमेत लिइसकेका छन्।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै कांस्रेस सांसद केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।

हिक्मत कार्की संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

कार्कीले वैशाख ३१ गते प्रदेश सभामा विश्वासको मत लिएका थिए। कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो। निवर्तमान मुख्यमन्त्री कार्कीले वैशाख २७ गते नै रिट दर्ता गरेका थिए।

कांग्रेस सांसद कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परेका थिए। २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।

पूर्व मुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीको नेतृत्वमा सरकार गठन असंवैधानिक भएको जिकिर गरेका छन्। एक मुख्यमन्त्री बहाल रहेकै बेला प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका कार्कीलाई नियुक्त गरेको जिकिर रिटमा गरिएको थियो।

प्रकाशित: २७ जेठ २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast