मुहान क्षेत्रबाटै बागमती सफाइ पुनः सुरु

हिमाल प्रेस २६ जेठ २०८१ २२:०३
30
SHARES
मुहान क्षेत्रबाटै बागमती सफाइ पुनः सुरु

काठमाडौँ- सुन्दरीजलस्थित बागमतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ। गुह्येश्वरीमाथिको बागमतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले आज मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन्। बागमतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए।

बागमती सफाइमात्र नभई बागमती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उनले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताए। एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ।

गुह्येश्वरीमाथिको बागमती सफाइको आज पाँच सय ३८औँ हप्ता हो। अभियानले आजदेखि प्रत्येक हप्ताको शनिबार बागमती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए।

यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ७८औँ हप्ताको सफाइ तीनकुनेस्थित बागमतीमा गरिएको छ। सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ। सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो।

२०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो। सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि बागमतीमा धेरै परिवर्तन आउन सकेको छैन। बागमतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र केही हुन नसक्ने विश्लेषण हुन थालेको छ।

प्रकाशित: २६ जेठ २०८१ २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =