काठमाडाैँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे ।
उनले सहकारीका विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।
पौडेलले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे ।
उनले नेपाली कांग्रेसले संसद्मा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्याउन नसकिने स्थिति रहेको बताए ।