शिक्षक, विद्यार्थी र अभिभावकसँगै हिँडे विद्यालय शिक्षा सुधार हुन्छ : शिक्षाविद्

हिमाल प्रेस २५ जेठ २०८१ १३:२५
458
SHARES
शिक्षक, विद्यार्थी र अभिभावकसँगै हिँडे विद्यालय शिक्षा सुधार हुन्छ : शिक्षाविद् विद्यालयमा पढ्दै विद्यार्थी। प्रतिनिधिमूलक तस्बिर।

बागलुङ- शिक्षाविद् तथा प्राध्यापक डा.विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकसँगै हिँड्नुपर्ने बताएका छन्। जनसङ्ख्यामा आएको कमीका कारण विद्यार्थी घट्नुलाई स्वाभाविक मान्नुपर्ने भन्दै उनले गुणस्तरीय शिक्षामा ध्यान दिनसकेमा सामुदायिक विद्यालय अब्बल बन्नसक्ने बताए। विद्यार्थीलाई उद्यमी बनाउने र आयआर्जनमा जोड्ने सीपले अभिभावकलाई पनि फाइदा पुग्ने उनको भनाइ थियो।

‘हामी सुधार्छौं, हाम्रो विद्यालय’ भन्ने नाराका साथ सामुदायिक विद्यालय सुधार गर्ने राष्ट्रव्यापी अभियानअन्तर्गत जेठ २४ गते गण्डकी प्रदेशस्तरीय शैक्षिक सम्मेलनको बागलुङमा सहजीकरणपछि उनले गाभिएर खाली भएका विद्यालयमा प्रौढशिक्षा, व्यावहारिक ज्ञान, उद्यमशीलता र पुस्तकालयजस्ता अतिरिक्त काम गर्न सकिने सुझाव दिए।

‘सीप सिकाइमार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सकियो भने उनीहरूलाई जीवनमा कुनै समस्या हुँदैन, गाभिएका सामुदायिक विद्यालयमा घरबास, घरेलु उद्योग तथा व्यावहारिक शिक्षा सिकाउने थलोका रुपमा विकास गर्नुपर्छ’, उनले भने,‘बालबालिकालाई अनिवार्य बचत सिकाउने र त्यसमा अभिभावकले सहयोग गर्नुपर्छ।’

डा.कोइरालले शिक्षाको उद्गमस्थल समाज भएको उल्लेख गर्दै व्यवस्थापन समितिले विद्यालयमा धेरै काम गर्नसक्ने बताए। उनले भने,‘समितिले सिङ्गो समाजलाई विद्यालयको हितमा डोर्‍याउन सक्छ, समाजले सहयोग गरेका विद्यालय सफल भएका उदाहरण छन्।’

विद्यालयको पहिलो अनुगमनकर्ता विद्यार्थी र दोस्रो अनुगमनकर्ता अभिभावक भएकाले शिक्षक सदैव चनाखो हुन आवश्यक रहेको सुझाव दिए। शिक्षक आफ्नो दक्षता र क्षमता देखाउनै नमान्ने गरेको भन्दै उनले शिक्षक प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।

सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घले ‘परिवर्तनको अगुवाइ विद्यालयभित्रबाट’ भन्दै सामुदायिक विद्यालयको सुधारमा रचनात्मक काम गर्दै आएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेशले बागलुङको शैक्षिक क्षेत्रमा भइरहेको निराशालाई चिर्दै ऊर्जा भर्नका लागि शैक्षिक अन्तरक्रिया र उत्प्रेरक कार्यक्रम आयोजना गरेको हो।

सो अवसरमा प्रशिक्षक पूर्णप्रसाद दवाडीले अभिभावक परिचालनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। दवाडीले अभिभावक र समाजले चाहेमा सामुदायिक विद्यालय शैक्षिक र गुणस्तर क्षेत्रमा अब्बल बन्नसक्ने धारणा राखे।

विद्यालय व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष गुणराज मोक्तानले विद्यालय सुधारमा सामुदायिक विद्यालय व्यवस्थापन समितिको अभियानका विषयमा जानकारी गराएका थिए। उनले सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घले सामुदायिक विद्यालयको सुधारका लागि देशव्यापी अभियान चलाइएको बताउँदै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताए।

अन्तर्क्रियामा समुदाय र व्यवस्थापन समितिको अगुवाइमा शैक्षिक क्षेत्रमा फड्को मारेको बागलुङ नगरपालिका–१४ स्थित गणेश माध्यमिक विद्यालय र भौतिकरुपमा फड्को प्रगति गरेको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालय लामिचौरको वृत्तचित्र देखाइएको थियो।

गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालय व्यवस्थापन समितिले सक्रियताका साथ काम गरे राम्रो नतिजा ल्याउन सकिने उदाहरण बागलुङमै रहेको बताए। अन्तर्क्रिया प्रस्तुत गरिएको कार्यपत्र, सहजीकरण र धारणा सङ्कलनबाट १९ बुँदे बागलुङ घोषणापत्र जारी गरिएको छ।

बागलुङमा आयोजना गरिएको प्रदेशस्तरीय शैक्षिक अन्तरक्रियाले समग्र बागलुङको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने सामुदायिक विद्यालय व्यवस्थापन समितिका गण्डकी प्रदेश अध्यक्ष टीकाराम थापाले बताए।

बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धनप्रसाद पोख्रेलले सफल र असफल विद्यालयका विशेषताका विषयमा सहभागी शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराएका थिए।

प्रकाशित: २५ जेठ २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =