गाउँपालिका अध्यक्ष हार्दा सतिश सिंहलाई खुलेको मुख्यमन्त्रीको ढोका

नेहा झा २५ जेठ २०८१ १२:०३
216
SHARES
गाउँपालिका अध्यक्ष हार्दा सतिश सिंहलाई खुलेको मुख्यमन्त्रीको ढोका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह।

जनकपुरधाम- २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए भने सतिशकुमार सिंह यति बेला गाउँपालिकाका लागि नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुन्थे। उक्त निर्वाचनमा पराजित भएकै कारण सिंहलाई अहिले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने अवसर जुटेको छ।

सिंह शुक्रबार मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका छन्। जनमत पार्टीका नेता सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। सिंह नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादीको सहमतिमा मुख्यमन्त्री भएका छन्।

सिंहको जन्म २०३९ मसिर १५ गतेमा भएको थियो। भारतबाट बीसीए अध्ययन पूरा गरेर फर्किएपछि उनी व्यापारमा लागेका थिए। सिंहले २०७२ सालसम्म सप्तरीमा हिरो मोटरसाइकल र महिन्द्रा गाडीको आधिकारिक बिक्रेताका बनेर सोरुम सञ्चालन गरिहेका थिए। कमाइ राम्रै थियो।

बुवाको सपना थियो छोराले राजनीतिक विरासत सम्हालोस्। सतीशका बुवा शेखरकुमार सिंह पनि राजनीतिमा संलग्न छन्।

पारिवारिक पृष्ठभूमिकै कारण उनमा राजनीतितर्फ पनि चासो थियो। संविधान जारी भएपछि मधेशमा क्रियाशील दलहरू आन्दोलनमा उत्रिए। उनीहरूले संविधानको विरोध गरे। धर्ना दिए। राजनीतिमा लाग्न मधेशको त्यो जागरण अभियानले पनि आकर्षित गरेको सिंह बताउँछन्।

उनले विद्यार्थीकालमा तत्कालीन सद्भावना पार्टी निकट विद्यार्थी संगठनमा केही समय काम गरेका थिए। राजनीतिमा रुचि बढेपछि आफ्ना सम्पर्कमा रहेका नेताहरूसँग हिमचिम बढाए। आन्दोलनबारे चासो राखे। नेताहरूसँगको उठबसले उनलाई तान्यो। अनि व्यापारव्यवसाय दाइ सुरज र भाइ सत्यवानलाई जिम्मा लगाएर उनी औपचारिक रूपमा राष्ट्रिय मधेश समाजवादी पार्टीको सदस्यता लिएर राजनीतिमा होमिए।

बुबाको सपना पूरा गर्न आठ वर्षअघि औपचारिक रूपमा राजनीतिमा होमिएको उनी स्मरण गर्छन्। २०७३ सालमा उनी जिल्लामा सम्पर्कमा रहेका केही नेतामार्फत शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा आबद्ध भए। सोही वर्ष उनलाई जिल्ला पार्टी अध्यक्षको जिम्मेवारी दिइयो।

व्यापारमा लागेका र युवाले  संगठन बलियो बनाउन सक्ने विश्लेषण गर्दै भण्डारीले सतीशकुमार सिंहलाई पार्टीमा भित्र्याएका थिए। राजनीति थालेको एक दशक नपुग्दै उनी पार्टीको जिल्ला अध्यक्ष, गाउँपालिका अध्यक्ष हुँदै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

राजनीतिमा होमिएको छोटो समयमै मधेशको मुख्यमन्त्रीसम्मको यात्रा तय गर्न पाइला भनेर उनी आफैँले सोचेका थिएनन्। उनलाई नजिकबाट चिन्नेहरू भाग्यमानी भन्छन्। उनका बुबा राष्ट्रियसभा सदस्य छन्। त्यो पनि अलग पार्टीबाट। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हुन् शेखर।

एक कार्यकाल गाउँपालिका प्रमुख सम्हालेको अनुभव

सिंह २०७९ सालको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव उठ्दा हारेका सिंहलाई जनमत पार्टी प्रवेश गरेपछि सफलता मिल्यो।

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सोही गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनी लोसपामा प्रवेश गरे।

२०७९ को स्थानीय तहको चुनाव उनी सोही पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडे। दोस्रोपटक पालिका प्रमुख हुने उनको योजनामा बाधक बने नेपाली कांग्रेसका अरुणकुमार मण्डल। मण्डल ५,४५७ मतसहित पालिका प्रमुखमा निर्वाचित हुँदा सिंहले ३,५७५ मतमा चित्त बुझाउनुपरेको थियो।

स्थानीय तहको चुनाव हारेपछि सिंहको नजर गयो प्रदेशसभा चुनावतर्फ। लोसपाबाट प्रदेशसभामा टिकट पाउने सम्भावना थिएन। त्यसैले उनले रोजे जनमत पार्टी। जनमतले उनलाई प्रदेशसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नं. २ (क) बाट उम्मेदवार बनायो। विपक्षी उम्मेदवारभन्दा झन्डै दोब्बर मतले सिंह निर्वाचित भए।

चुनावमा सिंहले १६,७३४ मत ल्याउँदा जनता समाजवादी पार्टी, नेपालका शैलेन्द्रप्रसाद साहले ८,२९२ मत ल्याएका थिए। प्रदेशसभाको पहिलो कार्यकालमा जनता समाजवादी पार्टीका लालबाबु राउतले मुख्यमन्त्रीको पूरै कार्यकाल बिताएका थिए। यसपल्ट भने सोही पार्टीका सरोजकुमार यादव पूरा कार्यकाल टिक्न सकेनन्।

२०७९ पुस २७ गते मुख्यमन्त्री भएका यादवको पद विश्वासको मत नपाउने भएपछि बिहीबारदेखि निष्क्रिय भएको थियो। यादव ६३ सांसदको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्रले समर्थन गरेका थिए।

प्रकाशित: २५ जेठ २०८१ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =