पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर चराङ-छोसेर सडक खण्ड पुनः निर्माण सुरु

हिमाल प्रेस २५ जेठ २०८१ ९:०७
10
SHARES
पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर चराङ-छोसेर सडक खण्ड पुनः निर्माण सुरु

म्याग्दी- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ-छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ। पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए।

‘धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले काम पुनः प्रारम्भ गरेको छ’, उनले भने,‘कल्भर्ट, पर्खाल र नाली निर्माण भइरहेको छ।’

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका-१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७२ सालमा तामाङ-गौरी-पार्वती–कोशी एण्ड न्यौपाने जेभीले २६ करोड रुपैयाँमा ठेक्का लिएको थियो।

२०७५ साल साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरलानाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाले २०७३/७४ सालदेखि सातवटा खण्डमा ठेक्का लगाएको थियो।

जोमसोम-कोरला सडकको छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ। जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रुपैयाँ विनियोजन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =