विश्वकप क्रिकेट : अमेरिकाले हरायो पाकिस्तानलाई

हिमाल प्रेस २५ जेठ २०८१ ६:२२
12
SHARES
विश्वकप क्रिकेट : अमेरिकाले हरायो पाकिस्तानलाई

काठमाडौँ- विश्वकप क्रिकेट-२०२४ को समूह चरणमा बिहीबार अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ। अमेरिकाले पहिलोपटक पाकिस्तानलाई हराएको हो। पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए। सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए।

१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो। अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए।

अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए। दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए। पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १/१ विकेट लिए।

ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए। स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाए पनि जित्नलाई पर्याप्त हुन सकेन।

शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे। इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए। अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। अली खान र जसदीप सिंहको नाममा १/१ विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =