गौतम बुद्धको मावली गाउँ दाबी गरिएको खयरडाँडामा भेटियो प्राचीन इनार

हिमाल प्रेस २४ जेठ २०८१ १४:१६
122
SHARES
गौतम बुद्धको मावली गाउँ दाबी गरिएको खयरडाँडामा भेटियो प्राचीन इनार

लुम्बिनी- स्थानीयहरूले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचीन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ। देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ २४ गतेदेखि सुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको हो।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो। २ मिटर चौडाइ र साँढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए। ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने।

उनका अनुसार प्राचीन इनार भए पनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै थाहा हुनेछ। इनारको दक्षिणतर्फ प्राचीन पर्खालहरू भग्नावशेषहरू भेटिएको उप्रेतीले बताए। उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाडा, प्राचीन इट्टा लगाइएको पर्खालका भग्नाअवशेषहरू भेटिएको छ। स्थानीयहरूले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरू लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरू देखिएको उप्रेतीले बताए।

बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निर्क्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनले बताए। रोहिणी पूर्वका नागरिकहरूले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए। तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरू पण्डितपुरमा भेटिएको छ।

रुपन्देही देवदहका स्थानीयहरूले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन्। प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताए। उनले खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरू अगाडि बढाउने बताए।

देवदह नगरपालिका-९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो। स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन्। उत्खनन आगामी अझै एक महिना चल्ने जनाइएको छ।

प्रकाशित: २४ जेठ २०८१ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =