यसपटकको बर्खामा ४२ हजार व्यक्ति प्रभावित हुने अनुमान 

हिमाल प्रेस २४ जेठ २०८१ १३:२७
34
SHARES
यसपटकको बर्खामा ४२ हजार व्यक्ति प्रभावित हुने अनुमान  फाइल तस्बिर

झापा- यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ। जिल्ला विपद्‌ व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद्‌ प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो।

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्‌बाट प्रभावित हुनेछन्। जिल्लामा मनसुनजन्य विपद्‌मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ। उक्त अनुमान अनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बाढीको उच्च जोखिमबाट समुदायलाई सुरक्षित राख्न सरोकार भएका सबै निकायलाई तयारी अवस्थामा राखिएको बताए। उनले जिल्ला विपद्‌ व्यवस्थापनको कोषमा रु एक करोड ५० लाख सञ्चित रहेको जानकारी दिए। उक्त रकम बाढीलगायत विपद्‌का कारण जीउधन गुमाउने परिवारलाई तत्काल राहत तथा उद्धारमा खर्च गरिने छ।

मृतकका परिवारलाई रु दुई लाख र घर क्षति भएका परिवारलाई रु १५ देखि २० हजारसम्मका दरले कोषबाट राहत उपलब्ध गराइने प्रजिअ बाँस्तोलाले जानकारी दिए। उनका अनुसार जिल्लाका १५ वटै पालिकामा अलग–अलग विपद्‌ कोष स्थापना गरी पालिका अनुसार रु १० देखि ५० लाखसम्मको रकम रहेको छ।

नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री, एम्बुलेन्स र स्वयंसेवक दस्ता तयारी अवस्थामा राखेको छ। झापाका नौवटा नदीमा आउने बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन्। जिल्ला विपद्‌ व्यवस्थापन समितिको अभिलेखअनुसार कनकाई, मेची, बिरिङ, रतुवा, कमल, बनियानी, निन्दा, हडिया र टाङटिङ नदीमा आउने बाढीबाट स्थानीय बासिन्दा प्रभावित बन्ने गरेका छन्।

दक्षिण–पश्चिम झापाको बाढी र डुबानको जोखिममा रहेका बाह्रदशी, झापा र गौरीगञ्ज पालिकामा उद्धार तथा राहत कार्यका लागि रबर बोटको व्यवस्था गरिसकेको प्रजिअ बाँस्तोलाले बताए। उनले भने, ‘बाढीको उच्च जोखिममा रहेका गाउँमा जुनसुकै बेला उद्धार तथा राहत पुर्याउन रबर बोटको व्यवस्था मिलाएका छौँ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले यसका लागि समन्वय गरेर कार्य गर्नेछन्। जनधनको क्षति हुन नदिन सबै पक्षसँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिरहेका छौँ।’

विपद्‌ व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद्‌ प्रतिकार्य योजना २०८१ अनुसार कनकाई नदीको कटान र डुबानले यस वर्ष झापा, गौरीगञ्ज, शिवसताक्षी र कनकाई पालिकाका दुई हजार दुई सय ४९ घरका १० हजार तीन सय ४५ जना विस्थापित हुने सम्भावना छ।

मेची नदीबाट मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवलका एक हजार ९० घरका पाँच हजार १४ र विरिङ नदीबाट कनकाई, बाह्रदशी, कचनकवल, झापा, अर्जुनधारा र बुद्धशान्ति पालिकाका दुई हजार एक सय १५ घरका नौ हजार सात सय २९ जना विस्थापित हुने सम्भावना छ।

यसैगरी, रतुवा नदीबाट दमक, कमल, गौरादह र गौरीगञ्जका एक हजार तीन सय ३० घर, कमल र बनियानीबाट गौरीगञ्ज, शिवसताक्षी र कमलका एक हजार १५ घर, निन्दाबाट मेचीनगरका एक सय ५०, हडिया नदीबाट बुद्धशान्ति र मेचीनगरका तीन सय ५० घर, टाङटिङबाट अर्जुनधाराका दुई सय ५० घर र देउनियाँ नदीबाट भद्रपुर र हल्दिबारीका चार सय ४५ घर विस्थापित हुन सक्ने पक्षेपण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बाँस्तोलाले जानकारी दिए। रासस

प्रकाशित: २४ जेठ २०८१ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =