सरकारलाई कांग्रेसको प्रश्न : गिरीबन्धुको फाइल खोल्न तयार हो?

हिमाल प्रेस २४ जेठ २०८१ १३:१०
8
SHARES
सरकारलाई कांग्रेसको प्रश्न : गिरीबन्धुको फाइल खोल्न तयार हो? विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हो भनेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिघा जग्गाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै त्यसमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेलाई चुनौती दिएका हुन्। उनले गिरीबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिए।

महामन्त्री शर्माले गृहमन्त्री लामिछानेलाई फाइल खोल्न तयार हो भन्ने प्रश्न पनि गरे। महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले गिरीबन्धु टी-स्टेटको सम्बन्धमा फाइल खोल्न होइन, बोल्न पनि नसक्ने बताए। उनले एमाले अध्यक्ष ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गरेको टिप्पणीबारेमा पार्टी सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले बोल्न नसकेको बताए।

‘सत्ता गठबन्धन दलको सबैभन्दा ठूलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ। त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरीबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? खोल्न होइन, बोल्न पनि तपाईं सक्नुहुन्न,’ उनले भने, ‘बोल्न सक्नुभएको भए शिक्षामन्त्रीमाथिको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो।’

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझावसमेत दिए। न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको बताउँदै उनले मेयर बालेन्द्रले ठीक काम गरेको बताए।

प्रकाशित: २४ जेठ २०८१ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =