‘गाउँ आएको बाटो’ काे प्रिमियर: दयाहाङको अहिलेसम्मकै उत्कृष्ट अभिनय

हिमाल प्रेस २४ जेठ २०८१ १३:१७
22
SHARES
‘गाउँ आएको बाटो’ काे प्रिमियर: दयाहाङको अहिलेसम्मकै उत्कृष्ट अभिनय

काठमाडौँ-  फिल्म ‘गाउँ आएको बाटो’को बुधबार कमलपोखरीस्थित बिग मुभिजमा साकेला नृत्यसहित प्रिमियरमा गरिएको थियो। फिल्म यही जेठ २५ देखि देशभर प्रदर्शन हुँदैछ।

प्रिमियरमा फिल्मका कलाकार  दयाहाङ राई, पशुपति राई, प्रसन राईसहित माल्भिका सुब्बा, मिरुना मगर, केकी अधिकारी, स्वस्तिमा खड्का, आँचल शर्मा, सृष्टि श्रेष्ठ, कार्म रामबाबु गुरुङलगायत नेता,  साहित्यकार, फिल्मकर्मी र पत्रकारहरुकाे बाक्लो उपस्थिति थियो।

करिब तीन घण्टाको फिल्म हेरेपछि अधिकांशले आफ्नो विगत सम्झाएको प्रतिक्रिया दिए। साथै गाउँको विकाससँगै भएकाे परिवर्तन र त्यसको प्रभावलाई गहिरो ढङ्गले केलाएको बताए। साथै कतिपयले हराउँदै गएको परम्परागत सीपको जोगेर्ना गर्नुपर्ने महसुस गराएको भाव व्यक्त गरे।

फिल्म निकै राम्रो बनेको भन्दै अभिनेत्री केकी अधिकारीले अभिनेता दयाहाङको अहिलेसम्मकै उत्कृष्ट अभिनय लागेको प्रतिक्रिया दिइन्। उनले फिल्म कलात्मक बनेकोसमेत बताइन्। ‘दयाहाङ राईको अहिलेसम्मकै बेस्ट प्रस्तुति जस्तो महसुस भयो। ट्रेलरमा हेरेर बुझिएको कथाभन्दा फिल्म गहिरो बनेका छ।’ उनले भनिन्। फिल्मले आफूलाई कतिपय ठाउँमा भावुक बनाएको र हेरिरहँदा मन एकाग्र भएको भन्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरिन्।

केकीको कुरामा सहमति जनाउँदै अभिनेत्री आँचल शर्माले दयाहाङको अभिनय डिग्री माइलामा भन्दा उत्कृष्ट लागेको बताइन्। फिल्मको कथाले अभिभावक र बच्चासँगै हल आउने वातावरण जुराउनेछ भन्ने उनको अभिव्यक्ति थियो।

पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले फिल्म देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन्। अर्की अभिनेत्री दीया मास्केले फिल्म हेरिरहँदा गुजबम्ब आएको भन्दै कथावस्तु र कलाकारको कामले निकै छोएको बताएन्।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे। उनले फिल्मका निर्देशक सुब्बाले गाउँमा बाटो आइसकेपछि के हुन्छ भन्ने कुरालाई भरपुर बिम्बको प्रयोगबाट सामान्य कथा पस्केको बताए। ‘फिल्म हेर्दा सामान्य लाग्छ। फिल्म बाउछोराको कथा हो।’ उनले बालकलाकार प्रसन राईको अभिनय निकै उत्कृष्ट रहेको भन्दै कामको प्रशंसा गरे।

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्ममा नेपालको वास्तविकता देखाइएको बताइन्। त्यस्तै अभिनेत्री मिरुना मगरले फिल्मले बाआमाले सन्तानलाई कति माया गर्छन भन्ने महसुस गराएको बताइन्।  साथै उनले विकास र आधुनिकताको नाममा प्लास्टिकको प्रयोगले परम्परागल सीप बिर्सेकाे कुराले मन छोएको उनको अनुभव थियो।

अभिनेता नाजिर हुसेनले दयाहाङ राईले चित्रा बुन्न प्रयोग गरेको बाँस नै फिल्मको बलियो पाटो रहेको भन्दै राम्रो फिल्म बनेको प्रतिक्रिया दिए। ‘दया दाईले फिल्ममा जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने पाको बाँस नै फिल्मको बलियो पाटो हो।’ उनले भने।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेर्दा निकै मज्जा आएको भन्दै एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन्।

आफू यही समुदायमा जन्मे हुर्केकाले फिल्मले मन छोएको पूर्वपर्यटन तथा संस्कृतिमन्त्री सुदन किँरातीले बताए। फिल्म निकै राम्रो बनेको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले विकासले गाउँमा पारेको प्रभावलाई सुन्दर ढंगले देखाइएको बताए।

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, खानुमा राई, केशव राई, प्रमिशा राईलगायत कलाकारको अभिनय छ। फिल्ममा गाउँमा बाटो आएपछि परम्परागत सीप कसरी हराउँदै जान्छ र छोराको सपना पुरा गर्न बाआमाले गर्ने संघर्ष प्रस्तुत गरिएको छ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =