प्रचण्डको पिछलग्गु भएर अस्तित्व बचाइरहेका माधव नेपाल

किरण पौडेल २३ जेठ २०८१ २०:२३
342
SHARES
प्रचण्डको पिछलग्गु भएर अस्तित्व बचाइरहेका माधव नेपाल

काठमाडौँ– एक दशकभन्दा बढी समयसम्म देशकै सबैभन्दा ठूलो दल एमालेको कार्यकारी पदमा रहेका माधवकुमार नेपालको राजनीतिक हैसियत खुम्चिएको छ। पछिल्ला दिनमा उनीमाथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निकट रहेर अस्तित्व बचाइरहेको टिप्पणी हुन थालेको छ।

२०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि नेपाल पार्टीका महासचिव बनेका थिए। पहिलो संविधानसभा २०६४ सम्म पार्टीको कार्यकारी तहमा रहेका नेपाल त्यसपछि भने कमजोर हुँदै गएका छन्। यद्यपि मूलधारको राजनीतिमा रहन उनले प्रचण्डको साथ छाड्न सकेका छैनन्। पछिल्लो समय एमालेबाट चोइटिएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीसम्म आइपुग्दा पनि उनी प्रचण्डसँग निकट छन्।

पञ्चायतकालदेखि नै नेपालसँग राजनीतिक सहकार्य गर्दै आएका नेताहरू अध्यक्ष नेपालमा ढुलमुले चरित्र रहेको बताउँछन्। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा प्रधानमन्त्री बन्न दरबारमा बिन्तीपत्र हालेको, २०६४ को संविधानसभा चुनावमा दुईदुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री बनेको जस्ता घटना उनका राजनीतिक जीवनका केही विकृत पक्ष हुन्।

कहिले सत्ता गठबन्धनको बैठकमा जाने त कहिले विपक्षी दलका नेता निवासमा पुग्ने घटनाक्रमले पनि उनको त्यो स्वभाव रहेको आरोपमा बल मिलेको छ। यति मात्र होइन, नेपालले कहिले पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाउँछन् र विश्वासको मत नदिने अडान राख्छन्। जेठ १६ गते अध्यक्ष नेपालसहित अन्य दलका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेपछि सत्ता गठबन्धनको भविष्यमाथि शंका गरिएको थियो। अध्यक्ष नेपाल सांसद मेटमणि चौधरीसहित जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारीलाई लिएर देउवा निवास पुगेका थिए।

त्यो भेटपछि नेपालमाथि वैकल्पिक गठबन्धन बनाउन सक्रिय रहेको टिप्पणी भएको थियो। जसपा विभाजित हुनाको कारण पनि त्यही घटनालाई लिइन्छ। प्रधानमन्त्री प्रचण्डको दबाबपछि यादव सरकारबाट बाहिरिए। एकीकृत समाजवादी भने सत्तामै छ। नेपालको यस्तो शैलीका कारण आफूहरूसमेत आजित हुने गरेको नेकपा एकीकृत समाजवादीका नेताहरू बताउँछन्। नेपाललाई प्रचण्डले पनि साथ छाडेका छैनन्।

यसबारे माओवादी केन्द्रका नेताहरू केही भन्न चाहँदैनन्। गठबन्धनमा नेपालप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक छन्। प्रचण्डचाहिँ मौन छन्। माओवादी स्रोतका अनुसार नेपालको पार्टीलाई सरकारबाट हटाउन प्रचण्डले चाहेका छैनन्।

नेपाल-दाहाल सम्बन्ध

नेपालले एक अन्तर्वार्तामा प्रचण्डसँगको आफ्नो सम्बन्ध तीन दशक लामो भएको दाबी गरेका थिए। उनले प्रचण्डलाई राम्ररी बुझेको समेत बताएका थिए। प्रचण्डको भूमिगत जीवनमा पनि आफ्नो सम्पर्क हुने गरेको नेपालको दाबी छ।

प्रचण्ड खुला राजनीतिमा आएपछि दुई नेताबीच सम्बन्ध थप सुदृढ भएको नेपाल निकट नेताहरू सुनाउँछन्। उनीहरूबीचको सम्बन्ध राम्रो भएको चाहिँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा हो। ‘नेकपाकालमा ओलीको विपक्षमा हामी लाग्यौँ। समीकरण बनिँदै गयो,’ समाजवादी प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘ओली प्रवृत्तिको विरोध गर्दागर्दै सम्बन्ध राम्रो हुँदै गयो।’

नेकपाकालमा नेपाल-दाहाल एकातिर रहँदा ओली अल्पमतमा पर्थे। अल्पमतमा परेकै कारण ओलीले संसद् विघटन गरे। दाहाल–नेपाल एक भएर सडकमै उत्रिए। नेपाल र ओलीबीचको सम्बन्ध बिग्रियो। नेपाल एमालेमा नहरहने अवस्थामा पुगे।

संवैधानिक रूपमा पार्टी विभाजन गर्न नेपालको संख्या अपुग हुने भएपछि प्रचण्ड र देउवाकै सहयोगमा अध्यादेश ल्याइयो। यसपछि बनेको नेकपा एकीकृत समाजवादी प्रचण्डसँगै छ।

प्रचण्डसँगै हिँडिरहेका नेपाल

नयाँ पार्टी विभाजनपछि प्रचण्डकै पछिपछि छन्। प्रचण्डले जसरी सत्ता चलाउँछन्, नेपाल साथ दिइरहेका छन्। चुनाव पनि एक भएर लडे। प्रचण्डले समीकरण फेरेर अर्कोमा लाग्दा समेत नेपाल साथमै रहँदै आएका छन्। यतिसम्म कि नेपालको पार्टीको कतिपय आन्तरिक निर्णयमा प्रचण्डकै भूमिका हुने गरेको जानकारहरू बताउँछन्।

२०७९ को चुनावअघि शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा आफ्नो पार्टीबाट सहभागी चार मन्त्री फेर्न नेपालले दबाब दिएका थिए। देउवाले तत्कालीन मन्त्रीहरूसँग सहयोग लिएर केही समय अवधि लम्ब्याए। यसपछिका सबै सरकारमा समाजवादी सहभागी छ।

२०७९ को स्थानीय तहको चुनावमा माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन बन्यो। जहाँ कांग्रेस, जसपा र जनमोर्चा पनि सहभागी थिए। समाजवादीले आमचुनाव पनि माओवादीसँग लड्यो।

राष्ट्रपति चुनावमा कांग्रेसले रामचन्द्र पौडेल र एमालेले सुवास नेम्वाङलाई उठायो। नेम्वाङ मत माग्न समाजवादीको कार्यलयमा पुगे। नेपालले प्रचण्डको आग्रहलाई यताउता गर्न मानेनन्।

उपराष्ट्रपतिमा पनि माओवादीले रामसहायप्रसाद यादवलाई मत दिने निर्णय लियो। जसपा नेता यादवलाई माओवादीले समर्थन गर्ने निर्णय गर्दा समाजवादी पनि त्यतै फर्कियो। सभामुखमा माओवादीले एमालेका देवराज घिमिरेलाई मत हालेको थियो। कांग्रेसले सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई उठायो। समाजवादीले पनि घिमिरेलाई साथ दियो। कारण, प्रचण्डले घिमिरेलाई नैतिक समर्थन गरेका थिए। राष्ट्रियसभा चुनावमा पनि कांग्रेससहित माओवादी–समाजवादी एकातिर रहे भने एमाले अर्कातिर रह्यो।

सहकार्यसँगै असन्तुष्टि

वर्तमान सत्ता गठबन्धनमा प्रचण्डसँग असन्तुष्टि भएका प्रमुख नेतामा नेपाल पर्छन्। उनी कहिले असहज भएको अभिव्यक्ति दिन्छन् भने कहिले फिर्ता हुने बताउँछन्।

आमनिर्वाचनपछि प्रचण्डले एमालेसँग सहकार्य गर्दा समेत नेपालले असन्तुष्टि पोखे। उनले आफूलाई नभनी समीकरण परिवर्तन गरेको भन्दै प्रचण्डसँग गुनासो पोखे। प्रचण्ड सँगै रहे। समाजवादी सरकारमै सहभागी भयो।

यसपछि कांग्रेससँग सहकार्य गर्दा नेपालले कम हिस्सा गरेको भन्दै प्रचण्डलाई गुनासो गरिरहे। उनले संघीय सरकारमा तीन मन्त्री दिने आश्वासन दिए पनि दुई मात्र दिएको बताइरहे। अहिले पनि सत्ता समीकरणमा एमाले–माओवादी छन्। तर नेपाल दुई मन्त्री मात्र दिएको भन्दै प्रचण्डसँग असन्तुष्टि जनाइरहेका छन्।

प्रचण्डले तेस्रोपटक विश्वास लिँदा नेपाल दोधारमा परेका थिए। प्रचण्डले समाजवादीको सचिवालय बैठक चलिरहेकै बेला फोन गरे पनि विश्वासको मत दिन राजी भए।

प्रचण्ड चाहँदैनन् समाजवादी बढाउन

प्रचण्डबारे समाजवादीका दुईथरी विश्लेषण छन्। प्रचण्डले समाजवादीलाई माया गर्छन्। एकथरी भन्छन्, ओलीभन्दा प्रचण्ड हामीप्रति दया देखाउँछन्। यही कारण हामी सरकारमा छौँ। अर्काथरीको बुझा छ, ‘प्रचण्डकै कारण समाजवादी अघि नबढेको हो। प्रचण्डले समाजवादी अघि बढाउन चाहँदैनन्।

समाजवादी ठूलो बनेमा माओवादी कमजार बन्ने प्रचण्डको बुझाइ रहेको समाजवादीका नेताहरू बताउँछन्। ‘हामीलाई प्रचण्डले विश्वास गरेर संघर्ष गर्न पुग्याँै। त्यही कारण साथ दिइरहेका छौँ’, समाजवादीका प्रवक्ता खतिवडा भन्छन्, ‘सँगै रहेपछि सम्बन्धमा तिक्तता हुन सक्छ। चलिरहन्छ।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा प्रचण्डकै कारण समाजवादीले स्वरूप पाएको बताउँछन्। ‘प्रचण्डसँगै मायाममताले समाजवादी चलेको छ। प्रचण्डविरुद्ध गए जसपा जसरी समाजवादी फुट्न सक्छ,’ खतिवडा भन्छन्, ‘नेपालको पार्टीभित्र आफ्नो कुरा लागू नहुन सक्छ। पार्टी फुट्ने भय छ। त्यसैले उनले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेका छन्।’

उनका अनुसार सत्तामा विश्वासको मत नपुगे समाजवादी फुट्ने अझै त्रास छ। उनी भन्छन्, ‘सरकारबाट बाहिरिए वामपन्थी गठबन्धनका लागि भनेर पार्टी फुट्ने र एमालेसँग मिल्ने भय नेपाललाई छ।’

प्रकाशित: २३ जेठ २०८१ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =