ओलीलाई संकेत गर्दै शिक्षामन्त्री श्रेष्ठको प्रश्न, के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ?

हिमाल प्रेस २३ जेठ २०८१ १४:०६
98
SHARES
ओलीलाई संकेत गर्दै शिक्षामन्त्री श्रेष्ठको प्रश्न, के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ?

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै विदेशीसँग स्म्बन्ध हुँदैमा मान्छे देशद्रोही हुन सक्छ? भनेर प्रश्न गरेकी छन्। उनले बुधबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै यस्तो प्रश्न गरेकी हुन्।

मन्त्री श्रेष्ठको प्रश्न छ, ‘अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान्‌को पहिचानबाहिर नारीको आफ्नो पहिचान हुँदैन? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ? अहिलेसम्म पुस्तौँदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त?’

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री श्रेष्ठलाई लक्षित गर्दै केही दिन नेपाल घुम्न आएकी व्यक्ति मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए। झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा ओलीले भनेका थिए, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन्।’ ओलीको  यस्तो अभिव्यक्तिलाई संकेत गर्दै श्रेष्ठले स्टाटस लेखेकी हुन्।

मन्त्री श्रेष्ठले विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न सहज नरहेको उल्लेख गरेकी छन्। ‘अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोरकिशोरीहरू बिदेसिँदैछन् भन्ने सुन्दा नपत्याउने आधार छैन। साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन्।’

उनले नेपाली युवा आफ्नो गच्छेले सकेको ठाउँमा पुग्ने र सहजताका लागि लामो समयको भिसा, पीआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्ने पनि उल्लेख गरेकी छन्। ‘विदेशमा प्रेम होला, बिहे होला। कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन्।’

विदेश पुगेकामध्ये धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर समृद्ध र सहज जीवन जिउने चाहना रहने पनि उनले स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, ‘स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन्। ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन्।’

त्यस्ता मानिसहरू फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आऊन् भन्ने सोच राजनीतिमा जमेर बसेकाहरूलाई लाग्ने गरेको उनको भनाइ छ। उनले नेताहरूप्रति संकेत गर्दै लेखेकी छन्, ‘यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाऊन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन्। यो ‘तँ बसेर आएको देश हो र नेपाल पो हो’ भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ।’

कर्मचारीतन्त्र र पेसाकर्मीहरूले पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्ने गरेको उनको अनुभव छ। ‘ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन्’, मन्त्री श्रेष्ठले लेखेकी छन्।

साथै महिलालाई हेर्ने मानसिकता विकराल रहेको उनको अनुभव छ। ‘समाजको नियम भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीँभित्र बसोस् भन्ने सोच हुने रहेछ। यही भएर होला प्रायः हाम्रा बहिनीछोरी विदेशबाट फर्कन खोज्दैनन्’, उनले लेखेकी छन्।

सुमना श्रेष्ठमाथि ओलीको टिप्पणी  : नेपाल घुम्न आएकी मन्त्री पो भइन्

प्रकाशित: २३ जेठ २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast