मधेश सरकारबाट बाहिरियो नेकपा एस, संकटमा मुख्यमन्त्री

हिमाल प्रेस २२ जेठ २०८१ २१:०१
56
SHARES
मधेश सरकारबाट बाहिरियो नेकपा एस, संकटमा मुख्यमन्त्री

जनकपुरधाम- मधेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ। मंगलबार दुई मन्त्रीहरू भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात व्यवस्थामन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा राजीनामा बुझाएका हुन्।

त्यसपछि उनीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीसमक्ष बुझाएका थिए।

मधेश प्रदेशमा एकीकृत समाजवादीका सात सांसद छन्। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए। तर एकीकृत समाजवादीले एक दिनअघि नै राजीनामा दिएपछि यादवको विश्वासको मत पाउने सम्भावना लगभग सकिएको छ।

‘हामी मधेश सरकारबाट बाहिरिएका छौँ। अहिले राजीनामापत्र बुझायौँ,’ मन्त्री न्यौपानेले भने, ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ।’

एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल भएको थियो।

एकीकृत समाजवादीले सुदूरपश्चिम सरकार विस्तार गर्न सकेको छैन। त्यही भएर मधेश प्रदेशबाट पनि हटेको थिएन।

सोमबार शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच प्रदेश सरकारलाई बलियो बनाएर जाने सहमति जुटेको थियो। त्यसको भोलिपल्ट समाजवादीले मधेश प्रदेश सरकार छोडेको हो।

वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए।

यता एकीकृत समाजवादी मधेश सरकारबाट बाहिरिएसँगै बुधबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सरोजकुमार यादवका लागि संकट गहिरिँदै गएको छ।

एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि सरकारमा जसपा नेपाल एक्लिएको छ। यद्यपि नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भने तटस्थ बस्ने निर्णय गरेको छ। लोसपा तटस्थ बस्दा मुख्यमन्त्रीका लागि चिन्ता थप बढाएको छ।

प्रकाशित: २२ जेठ २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =