एकापसमा जुधेरै मर्छन् बाघ

हिमाल प्रेस २२ जेठ २०८१ १८:४८
12
SHARES
एकापसमा जुधेरै मर्छन् बाघ फाइल तस्बिर

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ।

गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन्। तीमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन्। बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उनले बताए।

‘बाघको संख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन्। अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन्। चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्,’ उनले भने।  बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन्।

सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन्। देशभर बाघको स‌ंख्या तीन सय ५५ रहेको छ।

प्रकाशित: २२ जेठ २०८१ १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =