विदेशमा नेपालीबाटै ठगिन्छन् नेपाली

रमेश भारती २२ जेठ २०८१ १७:३७
54
SHARES
विदेशमा नेपालीबाटै ठगिन्छन् नेपाली

काठमाडौँ- ताप्लेजुङ याङवरक पाथीभरा गाउँपालिकाका मनोज लिम्बू चार वर्षदेखि मलेसियाको रेडवान रबर निर्माण कम्पनीमा कार्यरत छन्। १६ महिनाअघि भिसा अवधि सकिए पनि उनी स्वदेश नफर्की कम्पनीमै काम गरिरहेका छन्। लिम्बूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको कल सेन्टरमा आफू मलेसियामा नेपालीबाटै ठगिएको भनेर फोनमा गुनासो गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

सुवेदीले भने, ‘लिम्बूले आफूलाई गत वैशाखमा झापा चारआलीका गोविन्द लिम्बूले ठगी गरेको उजुरी टिपाएका छन्। झुक्याएर १४ लाख ऋणमा फसाएको आरोप उनको छ।’

सुवेदीका अनुसार गोविन्द लिम्बूले कम्पनीमा मनोजलाई जमानी राखेर १४ लाख ऋण लिएर भागेछन्। त्यसपछि उनलाई कम्पनीले ऋण तिर्ने दबाब दिन थालेपछि समस्यामा परेको भन्दै फोनमार्फत उजुरी गरेका हुन्। लिम्बूले फोनमार्फत गरेको उजुरी वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासमा पठाइएको सुवेदीले बताए।

स्याङ्जा वालिङका सूर्यप्रकाश गिरी यूएईमा बसेको ११ वर्ष भयो। उनीमाथि यूएईमा बसेर नेपालीलाई ठग्दै आएको उजुरी परेको सूचन अधिकारी सुवेदीले बताए। गिरीले यूएईमा भारतीय र चिनियाँ नागरिकसँग मिलेर नेपालीलाई रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गरेको उजुरी परेको छ।

सुवेदीका अनुसार मोरङ बेलबारीका दीपक श्रेष्ठले गिरीले यूएई पुलिसको रोजगारी लगाइदिने भन्दै सात लाख रुपैयाँ ठगी गरेको उजुरी दिएका छन्। श्रेष्ठ यूएईमै सेक्युरिटी गार्डमा कार्यरत थिए। सेक्युरिटी गार्डभन्दा यूएई पुलिसमा धेरे पैसा कमाउने प्रलोभनमा पर्दा ठगिएको उनको उजुरीमा उल्लेख छ।

गिरीले यूएईमा रहेका आफूजस्ता पाँच सयभन्दा बढी युवालाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरी परेको छ। सुवेदीले भने, ‘यूएईमै सेक्युरिटी गार्ड, यूएई पुलिस, रोयल गार्ड, एडी पुलिसमा जागिर लगाइदिने भनेर ठगी गरेको पीडितको गुनासो छ।’

झापाका पाण्डव लिम्बू र धनकुटाका जितेन्द्र राईले कतारमा बसेर त्यहाँ कार्यरत नेपालीलाई ठगी गर्दै आएको उजुरी परेको छ। लिम्बू र राईले कतारी आजाद र भिजिट भिसाका नाममा नेपालीलाई ठग्दै आएको उजुरीमा उल्लेख रहेको सुवेदीले बताए।

सुवेदीका अनुसार उनीहरुले गत वैशाखमा धुनकटा र झापाका १० जनाभन्दा बढी महिलालाई आजाद भिसाका नाममा कतार पुर्‍याएका थिए। सुवेदीले भने, ‘ती महिलालाई नेपालबाट आजाद भिसा भनेर लगे पनि कतार पुगेपछि घरेलु रोजगारीमा लगाइएको थियो। उनीहरूले काम गर्ने नमानेपछि कतारस्थित नेपाली दूतावासको सहयोगमा स्वदेश फकाईएको छ।’

लिम्बू र राईले गत मंसिरमा बाँकेका लोकेन्द्र डाँगीसहित १४ जना ‘आजाद भिसा’ का नाममा कतार पुर्‍याएर तीन महिना अलपत्र पारेर राखेको सुवेदीको भनाइ छ। यसका लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ। मासिक ३ हजार ४ सय कतारी रियाल (१ लाख २० हजार रुपैयाँ) कमाइको लोभ देखाएर कतार लगेर अलपत्र पारेको उजुरी विभागमा परेको थियो। पीडितले कतारस्थित नेपाली दूतावासको सहयोग स्वदेश फर्किएर विभागमा उजुरी दिएको सुवेदीले बताए।

सेन्टरमा यसरी विभिन्न देशमा कार्यरत नेपालीले आफ्नै देशका दाजुभाइबाट ठूलो रकम ठगिएको भन्दै फोनमार्फत उजुरी गर्दै आएका छन्। ठग्ने र ठगिने मान्छे रोजगारदाता देशमै भएका कारण पक्राउ गरेर अनुसन्धान गर्न समस्या भइरहेको सुवेदीले बताए।

समूह नै सक्रिय

रोजगारदाता देशमा बसेर नेपाली ठगी गर्ने समूह नै सक्रिय रहेको सुवेदी बताउँछन्। साउदी, कतार, मलेसिया र यूएईमा बसेर सल्यानका राजेन्द्र रावल, दाङ घोराहीका प्रेमबहादुर बोहरा, निजगढ बाराका शुक्रान्त लुम्बा, उदयपुरका राकेश राई, हेटौँडाका मिलन थिङ, ताप्लेजुङकै कालुसिंह थिङ, झापाका पाण्डव लिम्बु, धनकुटाका जितेन्द्र राई, गोरखाका मिलन श्रेष्ठ, काभ्रेका दीपक तामाङ, दाङका प्रदीप बस्नेत र नवीन बस्नेत तथा जनकपुरका विक्रम शाहले ठगी गरेको उजुरी परेको सुवेदीले जानकारी दिए।

वैदेशिक रोजगारी क्षेत्रमा ठगी गर्ने गिरोहलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी सुवेदीले जानकारी दिए। ‘गिरोहले भूतपूर्व आर्मी, प्रहरी, सरकारी जागिर छाडेका व्यक्ति, बेरोजगार युवालाई आफ्नो निसानामा पार्ने गरेको छ। दलालले यस्ता व्यक्तिसँग ५ देखि ७ लाख रुपैयाँ ठगी गरेको उजुरी विभागमा आएका छन्’, उनले भने।

प्रकाशित: २२ जेठ २०८१ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =