‘होस्टेल ३’ मा जोडिए रिहान, सिम्रन र पदम

हिमाल प्रेस २२ जेठ २०८१ १७:१५
8
SHARES
‘होस्टेल ३’ मा जोडिए रिहान, सिम्रन र पदम

काठमाडौँ- सशान कँडेलको निर्देशनमा बन्ने भनिएको फिल्म ‘होस्टेल ३’ मा नव कलाकारको प्रवेश भएको छ। फिल्ममा नवकलाकार रिहान गिरी, सिम्रन पन्त र पदम तामाङ अनुबन्धित भएका छन्।

गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट हुन् रिहान गिरी। यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका गिरी भुटानका नागरिक हुन्। नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० सम्म पुगेका थिए। उनी फिल्ममा मानव पात्रको भूमिकामा देखिनेछन्।

पदम तामाङ भारतस्थित सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन्। नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित छन्। सामाजिक सञ्जालमा चर्चित रहेका उनका लाखौँ ‘फ्यान’ छन्। फिल्ममा उनी जिते पात्रको भूमिकामा देखिनेछन्।

सिम्रन पन्त भने केही म्युजिक भिडियो र दर्जनभन्दा बढि विज्ञापनमा अभिनय गरेकी छन्। उनले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्।

यसअघि निर्माण टिमले टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रियटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बमलाई अनुबन्धित गरेका थिए।

फिल्ममा अझ केही कलाकार जोडिनेक्रम जारी रहेको निर्देशक सशान कँडेलले बताए। फिल्म जगतमा युवा कलाकारको कमीको कारण नयाँ कलाकार भित्र्याएको उनी बताउँछन्। हामीले ‘वेल टेस्टेड’ कलाकारबाट काम निकाल्न फिल्म बनाउन लागेका होइनौँ, नेपाली चलचित्रमा युवा कलाकारको कमी महसुस भएपछि कोही कसैलाई त ल्याउनै पर्छ भन्ने लाग्यो र रिहान गिरी, पारस बम (कूल ब्वाय) जस्ता प्रतिभालाई अगाडी सारेका हौँ।’ निर्देशक कँडेलले भने।

‘होस्टेल’का शृङ्खलालाई स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘२०७० सालमा प्रदर्शन भएको होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

त्यस्तै, २०७२ मा प्रदर्शन भएको ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

उनीहरू सबै नेपाली फिल्मका सफल कलाकार हुन्। दुइटै शृङ्खला घरेलु बक्स अफिसमा सफल भएका थिए।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। फिल्मका निर्माता शिशिर ज्ञवाली हुन्।

निर्देशक कँडेलका अनुसार फिल्म होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहनेछ। फिल्म यस वर्षको अन्त्यतिर प्रदर्शन गर्ने तयारीमा छन्।

प्रकाशित: २२ जेठ २०८१ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast