केसीको प्रस्ताव : प्रदेश तह घाँडो भयो, खारेज गरौँ

हिमाल प्रेस २२ जेठ २०८१ १४:०२
14
SHARES
केसीको प्रस्ताव : प्रदेश तह घाँडो भयो, खारेज गरौँ चित्रबहादुर केसी।

काठमाडौँ- जनमोर्चा नेपालका सांसद चित्रबहादुर केसीले प्रदेशहरू खारेज गर्नुको विकल्प नरहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले यस्तो प्रस्ताव गरेका हुन्।

केसीले भने, ‘प्रदेश तह नेपाली जनतालाई घाँडो भएको छ। प्रदेशहरू सल्लैले बनेका हुन्। सल्लैले यसलाई खारेज गर्नुको विकल्प छैन।’ प्रदेशमा अहिले नेपाली जनताले रमिता देख्नुपरिरहेको बताउँदै उनले अर्बौँ रुपैयाँ खर्च गरेर बनेका प्रदेशका मन्त्रीहरूका कामै नरहेको बताए।

उनले प्रश्न गरे, ‘प्रदेशका सरकार र त्यहाँका मन्त्रीहरूको काम के हो?’ राजनीतिक पार्टी पनि दुई महिना तीन महिनापछि गठबन्धन बदल्ने विकृतिमा व्यस्त रहेको आरोप उनको छ। केसीले भने, ‘प्रदेशमा पनि दर्जनौँ व्यक्तिलाई मन्त्री बनाउने र नेपाली जनताको पसिना र गुजारा उडाउने?’

उनले केन्द्रीय सरकार र पालिकाले सम्झौता गरेका काममा केन्द्रीय सरकारले बेइमान गरेपछि स्थानीय जनप्रतिनिधि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको बताए।

उनले भने, ‘कतिपय विकासका कामको सम्झौतामा सरकारले बेइमान गर्‍यो। रकम नदिने निर्णय गरेको हुनाले गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि काठमाडौँ आएर आन्दोलित हुनुपरेको छ। स्वयं जिम्मेवार सरकारले यस खालको बेइमान गर्नुहुन्छ?’ केसीले स्थानीय तहलाई बलियो र साधनस्रोतयुक्त बनाउनुपर्नेमा जोड दिए।

यसैगरी उनले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिलाई प्रधानमन्त्री र महान्यायाधिवक्ताले सफाइ दिएको भन्दै आपत्ति जनाए। केसीले भने, ‘सहकारी ठगीमा संलग्नलाई कार्यकारिणी प्रमुख र महान्याधिवक्ताले सफाइ दिएको जात्रा त नेपाली जनताले देखेका छन् नि। सहकारीको ठगहरूलाई कारबाही गर्नुपर्छ भन्ने आन्दोलन न्यायपूर्ण थियो।’

प्रकाशित: २२ जेठ २०८१ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =