तीन नेताको बैठकमा बालेनविरुद्ध जंगिए ओली, प्रचण्डले भने : धेरै महत्त्व नदिऔँ

हिमाल प्रेस २२ जेठ २०८१ ११:३१
68
SHARES
तीन नेताको बैठकमा बालेनविरुद्ध जंगिए ओली, प्रचण्डले भने : धेरै महत्त्व नदिऔँ

काठमाडौँ- पूर्वाधार विकासको विषयलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एकअर्काबीच प्रतिशोध देखाएका छन्। मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी स्टेट प्रकरणमा जोडे। उनले ओलीको नामै किटेर १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्याउन चेतावनी दिए।

दिउँसो एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेनसँगै सोध्न आग्रह गरे। संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘गिरीबन्धु टी इस्टेटबारे प्रश्न उठिरहेको छ नि’ भन्ने प्रश्नमा उनले जबाफ फर्काए, ‘बालेनलाई सोध्नू।’

प्रचण्ड देउवासँग जंगिए ओली

संसद्‌भवनबाट बाहिरिएपछि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए। शीर्ष तीन नेताबीच भएको छलफलमा ओली जंगिएका थिए, ‘अराजकतालाई मौन बसेर कतिन्जेल ढाक्न सकिन्छ!’

नेताहरूका अनुसार ओली नै गम्भीर रुपमा विषय राखेपछि मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको विषयमा तीन नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले बताए। ओलीले गम्भीरतापूर्वक विषय उठाए तापनि प्रचण्ड र देउवाले हल्का रूपमा लिनुपर्ने बताएका थिए।

‘बालेनलाई किन महत्त्व दिइरहने? उनलाई मिडियाले नेता बनाएका हुन् तर उनीहरू नै मिडियालाई गाली गर्छन्। मिडियाले भगवान् बनाएकाहरूको आलोचना हुँदा समर्थकहरू भड्किन्छन्। उल्टै मिडियाविरुद्ध खनिन्छन्’, प्रचण्डलाई उधृत गर्दै ती अधिकारीले भने।

कांग्रेस सभापति देउवाले नयाँ दल र स्वतन्त्रका नाममा भएको गतिविधिलाई सोही रूपमा लिनुपर्ने बताएका थिए। बाँकी सरकारले नै सोच्ने विषय भएको भनेर उनी पन्छिए।
त्यसपछि देउवा र प्रचण्डसँग आफ्नो विषयलाई कम महत्त्व दिएको भन्दै ओली जंगिएका हुन्। उनले अराजकता नियन्त्रण गर्न दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे।

यसअघि बालेनले सिंहदरबारमा आगो लगाउँछु भनेपछि बालेनमाथि कारबाही गर्न सकिने उपायबारे शीर्ष नेताहरूले छलफल गरेका थिए। बालेनलाई चलाउँदा झन् नकारात्मक सन्देश जाने भएपछि प्रधानमन्त्री प्रचण्ड हच्किएका थिए।

प्रचण्डले सोमबार बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए।नेपालसँगको भेटमा बालेनको विषय नउठेको नेताहरू बताउँछन्।

बालेनले के भनेका थिए?

मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीको कडा शब्दमा आलोचना गरे। गिरीबन्धुको टी स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता हुनुपर्ने उल्लेख गरेका छन्।

बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नुभएको हो।’

गिरीबन्धु चियाबगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता रहेको बालेनको आसय छ। ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू’ बालेनले लेखेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईँको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईँलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

फुटपाथमा राजनीति

न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौँ महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन्। महानगरपालिकाले सडकको पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको डिभिजन सडक कार्यालयले पिच गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेकपा एमालेका रघुवीर महासेठ छन्। यसमै बालेनले एमाले अध्यक्ष ओलीलाई समेत जोड्दै फेसबुकमा आक्रोश पोखेका हुन्। ‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ’ बालेनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो।’

बालेनले न्युरोडको साटो काठमाडौँको रिङरोड र बुटवल-चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिएका छन्। बिहान सामाजिक सञ्जालमा लेखेर माहोल तताएका बालेनले दिउँसो न्युरोडमा नगर प्रहरी पठाउँदा तनावको वातावरण बनेको थियो।

काठमाडौँ महानगरपालिका न्युरोडमा फुटपाथ बढाउन चाहन्छ तर सडक डिभिजन कार्यालय काठमाडौँ महानगरको योजना रोक्न चाहन्छ। काठमाडौैँ महानगरले फुटपाथ बढाउन सडक काट्यो। सडक डिभिजन कार्यालयले महानगरले काटोको सडक टाल्न गएपछि विवाद भएको हो। महानगरले काटेको सडकमा सडक डिभिजन कार्यालयले पिच गरिरहेको बेला महानगरपालिकाले रोक्न खोजेपछि विवाद भएको हो।

उनीहरूले त्यहाँ नाराबाजी गरे। नेपाल प्रहरीको तर्फबाट खटिएका डीएसपीले पनि जसरी पनि पिच टाल्ने निर्देशन भएकाले नगर प्रहरीलाई फर्किन आग्रह गरे। अडिँदा तनावकै स्थिति आउने भएपछि नगर प्रहरीहरू फर्किएका थिए। नगरप्रहरी फर्किएका कारण न्युरोडमा देखापरेको तनाव थप अगाडि बढ्न पाएन।

न्युरोडको फुटपाथ बढाउने र बढाउन नदिने कार्यमा स्वयम् ओली र बालेन संलग्न रहेको सोमबार दिनभरका दृश्यले देखाएको छ। कतिपयले यी दुई नेता फुटपाथमा राजनीति गर्न थालेको भनेर आलोचना गरेका छन्।

नरोकिने ओलीको संकेत

बालेनसँग प्रतिवादमा उत्रिएका ओलीले नरोकिने संकेत गरेका छन्। शीर्ष नेताहरूको बैठकमै विषय गम्भीरतापूर्वक राखेका ओलीले पार्टीका नेताहरूसँग समेत ब्रिफिङ गरेका छन्।

नेताहरूका अनुसार काठमाडौँको मेयरका रूपमा बालेनको दुई वर्षको काम हेरेपछि ओलीलाई लागेको छ- उनलाई सम्झाउने कोही भएनन्। त्यसैले अराजकतातर्फ उन्मुख भए।

बालेन स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर निर्वाचित भएका हुन्। बाँकी जनप्रतिनिधि दलगत रूपमा चुनिएका छन्। एमालेबाट उपमेयर सुनिता डंगोल छिन् भने १२ जना वडाध्यक्ष छन्। यसैगरी नेपाली कांग्रेसका १८ वडाध्यक्ष छन्। कार्यपालिका र नगर सभा दुवैमा कांग्रेसको बहुमत छ।

मेयरसँग कार्यकारी अधिकार हुने भएकाले महानगरको कामकारबाहीमा बालेनको वर्चस्व छ। बहुमत विपक्षमा हुँदा पनि मेयरले आफ्नो अनुकूल निर्णय गर्ने गरेका छन्। नेताहरूका अनुसार कार्यपालिकामा कांग्रेस र एमालेले एकअर्कालाई हेर्छन्, केही बोल्दैनन्। त्यसको लाभ बालेनले लिइरहेका छन्।

एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलसमेत मौन बस्ने गरेको एमाले नेताहरूको गुनासो छ। एमाले काठमाडौँ जिल्लाका एक पदाधिकारीका अनुसार उपमेयर डंगोलले आगामी स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मेदवार बन्ने आकांक्षा राख्न थालेकी छन्। त्यसैले अहिले बालेनसँग किन विवाद गर्ने भन्ने लागेर उनी मौन छिन्।

एमाले नेताहरूले उपमेयर र वडाध्यक्षहरूलाई बोलाएर बालेनबारे किन मौन भनेर प्रश्न गरेका थिए। त्यसको प्रभाव १८ जेठमा बसेको नगर कार्यपालिका बैठकमा देखियो।
काठमाडौँ २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्युरोड क्षेत्रको फुटपाथ विस्तार र आफ्नो वडाबाट केही फाइल लगेको विषयलाई लिएर मेयरको कार्यशैलीमाथि प्रश्न उठाए। मेयर र वडाध्यक्षबीच केहीबेर भनाभन भएको थियो।

महानगरको कार्यपालिका सदस्यहरूले नेतृत्वबाटै प्रश्न आओस् भन्ने चाहेपछि अ‍ोली आफैँले बालेनमाथि प्रश्न गरेको नेताहरू बताउँछन्। काठमाडौँमा जेठ १९ मा बसेको राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले बालेनको नाम नलिई भनेका थिए, ‘म छक्क पर्छु, कतिसारो कमजोर प्रवृत्ति भएको होला? कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ, यो गलत ग¥यौ भनेर कसैले भन्न सक्दैन।’

बालेनप्रति लक्षित गर्दै ओलीले अराकजतावादीको बोलवाला हुन थालेको भन्दै अगाडि भनेका थिए, ‘हामीले सम्झाउनुपर्छ। किनभने यो हामीले बाँचिरहेको समाज हो, हामीले बाँच्नुपर्ने समाज हो।’ ओलीले आफैँ प्रश्न गर्न थालेपछि एमालेका स्थानीय नेताकार्यकर्ता समेत सोही रुपमा अगाडि बढेका छन्।

आइतबार एमालेको स्थानीय कमिटीले वालेनको विरोध गर्दै न्युरोड केन्द्रित प्रदर्शनसमेत गरेको थियो। त्यसको प्रतिवाद गर्दै मेयर बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ओलीलाई नै सम्बोधन गरेर स्टाटस लेखेको कतिपयको बुझाइ छ। राजनीतिक सन्देश दिने गरी बालेनले ओलीमाथि गिरीबन्धु टी स्टेटको जग्गा सट्टालाई लिएर गम्भीर आरोप लगाएपछि दुवैको वादप्रतिवाद चरम हुन पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =