काठमाडौँ- आईसीसीले वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी मेन्स टी२० विश्वकपको पुरस्कार राशि सार्वजनिक गरेको छ। आईसीसीले सोमबार विश्वकपको पुरस्कार राशि घोषणा गरेको हो। यसलाई क्रिकेट विश्वकप इतिहासकै सर्वाधिक राशि भनिएको छ।
आईसीसीका अनुसार विश्वकप विजेताले २४ लाख ५० हजार अमेरिकी डलर अर्थात् ३२ करोड ५० लाख रुपैयाँ पाउनेछन्। उपविजेताले १६ करोड रुपैयाँ प्राप्त गर्नेछन्।
साथै सेमिफाइनलमा पराजित हुने टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्नेछन्। सुपर ८ मा प्रतिस्पर्धा गर्ने टोलीले कम्तीमा पाँच करोड रुपैयाँ पाउने आईसीसीको विज्ञप्तिमा उल्लेख छ।
विश्वकपको समूह चरणमा तेस्रो हुने चार टोलीले तीन करोड ३० लाख रुपैयाँ पाउनेछन्। हरेक समूहको अन्तिमका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्ने आईसीसीले जनाएको छ। हरेक टोलीले विश्वकपमा खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन्।
म्यान्स टी २० विश्वकपको नवौँ संस्करणमा २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। २८ दिनसम्म हुने खेल अमेरिका र वेस्ट इन्डिजका विभिन्न रंगशालामा हुनेछन्। पहिलो चरणमा ५० सहित जम्मा ५५ खेल हुनेछन्। सेमिफाइनल ट्रिनिडाड एन्ड टोबागो र गुयनामा हुनेछ। फाइनल खेल भने बारबाडोसको केन्सिङ्टनमा हुनेछ।
नेपाल विश्वकपको समूह डीमा छ। उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालको पहिलो खेल मंगलबार नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।