बुटवल उपमहानगरले मनायो छुवाछूत उन्मूलन दिवस

हिमाल प्रेस २१ जेठ २०८१ २०:३१
16
SHARES
बुटवल उपमहानगरले मनायो छुवाछूत उन्मूलन दिवस १८ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा सोमबार बुटवल उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमका सहभागी। तस्बिर : हिमाल प्रेस

बुटवल– बुटवल उपमहानगरपालिकाले सोमबार १८ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाएको छ। ‘तीनै तहको सरकारको सन्देश, जातीय भेदभावको पूर्ण बन्देज’ भन्ने नाराका साथ उपमहानगरले जनप्रतिनिधि र सरोकारवालाहरुसँग शुभकामना आदानप्रदान कार्यक्रम गरी दिवस मनाएको हो।

कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरभित्र जातीय भेदभाव तथा छुवाछूत भएको भए तुरुन्तै जानकारी गराउनसमेत आग्रह गरे। उनले संवैधानिक रूपमा जातीय भेदभाव र छुवाछूतलाई दण्डित गरेकाले उपमहानगरभित्र कहीँ पनि यस्तो घटना भए आफूहरू कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाए।

चलनचल्तीका रूपमा विगतदेखि नै छुवाछूत गर्दै आएको वर्ग समुदायमा परिवर्तन अझै आउन नसकेकाले अब त्यसलाई अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए।

नगरप्रमुख पाण्डेयले बुटवल उपमहानगरले दलित समुदायको विकास र उत्थानका लागि दुई करोडभन्दा बढी बजेट विनियोजन गरेर समुदायलाई अपनत्व गराउने प्रयत्न गरेको बताए। उनले सरकारका तर्फबाट जातीय छुवाछूत तथा भेदभाव उन्मूलन दिवस मनाइएको बताउँदै विभेद अन्त्यका लागि कार्यक्रम र नीतिका हिसाबले समेट्दै जाने बताए।

कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले जातीय छुवाछूत तथा भेदभाव विगतको तुलनामा कम हुँदै गएको तर अन्त्य हुनका लागि अझै सचेतनाका कार्यक्रमको खाँचो रहेको औँल्याइन्।

उनले उपमहानगरले विभिन्न कार्यक्रममार्फत दलित समुदायका लागि काम गरेको र बजेटमा समेत प्राथमिकतामा राखिएको दाबी गरिन्।

बुटवल उपमहानगरका कार्यपालिका सदस्य यमबहादुर सुनार, कृष्णबहादुर सुनार, सुनिता खण्डलुक, दलित वर्ग उत्थान समन्वय समिति बुटवलका सहसंयोजक रवि विश्वकर्मा, राजनीतिक पार्टीका तर्फबाट नेकपा एमालेका जुद्ध विश्वकर्मा, नेकपा एकीकृत समाजवादीका डोलेन्द्र गहतराज, नेकपा माओवादी केन्द्रका प्रकाश परियार, नेकपाका वीरेन्द्र सी, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सृजनशील सहयात्री सार्की समाजका इन्द्र बमरेललगायतले बुटवल उपमहानगरभित्र कोठाभाडामा नपाउने, विवाह, पूजापाठ आदिमा अझै पनि भेदभाव हुने गरेकाले उपमहानगरको ध्यानाकर्षण गराएका थिए।

दिवसकै अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भीमकान्त पन्त सम्मानित भएका छन्। माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर उनलाई सम्मान गरेको हो। तिलोत्तमा निवासी पन्तले लामो समयदेखि धार्मिक अभियान चलाएर छुवाछूत अन्त्यका लागि प्रयास गरिरहेका छन्।

माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार आयोजना गरेको कार्यक्रमका सहभागी। तस्बिर : हिमाल प्रेस

धर्मशास्त्रमा विभेदको विषयमा कतै उल्लेख नभए पनि हिन्दु समुदायमा छुवाछूत कायम रहेको अवस्थामा यसको अन्त्यका लागि धार्मिक जागरण आवश्यक रहेको भन्दै उनले विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आइरहेका छन्। जातीय विभेद अन्त्य गर्न राजनीतिक क्षेत्रबाट मात्रै नभई धार्मिक क्षेत्रबाट पनि अभियान सञ्चालन गर्नुपर्छ भन्ने मनसायले सम्मान गरिएको कार्यक्रम संयोजक पदमबहादुर विकले जानकारी दिए।

सो अवसरमा बोल्दै अभियानकर्मी पन्तले जातीय विभेद सामन्त वर्गले शोषणका लागि बनाएको हतियार भएकाले यसका विरुद्ध विद्रोह गर्नु आवश्यक रहेको बताए।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चाज वामदेव क्षेत्रीले दलित समुदायमा सामाजिक आर्थिक तथा राजनीतिक विकास गर्न सके विभेद अन्त्य गर्न सकिने बताए। माओवादी केन्द्रका रुपन्देही सह इन्चार्ज किस्मत विकले सम्पूर्ण अधिकार सिंहदरबारमा रहकाले अब दलित समुदायले सिंहदरबार प्रवेश गर्ने तयारीमा लाग्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =